बैशाख १९, २०८१ बुधबार

झापामा गैरनेपालीलाई नागरिकता दिने ६ जना पक्राउ

झापा । गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँचजनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल बिर्तामोड नगरपालिका–८ का वडासचिव हुन् । पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनीहरुले आर्थिक प्रलोभनमा परी १६ जनालाई नागरिकता दिएको आरोप छ । उनले घटनामा संलग्न अन्य व्यक्तिलाईसमेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताए ।
गैरकानुनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानबिन सुरु गरेको थियो । निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायबसुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् । उनीहरुले ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ ।

गैरनेपालीलाई नागरिकता दिन सिफारिस गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथिसमेत छानबिन थालिएको बताइएको छ । प्रशासन स्रोतकाअनुसार विसं २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ । १६ गैरनेपालीलाई नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ । त्यसपछि अधिकृत ढुंगेलले नागरिकता जारी गरेको बताइएको छ । यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा ९ जनाको बाबु एउटै कायम गरिएको छ ।

गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई जिम्मेवारी दिएको बताइएको छ । गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत् नक्कली जन्मस्थान कायम गराएको पनि पाइएको छ । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुवा–आमा कायम गर्दै ९ जनालाई नागरिकता दिइएको पाइएको हो । टेकबहादुर र रिनालाई बुवा–आमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ छन् ।

उनीहरु सबैको ठेगाना झापा कायम गरिएको छ । यसैगरी, गैरकानुनीरूपमा नागरिकता पाउनेमा धाइजन–६, झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत छन् । गृह स्रोतकाअनुसार जिल्ला प्रशासन कार्यालय झापाले गैरकानुनीरूपमा २०७६ जेठ १२ मा तीनलाई, जेठ २० मा एकलाई र जेठ २१ मा तीनजनालाई नागरिकता वितरण गरेको छ । यसैगरी, २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको छ ।

यसअघि, २०७३ माघ १० गते तीनजनालाई गैरकानुनीरूपमा नागरिकता दिइएको स्रोतले जानकारी दिएको छ । वि.सं २०७३ मा गैरकानुनीरूपमा नागरिकता वितरण गर्ने तत्कालीन प्रशासकीय अधिकृत चूडाराज भट्टराईमाथिसमेत छानबिन थालिएको छ भने तत्कालीन शरणामती गाविसका सन्चालक समितिका अध्यक्ष भवकृष्ण न्यौपाने पनि छानबिनको घेरामा परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार  १२ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]