चैत्र १६, २०८० शुक्रबार

झापामा कांग्रेसलाई मुख्य प्रतिष्पर्धी ठानेका छौं : केशव ओझा

स्थानीय तहको निर्वाचन आउँन ३६ दिन बाँकी छ । त्यसको पूर्वसन्ध्यामा दलहरु चुनावी अभियान लिएर घरदैलोमा लागिरहेका छन् । उम्मेद्वारको सिफारिस गर्ने काम शुरु भइसकेको छ । स्थानीय तहको निर्वाचन ०७४ मा झापामा तेस्रो बनेको राप्रपा थप परिणाम हासिल गर्ने गरि घरदैलो अभियानमा लागिरहेको छ । जिल्लामा तेस्रो शक्ति बनेको राप्रपा अब विगतको जीतलाई बचाएर जान सक्छ कि सक्दैन ? मुख्य प्रतिष्पर्धी कुन दल हो ? चुनावी अभियान कसरी सञ्चालन गरिरहेको छ भन्ने सन्दर्भमा इजलास दैनिकका सम्पादक प्रदीप परियारले राप्रपा झापाका अध्यक्ष एवम् चुनाव परिचालन समितिका संयोजक केशव ओझासँग गरेको संक्षिप्त कुराकानी :

१, राप्रपा निर्वाचनको तयारीमा कसरी जुटिरहेको छ ?
– सबै दलहरु जस्तै हामी पनि निर्वाचनको तयारीमा लागेको छौं । भेटघाटसँगै निर्वाचनसँग सम्बन्धित रहेर भेटघाटको कार्यक्रमलाई निरन्तरता दिएको छौं । यो अभियान अन्तिम चरणमा पुगेको छ । संभवत चैत २५ गतेभित्र उम्मेद्वारको नाम सबै पालिकाबाट सिफारिस हुनेछ । वडाअध्यक्षसम्मको उम्मेद्वार सिफारिस गर्ने जिम्मेवारी जिल्ला कार्यसमितिलाई छ । गाउँपालिका र नगरपालिकाको प्रमुख, उपप्रमुखको उम्मेद्वार सिफारिस गर्ने जिम्मा पालिका हुँदै जिल्लालाई र जिल्लाबाट प्रदेशलाई सिफारिस गरिनेछ । उम्मेद्वारको फाइनल प्रदेशले गर्ने छ । यस्तै, उपमहानगर र महानगरको उम्मेद्वारको फाइनल केन्द्रले गर्नेछ । जिल्लाबाट सिफारिस गर्ने काम हामीले अन्तिम चरणमा पुराइसकेका छौं ।

??????

२, चुनावी अभियानको मोडल के हो ?
– राप्रपा जनताको घरघरमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अभियान तीब्र नै छ । चैत २८ गते बिर्तामोडमा ‘जनताको बिचमा राप्रपा’ कार्यक्रम आयोजना गर्दैछौं । त्यो कार्यक्रमपछि हामी पार्टीको एजेण्डासहित जनताको बिच जानेछौं । समसामयिक राजनीतिक विषयवस्तु लिएर अभियानमै केन्द्रीत हुने तयारी पनि छ । पार्टीको चुनाव चिन्ह लिएर प्रचारमा जाने ।
अघिल्लो चुनावमा हामी गाईमा लडेका थियौ भने अहिले हामी हलो चुनाव चिन्हबाट लड्दैछौं । मतदाताको बिचमा चुनाव चिन्हको अलमल नहोस् भनेर हामी व्यापक प्रचार गरिहरेका छौं । त्यसलाई पनि व्यापक बनाएर अघि बढ्दैछौं ।

३, छोटो समयमा चुनाव चिन्ह कसरी बुझाउनु हुन्छ ?
– हामी मतदाताको बिचमा चुनाव चिन्ह नै लिएर जान्छौं । हामीसँग सांस्कृतिक समूह पनि छ । सो समूहले अभियानका क्रममा हलोको प्रचार गर्नेछ । तपाईहरुको मिडिया मार्फत पनि प्रचार हुने विश्वास लिएको छु ।

४, चुनाव चिन्ह परिवर्तन हुँदा चुनौति पनि थपियो होला ?
– पार्टी एकिकरण पछि चुनाव चिन्ह हलो भएको १ वर्ष बढि भइसक्यो । त्यसका कारण धेरै चुनौति छैन । मतदाता र कार्यकर्ता नै अभ्यस्त भइसकेको हुँदा अप्ठ्यारो हुदैन ।

५, आसन्न निर्वाचनमा राप्रपाको पोजिशन के होला ? विगतको ठाउँहरु बचाउनु हुन्छ ?
– विगतको जीतलाई कायम राख्ने कुरा निश्चित नै छ । त्यो देखि बाहेक पनि केहि पालिकाहरुमा जीत हासिल गर्छौ । सबै पालिकामा हाम्रो प्रतिनिधित्व अनिवार्य हुनेछ । कुनै–कुनै हिसावले राप्रपाको प्रतिनिधित्व हुनेछ ।

६, अघिल्लो स्थानीय तहको निर्वाचनमा तपाइहरुको परिणाम के हो ?
– ०७४ को निर्वाचनमा तीन गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित बहुमत जीत हासिल गरेको अवस्था छ । केहि वडाध्यक्ष र सदस्यहरु समेत जितेका थियौं ।

७, राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरुको कामलाई कसरी समीक्षा गर्नु भएको छ ?
– राप्रपाले जहाँजहाँ जितेको छ, त्यहाँ हामी सन्तुष्ट छौं । कचनकवललाइै हेर्ने हो भने कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरिरहेको छ । बिर्तामोडमा महंगो शुल्क बुझाउनु पर्ने औषधि गाउँपालिकाले सहुलियतमा उपलब्ध गराइरहेको अवस्था छ । सडक सञ्जालको कुरालाई हेरौं, हिजो झापाको कर्णाली भनेर चिनिएको ठाउँमा आज हरेक वडामा कालोपत्रे पुगेको छ । सुशासनको सन्दर्भमा पनि साथीहरु पारदर्शी रुपमा लाग्नु भएको छ । अन्य पालिकामा पनि , राप्रपाले जितेको ठाउँहरु सन्तुष्ट हुन सकिन्छ । गौरीगञ्जको अध्यक्ष बाबुराजा श्रेष्ठले नियमित रुपमा पाइने सेवा सुविधा पनि सामाजिक रुपमा खर्च गर्नु भएको छ । स्थानीय पालिकामा निर्वाचित भइसके पछि पार्टीको आँखाले मात्रै हेर्नुहुदैन । उहाँहरु साझा प्रतिनिधि हो । त्यसैले उहाँहरुलाई पार्टीभन्दा पनि समग्र जनताको काममा लागिरहेको पाएको छु ।

८, भनेपछि अहिलेका अध्यक्ष, उपाध्यक्षहरु दोहोरीने संभावना छ ?
– उहाँहरुको काम, पार्टीप्रतिको जिम्मेवारी निर्वाह, स्थानीय पार्टीको समीक्षा र नागरिकको भावना अनुरुप दोहोरिने वा नदोहोरिने भन्ने कुरा भर पर्छ । अहिले ठ्याक्कै यसै भन्न त सकिदैन । केहि ठाउँहरुमा दोहोरिने संभावना पनि छ । नेतृत्व परिवर्तशिल पनि छ । तीन पालिकाका अध्यक्षहरु दोहोरी संभावना चै छ ।

९, स्थानीय तहको निर्वाचनमा तालमेलको संभावना के छ ?
– केन्द्रको निर्देशन अनुसार सबै पालिकामा उम्मेद्वारहरु सिफारिस गर्नेछौं । स्थानीय तहमा आवश्यकता महशुस भएको खण्डमा तालमेल हुन सक्छ । तालमेलको लागि ढोका बन्द चै भएको छैन । तालमेल संभावनाभित्रै रहेको छ । हाम्रो पार्टीको संरचना अनुसार मुल्याङकन गरेर अन्य दलसँग वीन–वीनको आधारमा संवाद गरेरै तालमेल हुन्छ ।

१०, झापा क्षेत्र नं. ३ मा एमालेसँग तालमेल गरेर चुनाव लढ्नु भएको थियो । स्थानीय तहको निर्वाचनमा एमालेसँगको तालमेलको संभावना के छ ?
– त्यो संभावना जिवित नै छ । अनौपचारिक रुपमा बसेर छलफल गर्ने गरि सल्लाहहरु भइरहेका छन् । तर, अहिले हामी हाम्रो आन्तरिक तयारीमा लागेका छौं । उहाँहरु पनि आन्तरिक तयारीमा लागेको बुझेको छु ।

११, राप्रपाको एजेण्ड पुरानै हो कि नयाँ छ ?

– राष्ट्रिय रुपमा राप्रपाको एजेण्डा त्यहि हो । तर, स्थानीय रुपमा समृद्धि, सुशासन, विकास , पारदर्शिता, भ्रष्टाचारमुक्त अभियान नै मुख्य एजेण्डा हुन् ।

१२, पहिलो स्थानीय चुनावमा राप्रपा झापामा तेस्रो शक्ति भएको थियो । अब के हुन्छ ?
– झापामा हामी अग्रणी शक्तिको रुपमा स्थापित हुन्छौं । ठुला भनिएका दलहरुको प्रतिष्पर्धीको रुपमा उभिएका छौं । राप्रपाप्रति जनताको भरोसा र नयाँ नेतृत्वपछि पार्टीमा आएको उभार जो छ, त्यसले राप्रपालाई जिल्लामा अग्रणी शक्ति बनाउने निश्चित छ ।

१३, सर्वेक्षण चाहिँ कस्तो छ ? जिल्लाको हकमा ।
– आमुल परिवर्तन हुने आशा गरेका छौं । नसोचेको परिणाम यस पटक राप्रपाको पक्षमा आउँदैछ ।

१४, तपाईको उम्मेद्वारीको कुरा के हो ?
– कार्यकर्ताको तहबाट आवश्यकता भएमा सोच्नुपर्छ । म जिल्लाको निर्वाचन परिचालन समितिको संयोजक भएकाले तलबाटै कार्यकर्ताको माग भयो भने मेरो उम्मेद्वारी रहन्छ । अलिअलि चर्चा त मैले पनि सुनिरहेकै छु । मेरो उम्मेद्वारी भन्दा पनि जिल्लामा राप्रपाबाट बढिभन्दा बढि जनप्रतिनिधि जिताउने अभियानमा लागेको छु ।

१५, स्थानीत तहलाई जनतामैत्री कसरी बनाउन सकिएला ?
– स्थानीय तह आफैमा एउटा अधिकार सम्पन्न सरकार हो । तथापि, सन्तुष्ट हुने अवस्था छैन । आफ्नो कार्यकर्ता हेर्ने, पक्षविपक्ष सोच्नेको काम भइरहेका छन् । धेरै जसो ठाउँमा सबैको प्रतिनिधि हुन सकिरहेको अवस्था छैन । सुशासन, पादरर्शिताको सवाल उठेको छ, गिटी बालुवा छर्ने काम मात्रै विकास ठानिएको छ । त्यसैले धेरै कुरा परिमार्जन आवश्यक भएको छ । त्यसका लागि सबै दलको सहकार्य जरुरी छ । जनप्रतिनिधिहरुले सबैको प्रतिनिधि हुँ भन्ने कुरा बुझेमा धेरै जसो समस्या समाधान भएर जानेछ ।

१६, यो निर्वाचनमा राप्रपाले फड्को मार्छ त ?
– अवश्व मार्छ । दुई ठुला पार्टीको हामी प्रतिष्पर्धीको रुपमा चुनावमा जानेछौं ।

१७, मुख्य प्रतिष्पर्धी कुन दल हो ?
– त्यो त, निर्वाचन परिणाले नै देखाउने छ । अहिलेको ठुलो शक्ति भनेको एमाले हो । हामी त्यसको हाराहारीमा हुनेछौं । त्यसो हुँदा झापामा मुख्य प्रतिष्पर्धी कांग्रेस नै हो भन्दा हुन्छ । हामी तेस्रो भएकोले दोस्रो शक्तिको रुपमा रहेको कांग्रेसलाई मुख्य प्रतिष्पर्धीको रुपमा लिएका छौं ।

प्रकाशित मिति : चैत्र २४, २०७८ बिहीबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]