जेष्ठ ६, २०८१ आईतबार

बिन्ध्याबासिनीमा योगमाया देवीको मुर्ती अनावरण

अर्जुधारा । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सबै धर्मलाई बराबर सम्मान गर्नका लागि संविधान निर्माण गर्दा धर्मनिरपेक्ष राखेपछि आफूमाथि क्रिश्चियनको आरोप लागेको बताएका छन् ।

अर्जुनधारा नगरपालिका – ४ स्थित बिन्ध्याबासिनी सिंहदेवी मन्दिर समितिले शुक्रबार आयोजना गरेको योगमाया देवीको मुर्ति अनावरण तथा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेम्वाङले सम्बोधन गर्दै यस्तो बताएका हुन् । आफ्नो घरको एउटा कोठामा देवी– देउताहरुको मुर्ति छ । आफू र श्रीमतिले विहान – बेलुका संधै पूजापाठ गर्छौ, हामी कसरी क्रिश्चियन हौ ? उनले प्रश्न गरे ।

नेम्वाङले हिन्दु धर्ममाथि लगाइएको आरोप अरु धर्मलाई थिचोमिचो, शोषण गर्ने लगायतका मानसिकताको अन्त्य गर्न धर्म निरपेक्ष संविधान बनाएको खुलस्त पारे । आफू कुनै धर्म विरोधी नभएर हिन्दु धर्मलाई माया गर्ने व्यक्ति भएको बताएका छन् । ३१ वटा राजनितिक दलका प्रतिनिधि सम्मिलित संविधान सभामा आफू सभामुख भएर लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माण गरेर भुमिका निर्वाह गरेको उनको भनाइ थियो ।

उनले समाजलाई एकतावद्ध गराउन बिन्ध्याबासिनी सिंहदेवी मन्दिर योगमाया देवीको प्रतिमा भित्र्याइएकोमा खुशी व्यक्त गरे । त्यस्तै विशिष्ट अतिथि एवम् बिएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफ्नो पिताको पुण्यतिथिपछि आफू यस बिन्ध्याबासिनी सिंहदेवी मन्दिरमा दर्शन गर्न आउँदा भाकल राखेकोले पूरा गर्न मन्दिरलाई योगमाया देवीको मूल्यवान मूर्ति सहयोग स्वरुप प्रदान गरेको बताएका छन् । हिन्दु धर्मलाई मात्र सहयोग होइन , सवै धर्मको सेवा गर्ने उनले धारणा राखे । मैले विर्तामोडमा मेडिकल स्थापना गरिरहँदा केही व्यक्तिहरुले आफूलाई बौलाहा भनेर आरोप लगाएको अवगत गराउँदै आरोप चिरफार गर्नका लागि धार्मिक, शिक्षा क्षेत्र लगायतमा सहयोग गरेको बताए । उनले शिक्षा , स्वास्थ्य विकासका लागि निकट भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने पहल गरिरहेको बताए ।

अर्जुनधारा नगरपालिका – १ स्थित सिस्नेमा पनि निकट भविष्य मै विद्यालय सञ्चालन हुने छ । मन्दिर समितिका अध्यक्ष मनोज जोशीको सभापतित्व र पूर्वाञ्चल क्यान्सर अस्पताल प्रचार संयोजक प्रमिस गिरीले सञ्चालन गरेको कार्यक्रममा मन्दिरका सचिव प्रेम कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसअघि बिएण्डसी हस्पिटलबाट विधिवत् बाजागाजा सहित योगमाया देवीको प्रतिमा मन्दिरमा भित्र्याइएको थियो । देवीको प्रतिमा भित्र्याउने क्रममा सयौं भक्तजनहरुको सहभागिता रहेको थियो । पित्तलबाट निर्मित मुर्ति काठमाडौबाट २७ लाख रुपैयाँमा खरिद गरिएको दाता प्रसाईले जानकारी दिए । रामनवमीको अवसरमा मन्दिरमा सप्ताहव्यापी २७ गते समापन हुने १९ गते देखि रामचरित्रा मानस रामकथा वाचन भइरहेको छ ।
प्रमुख अतिथि नेम्वाङले योगमाया देवीको मूर्ति अनावरण गरेका थिए ।

प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार  ५ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]