बैशाख २१, २०८१ शुक्रबार

कनकाई कांग्रेसमा ठुलो धक्का : मेयरका दाबेदार नै राप्रपामा प्रवेश

राम निरौला

कनकाई – स्थानीय तहको निर्वाचनको मिति नजिक आइरहँदा पार्टीका जिम्मेवार व्यक्तित्वहरुबाट दल परिवर्तन गर्ने कार्यको सक्रियता उत्तिक्कै बढेको पाइन्छ ।

विभिन्न पार्टीमा भएको यो गतिविधिले कनकाई कांग्रेसलाई समेत छोएको छ । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस कनकाईबाट मेयरको लाइनमा उभिएका कांग्रेस नेता रमेश श्रेष्ठले आसन्न निर्वाचनको संघारमा पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कनकाई नगरको मेयर पदकालागि सर्वाधिक चर्चा कमाएका श्रेष्ठलाई पार्टीले टिकट नदिएपछि नेतृत्वप्रति असन्तुष्टी जनाउँदै आएका थिए ।

कांग्रेस नेता श्रेष्ठलाई राप्रपाका केन्द्रिय सदस्य भक्ति सिटौला, जिल्ला अध्यक्ष केशव ओझा लगायतका नेताले राप्रपामा स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका हुन् । राप्रपामा प्रवेश गर्दै नेता श्रेष्ठले कांग्रेसमा भएको झुटको राजनीतिमा आँफू सिकार बनेको बताउँदै आसन्न निर्वाचनमा खुट्टा कमाउँदै अघि बढेको कांग्रेसलाई अब न्यायप्रेमी जनताले चाँडै फैसला गरिदिने बताए । जीवनको उर्जाशिल समय कांग्रेसका ठेकेदारहरुले बरबाद गरिदिएको टिप्पणी गर्दै नेता श्रेष्ठले कांग्रेस पार्टीमा राजनीतिका नाममा हुने गरेको अराजक गतिविधिले समाजलाई अँध्यारो दिशा तर्फ धकेल्ने बताए । निर्वाचनको संघारमा आएर पनि कांग्रेसको ढुलमुले प्रवृत्तिले अन्य दलहरुलाई नै सहज हँुदै गएको भन्दै नेता श्रेष्ठले कांग्रेसको राजनीतिप्रति सतर्क रहन सर्वसाधारणलाई समेत अपिल गरेका छन् ।

२०४२ सालमा कांग्रेस नेता डिल्ली सिटौलाबाट पार्टीको सदस्यता लिएर राजनीतिमा होमिएका श्रेष्ठ २०४६ को पंचायत विरोधि आन्दोलनमा अग्र मोर्चामा क्रियाशिल थिए । आन्दोलनको सफलतापछि सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट साविक सुरुङ्गा वडा नं.३ को वडाअध्यक्षमा निर्वाचित भएका श्रेष्ठ पार्टी राजनीतिमा निडर र हक्की स्वभावका नेताका रुपमा स्थापित हुँदै आएका थिए । स्थानीय स्तरमा सबै राजनीतिक दलसँग समन्वय गरेर अघि बढ्न सक्ने क्षमता भएका नेता श्रेष्ठ सामाजिक क्षेत्रमा समेत उत्तिक्कै सक्रिय छन् । मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै विभिन्न समयमा पार्टीले नेतृत्व गरेको जनआन्दोलनमा अग्रमोर्चामा रहेकै कारण ४५ दिन सम्म जेल जीवन समेत भोग्नु परेको अनुभव सुनाउँदै नेता श्रेष्ठले कांग्रेसमा अब निष्ठाको राजनीति हराएको टिप्पणी गरे ।

नेता श्रेष्ठको कार्यकुशलता साथै नेतृत्व क्षमताकै कारण १५ वर्ष सम्मको तीन कार्यकाल नेपाली कांग्रेस साविक सुरुङगा गाउँसमितिको पार्टी सभापतिको सफल जिम्मेवारी समेत सम्हालिसकेका छन् । नेपाली कांग्रेसको महाधिवेशनबाट दुई कार्यकाल महाधिवेशन प्रतिनिधि साथै एक कार्यकाल महासमिति सदस्यको समेत जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका श्रेष्ठ एक सामाजिक अभियन्ताका रुपमा समेत स्थापित व्यक्तित्व हुन् । कनकाई ७ दुर्गापुर निवासी श्रेष्ठकै नेतृत्वमा रहेको दुर्गापुर बजार व्यवस्थापन समितिका तर्फबाट बजार क्षेत्रलाई व्यवस्थित बनाइएको बताइएको छ । अन्य विभिन्न सामाजिक, शैक्षिक एवम् धार्मिक संघसंस्थाको नेतृत्व तहमा रहेका अत्यन्तै सहयोगी श्रेष्ठले आगामी दिनमा समाज रुपान्तरणकालागि भूमिका खेल्ने बताएका छन् ।

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  ६ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]