जेष्ठ ५, २०८१ शनिबार

सहारा २७ औं वर्षमा : झापाका दलहरुद्वारा कोभिडमा गरेको योगदानको प्रशंसा

बिर्तामोड । झापाका राजनीतिक दलहरुले कोरोना महामारीकालमा सहारा नेपालले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका छन् । २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दलका नेताहरुले शुभकामना दिदैं कोरोना महामारीको समस्याग्रस्त समयमा सहारा सबैको सहारा बनेको बताएका छन् ।

सहारा नेपालले केन्द्रीय कार्यालय चारपानेमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश १ का मन्त्री ओप्रकाश सरावगीले सहारा नेपालले कोभिडको समयमा राज्यकै दायित्व पुरा गरेको बताए । उनले सहाराको सामाजिक योगदानबारे चर्चा गर्दै गरिवी निवारणमा महत्वपूर्ण योगदान पुराएको धारणा राखे । मन्त्री सरावगीले भने – सहकारीहरुले कृषिमा लगानी बढाउदै बेरोजगारी समस्या हल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सहकारीलाई काम गर्न कतिपय अवस्थामा कानुनी समस्या रहेको भन्दै उनले मन्त्रालयबाट कानुनी बाधाहरु फुकाउन आफु तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

यस्तै, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले दुखमा सबैले सहारालाई सम्झिन थालेको बताएका छन् । सदस्यहरुको मन जितेकै कारण यो अवस्थामा आएको भन्दै अध्यक्ष कार्कीले संस्थालाई थप बलियो बनाउन आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने बताए । कोभिडमा सहाराले साच्चै नै प्रशंसायोग्य काम गरेको छ, उनले भने – आगामी दिनमा थप सेवा प्रदान गर्दै संस्था प्रगतिको बाटोमा अघि बढोस् ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सहारा अत्यन्तै सामान्य अवस्थाबाट यहाँसम्म आएको भन्दै थप प्रगति हासिल गर्न शुभकामना दिएका छन् । उनले सहाराभित्र दलहरुको हस्तक्षेप नभएका कारण नै संस्थाले उचाई लिएको बताए । सभापति थेवेले भने, नेपाली कांग्रेसको कोहि कसैले सहारामाथि राजनीति गरेको मान्य हुनै छैन । यो संस्था सबैको साझा गौरव हो । यसलाई विशुद्ध सहकारी कै रुपमा सहयोग गर्न तयार छु ।’

यस्तै, राप्रपा झापाका अध्यक्ष केशव ओझाले पूर्व नेपालमा सहाराले राज्यको भन्दा ठुलो दायित्व पुरा गरिरहेको बताए । उनले संस्था जिल्लामा दलहरुको पनि अभिभावकको रुपमा स्थापित भएको भन्दै सबैको रचनात्मक सहयोगको खाँचो भएको बताएका छन् । स्वास्थ्य, शिक्षा, रोजगार र सदस्यको संरक्षणमा विशेष योगदान रहेको ओझाको भनाई थियो ।

संस्थाले सोही अवसरमा विधार्थीलाई शैक्षिक सामग्री , परिवार राहत अन्तर्गत स्वर्गीय माधव बराइलीको परिवारलाई नगद् पाँच लाख र रामचोक नौमति बाजा समूहलाई बाजा सामग्री प्रदान गरेको छ ।

संस्थाले २७ औं वार्षिकोत्वको अवसरमा एटिम सेवा समेत प्रारम्भ गरेको छ । सुनसरीको कालाबञ्जर र मोरङको केरावारीमा सेवा केन्द्र थप गरेको छ ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले औचित्यमाथि प्रकाश पार्दै संस्थाको वर्तमान अवस्थाका बारेमा प्रष्ट पारेका छन् । उनका अनुसार संस्थाको सदस्य संख्या एक लाख ६० हजार पुगेको छ ।

संस्थाको शेयर पुँजी एकसय ६५ करोड कुल वासलात १५ अर्ब, ९ अर्ब ५६ करोड बचत संकलन गरी १३ अर्ब १६ करोड ऋण प्रवाह गरेको छ । संस्थाले ५ सय २६ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने कृषि व्यवसायमार्फत ६ हजार ६२ जना, विदेशबाट फर्किएका तथा वेरोजगार ३ हजार ३ सय ८७ जना युवालाई अटो ऋण, साना तथा मझौला उद्योग मार्फत एक हजार २ सय जनामा उद्यम सिर्जना गरी ९ हजार ३० जनालाई विभिन्न व्यवसाय मार्फत स्वरोजगार बनाउन सफल भएको जनाइएको छ ।

संस्थाका कार्यबाहक अध्यक्ष हरि प्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संस्थाका संरक्षक नरनाथ गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तस्वीरहरु : आर्यन सिटौला

प्रकाशित मिति : चैत्र २१, २०७८ सोमबार  ४ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]