भाङवारीको बिन्ध्यबासिनी सिंहदेवी मन्दिरमा महायज्ञ हुने
अर्जनधारा । अर्जुनधारा नगरपालिका –४ भाङबारीस्थित बिन्ध्यबासिनी सिंहदेवी मन्दिर (शक्तिपीठ) मा यहि चैत १९ गते देखि नवाह ज्ञान यज्ञ सप्तचण्डी पाठ महायज्ञ संचालन हुने भएको छ । शक्तिपीठद्वारा बुधवार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा पीठका अध्यक्ष मनोज जोशीले महायज्ञको बारे जानकारी गराएका छन् ।
जोशीका अनुसार मन्दिरको पाँचौ बार्षिक अनुष्ठान रुपमा रामनवमीको अवसर पारेर २७ गते समापन गरि महायज्ञ संचालन हुने भएको हो । भूमिदान र अक्षयकोषको निरन्तरता , धान्यचल दान, राधाकृष्ण मन्दिर निर्माण साथै मन्दिरको बृहत् बिकासका लागि महायज्ञ आयोजना गरिन लागेको बताए । प्रमुख वाचक पण्डित आशुतोष खनाल र उपवाचक पण्डित किरण चापागाईं रहने पुराणमा रामचरित्रा मानसको संगीतमय रामकथा प्रवचन गरिनेछ ।

महायज्ञ सव्य–भव्य रुपमा सम्पन्न गर्नका लागि ७ लाख रुपैयाँ खर्च लाग्ने र आम्दानी तर्फ ५० लाख रुपैँया संकलन हुने अनुमान गरिएको छ । अक्षयकोषमा २ लाख ४० हजार रुपैयाँ जम्मा गरिएको छ । कोषलाई निरन्तरता दिन कोषमा १ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । कोषबाट आएको ब्याज रकमले स्थानीय गरीब दुःखी विरामी हुँदा औषधि उपचारमा सहयोग गर्ने जोशीले बताए । स्थापनाकालमा मन्दिरको १ कठ्ठा जग्गा भएकोमा हाल ७ कठ्ठा जग्गा रहेको छ । जग्गा विस्तारपछि योगमाया देवीको मन्दिर निर्माण , श्रवणहल निर्माण, पोखरी निर्माण गरिएको बताइएको छ । १९ गते विहान १० बजेबाट कलशयात्राले नगर परिक्रमा गरि मण्डप पूजा प्रारम्भ गरिने मन्दिरका सचिव प्रेम कार्कीले जानकारी दिए ।