बैशाख ३०, २०८१ आईतबार

‘एनएमसी डेरी सफलताको कथा’ विमोचित

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी उद्योगको सातौ वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष रामचन्द्र उप्रेतीले लेखेको ‘एनएमसी डेरी सफलताको कथा’ नामक पुस्तक पनि विमोचन गरिएको छ ।
एनएमसी डेरी परिसरमा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रदेश सहकारी राजिष्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालय इनरुवाका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले पुस्तकको विमोचन गरेको हुन् । सो कार्यक्रममा मन्तब्य राख्दै निमित्त रजिष्ट्रार खत्रीले नेपालका ९९ प्रतिशत मानिसले सहकारीलाई पैसा किन्ने र बेच्ने व्यवसायिक संस्थाका रुपमा मात्र बुझेको बताए ।

सहकारीको नाम र साइनबोर्ड झुण्ड्याउन पाए भनेमात्र पनि त्यसका सञ्चालकहरुले सहकारीलाई पैसा छाप्ने मेशीनका रुपमा बुझ्ने र धेरै सञ्चालकहरु यसकै पछि लाग्ने गरेको निमित्त रजिष्ट्रार खत्रीको बुझाई छ । सहकारी सञ्चालनका लागि प्राप्त गरेको लाइसेन्सलाई धेरैले पैसा छाप्ने मेशीन वा पैसा फल्ने बोटका रुपमा समेत बुझेको उनको टिप्पणी छ ।

सहकारी संस्थालाई पैसा किन्ने र बेच्ने व्यवसायका रुपमा मात्र हेर्न नहुने भन्दै निमित्त रजिष्ट्रार खत्रीले अन्य व्यवसाय र उद्यमसँग जोड्नुपर्ने बताए । सहकारीहरुले बहुव्यवसाय गर्नुपर्छ भन्ने मान्यतालाई एनएमसीले पछ्याएको भन्दै उनले यसलाई राम्रो पक्ष भन्दै प्रशंसा गरे ।

एनएमसीका वरिष्ठ उपाध्यक्ष तथा एनएमसी डेरी व्यवसाय उपसमितिका संयोजक नारायणप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहमा उनले डेरीको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा झापा, मोरङ र सुनसरीको सबै मुख्य बजारमा एनएमसी डेरीको उपस्थिति रहेको र बजारमा ५०० को हाराहारीमा बिक्रेताको संख्या रहेको उल्लेख छ । हाल डेरी उद्योग करिब ५ हजार किसान परिवारसँग जोडिन पुगेको तथा उद्योगले दैनिक १५–१६ हजार लिटर कच्चा दूध खपत गर्न थालेको जनाइएको छ ।

हाल डेरी उद्योगमा ८० जनाले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष कोइरालाले प्रतिवेदनमा भनेका छन् डेरी प्रडक्टहरु मासिक ३ देखि साढे ३ करोड रुपैयाँको उत्पादन बिक्री हुने गरेको छ । बिक्रेता र उपभोक्तामाझ यो विश्वास आर्जन गर्न उद्योग परिवारले पनि निकै मिहिनेत र योगदान गरेको छ । डेरी व्यवसायको पछिल्लो वित्तीय अवस्था हेर्दा विगतमा भएको करिब पौने चार करोडको घाटा चालू आर्थिक वर्षको पहिलो चार महिनामा सम्पूर्ण कभर भएर उद्योग खुद मुनाफाको स्थितिमा पुग्नेछ । ‘चालू वर्षमा नै डेरीले १ करोड ७५ लाख खुद मुनाफा गर्ने लक्ष लिएको र शतप्रतिशत प्राप्त हुने देखिएकाले उद्योग परिवार हर्षित छ’ संस्थाका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसाय संयोजक कोइरालाले प्रतिवेदनमा भनेका छन् ।

विमोचित ‘एनएमसी डेरी सफलताको कथा’ नामक पुस्तकमा एनएमसी डेरीको साङ्गोपाङ्गो इतिहास समेटिएको छ । कार्यक्रममा आफ्ना धारणा राख्दै पुस्तकका लेखक तथा संस्थाका अध्यक्ष उप्रेतीले डेरी उद्योगको सफल सञ्चालन संस्थाका लागि निक्कै चुनौतीको विषय बनेको स्मरण गरे । बहुउद्देश्यीय सहकारी संस्थाले हात हालेको पहिलो व्यवसाय डेरी उद्योग सफल नभएको भए कृषि लगायत अन्य क्षेत्रमा हात हाल्न समस्या हुने उनको भनाई थियो । त्यसकारण पनि डेरीलाई सफल बनाउनुको विकल्प संस्थाका अघिल्तिर नभएको उनले प्रष्ट्याए ।

विमोचित पुस्तक ‘एनएमसी डेरी सफलताको कथा’मा लेखक उप्रेतीले विभिन्न समयमा पत्रपत्रिका र अनलाइनमा प्रकाशित लेखहरुसहित केही नयाँ सामग्रीहरु संकलन गरिएको बताए । पुस्तकमा एनएमसी डेरीको साङ्गोपाङ्गो इतिहास मात्र समेटिएको छैन, डेरी व्यवसाय गर्न चाहनेहरुका लागि यथेष्ट सामग्रीहरु पनि समावेश गरिएको उनको दावी छ ।

विमोचित पुस्तकको समीक्षा गर्दै अग्रज पत्रकार मोहन काजी न्यौपाने र संस्थाका सञ्चालक समिति सदस्य कमल गुरागाईले देखेको कुरा लेख्ने र भोगेको कुरा टिपोट गर्ने अध्यक्ष उप्रेतीको बानीले अरुका लागि पठनीय सामग्री बनेको बताए । दुवैजना समीक्षकले पुस्तक अध्ययन गर्दा डेरी व्यवसाय सञ्चालन गर्दा आइलाग्ने समस्याहरु बुझ्न पाउने धारणा राखे ।

डेरी व्यवसाय प्रमुुख नवराज अधिकारीले सञ्चालन गरेको सो समारोहमा मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमालले शुभकामना मन्तव्य राखेका थिए भने एनएमसी डेरी व्यवसाय उपसमितिका सदस्य नारायण बस्नेतले शाब्दिक स्वागत गरेका थिए ।

प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]