जेष्ठ ५, २०८१ शनिबार

चैत २५ देखि ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

झापा । चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ । सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागेको हो । सरकारले आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म आम अभियानका रुपमा चल्ने जनाएको छ ।
त्यसपछि १५ महिनाका बालबालिकाका लागि नियमित रुपमा प्रयोग गरिने छ। २४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ ।

अभियानको क्रममा टाइफाइड खोप स्थानिय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ ।

टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगष्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

टाइफाइड के हो?
टाइफाइड साल्मोनेला टाइफीबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ ।

विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जना भन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि भएको पाईएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खाना जन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये यो रोग चौथोमा रहेको देखिएको छ ।

प्रकाशित मिति : चैत्र २३, २०७८ बुधबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]