झापाका भेटेरिनरीकर्मीबीच अन्तरक्रिया
इन्द्रकुमार राई
अर्जुनधारा । हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था झापाले भेटेरिनरी सेवाकर्मी माझ भेटरिनरी सम्बन्धी एक दिने अन्तरक्रिया गोष्ठी गरेको छ । संस्थाले शनिबार अर्जुनधारा नगरपालिका – ५ लक्ष्मीपुर चोक स्थित बिहीबारे सामुदायिक भवनमा जिल्ला भरिका भेटेरिनरी सेवाकर्मीहरुसँग अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष दिलीप सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाको उद्देश्य, ८ बर्षसम्मको संस्थागत उपलब्धि , भावी कार्ययोजना र चुनौती, अवसर बारे कार्य–पत्रमा उल्लेख गरिएको छ । कार्यपत्र अनुसार शेयर सदस्य जम्मा ९८ जना , शेयर पूँजी १ करोड ४ लाख ६२ हजार ९६ रुपैयाँ ५० पैसा र संस्थाको स्थिर सम्पत्ति सामानहरु १ करोड ५ लाख ५ हजार ३ सय ३५ रुपैयाँ ३३ पैसा रहेको छ ।
पशु सेवा विभागका पूर्व महानिर्देशक डाक्टर प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यता रहेको गोष्ठीमा सहभागीहरुले सुझावसहित आ–आफ्ना भनाई राखेका थिए । अध्यक्ष सापकोटाको सभापतित्व तथा लेखा समिति संयोजक लोकेन्द्र कुमार भुजेलको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रल्हाद , भेटेरिनरी प्रशिक्षक धुलाबारीका डा. आशिष लावती , अर्जुनधारा नगरपालिका पशुपंक्षी , मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राई , बुद्धशान्ति शाखाका कैलाश सिंह, कन्काई शाखाका तेज बहादुर पौडेल , भेटेरिनरीकर्मी भरत श्रेष्ठ , छवि सुवेदी प्रसाद गुरागाई , हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाका उपाध्यक्ष खेम सिटौला लगायत मन्तव्य राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा ७० जना भन्दा बढी भेटेरिनरी सेवाकर्मीहरुको सहभागिता रहेको संस्थाका सचिव देवेन्द्र मैनालीले जानकारी दिए ।