बैशाख १४, २०८१ शुक्रबार

झापामा जिल्लास्तरीय सहकारी सम्मेलन शुरु

बिर्तामोड । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो ।

संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि आङबो, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनको पहिलो दिन संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले झापामा सहकारीको सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । त्यस्तै, अस्ट्रेलियाका लागि पूर्वराजदुत महेशराज दाहालको उत्प्रेरणात्मक प्रस्तुति दिएका छन् ।

पहिलो दिनको अन्तिम कार्यपत्र नेफ्स्कुनका पूर्वकोषाध्यक्ष केशव पोखरेलले सार्वजनिक गरेका छन् । उनको कार्यपत्रमाथि राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण संयोजक लक्ष्मी उप्रेती टिप्पणीकारका रुपमा रहेका थिए ।
सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुअघि संघले यस वर्ष सम्मान तथा पुरस्कृत गर्ने संस्था र व्यक्तिको नाम सार्वजनिक गरेको छ । संघका अध्यक्ष गणेश ढकालले यस वर्ष संघले सम्मान गर्नेहरुको नाम घोषणा गरेका हुन् ।
यस वर्ष झापा सहकारी सम्मान पुरस्कार दिपकप्रकाश बाँस्कोटालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ ।
त्यस्तै, पूर्वसञ्चालक सम्मान हरिकिशोर आचार्य र उत्कृष्ट सञ्चारकर्मी लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि नगद १० हजार ५५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा सिम्रिक साकोस, उत्कृष्ट कृषि सहकारीमा लगनशील कृषि सहकारी संस्था रहेका छन् ।

उत्कृष्ट बचत कारोबारमा नेपाल बहुउद्देश्यीय र उत्कृष्ट कर्जा कारोबारमा फाल्गुनन्द साकोस रहेका छन् । उनीहरु सबैलाई पुरस्कारस्वरुप नगद १० हजार ५५५ रुपैयाँ प्रदान गरिने अध्यक्ष ढकालले बताए ।

यसैबीच, उत्कृष्ट व्यवस्थापक महिलामा हिमाञ्चल साकोसकी अरुणा राई र पुरुषमा विराट बहुउद्देश्यीयका रुद्र सिटौला रहेका छन् । उनीहरुलाई नगद ५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत गरिनेछ । पुरस्कृत संस्था तथा व्यक्तिहरुलाई संघको आगामी साधारणसभा सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : चैत्र १९, २०७८ शनिबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]