बैशाख २८, २०८१ शुक्रबार

लक्ष्मी माविका केन्द्राध्यक्ष परिवर्तन गर्न पत्राचार


बिर्तामोड । कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष रहेका विरेन्द्र प्रसाद गुप्तालाई परिवर्तन गर्न पत्राचार गरिएको छ । अर्जुनधारा नगरपालिकाले लक्ष्मी माध्यमिक विधालयमा चलिरहेको परीक्षामा केन्द्राध्यक्ष रहेका गुप्तालाई परिवर्तन गर्न जिल्ला प्रशासन कार्यलय झापा र जिल्ला समन्वय समिति झापालाई मंगलवार पत्र काटेको हो ।
परीक्षामा लापरवाही गरेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले पत्र काटेको जानकारी दिएका छन् । अर्जुनधारा –६ मा रहेको सो विधालयमा गत वर्षको परीक्षा र यस वर्ष चलिरहेको परीक्षामा लापरवाही गरेको भन्दै वडा कार्यलयले केन्द्राध्यक्ष परिवर्तन गरिदिन नगरपालिकामा पत्राचार गरेको थियो ।
लक्ष्मी माविका सहायक प्रधानाध्यापक घनश्याम डाँगीले गत वर्षको उच्च माविको परीक्षामा सहायक केन्द्राध्यक्ष भई आफैं कक्षा ११ को परीक्षामा समेत उत्कृष्ट अंक ल्याई उर्तिर्ण भएको सार्वजनिक भएको छ । आफै सहायक केन्द्राध्यक्ष र आफैं उत्कृष्ट विधार्थी भएको तालमेल नमिले पछि विधार्थी समेत आश्चर्यमा परेका थिए । उनले परीक्षा हलमा परीक्षा दिएको तत्कालिन निरिक्षक र परीक्षार्थीलाई समेत थाहा छैन । गत वर्षको परीक्षामा सामेल नै नभई उर्तिर्ण भएपछि कक्षा १२ को परीक्षामा उनको निगरानी भएको थियो । परीक्षा शुरु भएपछि विधालयबाट बाहिरिएका डाँगीले बाहिरै परीक्षा लेख्ने तयारी गरेको अभिभावकले अनुमान गरेका थिए ।
मंगलवार सहायक प्रधानाध्यापकको बारेमा समाचार प्रकाशित भएपछि अभिभावक र स्थानीय अगुवा विधालय पुगेका थिए । उनीहरुले पटक–पटक विवादमा आइरहेको भन्दै तत्काल छानविनको माग समेत गरेका छन् । विधालयमा प्रधानाध्यापक नभएपछि मोवाइलमा सम्पर्क गरेर अभिभावक आएको जानकारी दिएपछि गुप्ताले मोवाइल अफ गरेका थिए । सोमवार विधालय गएका सहायक प्रधानाध्यापक डाँगी मंगलवार भने अनुपस्थित थिए ।
यस घटनाबारे जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले प्रारम्भीक अध्ययन पछि मात्र प्रतिक्रिया दिने बताएका छन् । उनले घटना रहस्यमय भएकाले अनुसन्धान नभई यसै भन्न नसक्ने जानकारी दिएका छन् । आफै केन्द्राध्यक्ष आफै परीक्षार्थी संभव छैन, पोर्तेलले भने, – शिक्षा समितिमा छलफल गरेर अघि बढ्छौ ।
यस्तै, जिल्ला शिक्षा समन्वय इकाई झापाका प्रमुख जय प्रसाद महतले यदि गैर कानुनी हिसाबले परीक्षा दिए , उनको परीक्षा नै रद्द हुने जानकारी दिएका छन् । उनका अनुसार परीक्षार्थी नै निरिक्षक, केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष संभव छैन । यो परीक्षा वोर्डले कारवाही गर्ने विषय भएको बताएका छन् ।
कक्षा १२ को परीक्षामा सहायक केन्द्राध्यक्ष रहेका कुमार तोलाङ्गी गत वर्षको परीक्षामा समेत सहायक केन्द्राध्यक्ष थिए । एसएलसी परीक्षामा बसेका उनलाई गुप्ताले पुनःआग्रह गरेर कक्षा १२ को सहायक केन्द्राध्यक्ष राखेको बताएका छन् । तर, विधालयको रेकर्डमा तोलाङगीको नाम कक्षा १२ को सहायक केन्द्राध्यक्षमा राखिएको छैन । कक्षा ११ को परीक्षा विवादित बनेपछि उनले आफुलाई बचाउँन १२ कक्षाको सहायक केन्द्राध्यक्ष भनेका छन् । तर, बैशाख १५ गतेका दिन उनले गत वर्षको परीक्षामा आफु नै सहायक केन्द्राध्यक्ष बसेको सुनाएका थिए । कक्षा ११ को परीक्षामा डाँगी देख्नु भयो भन्ने जिज्ञासामा जवाफ दिदैं भने – मैले ख्याल गरेको छैन ।
स्थानीय अभिभावकले गुप्ता र डाँगीको छानविन हुनुपर्ने माग अघि सारेका छन् । यसबारे विधार्थी संगठनका नेताले समेत सरोकारवालाई छानविन गरेर दुवैलाई कारवाही गर्न माग गरेका छन् । उनीहरुले अर्जुनधाराका शिक्षा शाखा प्रमुख तोयानाथ रेग्मीलाई समेत कारवाहीमा चासो नदिएको भन्दै उनको समेत छानविन गर्न माग गरेका छन् । केहि महिना अघि विधालय विवादमा तानिएपछि शिवसताक्षीमा कार्यरत रेग्मीलाई अर्जुनधारा ल्याइएको थियो । मंगलवार विधालयका बारेमा अभिभावक र स्थानीय सरोकारवालाले रेग्मीलाई जानकारी दिए पनि उनले खासै चासो नदिएको बताईएको छ । अनेरास्ववियु क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले तत्काल विधालय व्यवस्थापन समिति गठन गरेर विधालयलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनले यस घटनाको सुक्ष्म छानविन हुनुपर्ने बताए । यस्तै, अनेरास्ववियु झापाका अध्यक्ष मनोज ताम्लीले सो विधालय पटक–पटक विवादमा पर्दा पनि कसैले चासो नदिनु झनै शंकास्पद भएको प्रतिक्रिया दिएका छन् । उनले घटनालाई संवेदनशिल भएर छानविन गर्न माग राखेका छन् ।

प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार  ११ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]