बैशाख ७, २०८१ शुक्रबार

कनकाई उद्योग वाणिज्यमा चर्कियो विवाद

कनकाई । कनकाई उद्योग वाणिज्य संघको २०७८ फागुन २० गतेको वार्षिक साधारण सभाबाट बनाइएको निर्वाचन समितिले निर्वाचनको कार्यक्रम सम्पन्न नगरी राजीनामा दिएको छ ।

निर्वाचन समितिले संघको कार्यालयमा पत्रकार भेटघाट मार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संघको विधानमा रहेको परिच्छेद ८ को दफा ४३ को (ज) बमोजिम निर्णयमा पुगी आजैका मितिबाट लागु हुने गरी निर्वाचन समितिबाट संयुक्त रुपमा राजीनामा दिएको जनाएको छ । निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुडाल, सदस्यद्वय लिलाप्रसाद भेट्वाल र त्रिलोचन उप्रेतीले संयुक्त रुपमा हस्ताक्षर गरेको प्रेस विज्ञप्ती मार्फत राजीनामा दिएको जनाइएको छ ।

निर्वाचन समितिले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएसँगै कनकाई उद्योग वाणिज्य संघको नेतृत्व अब अन्यौलमा परेको छ । निर्वाचनको कार्य सम्पन्न गर्न कार्यसमितिसँग सहयोग माग गर्दा परिच्छेद ८ को दफा ४३ को (छ) अनुसार निर्वाचन समितिलाई सहयोग प्राप्त नभएका कारण निर्वाचनको प्रक्रिया पूरा हुन नसकेको निर्वाचन समितिले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । संघको सर्वोच्च अंगका रुपमा रहेको आम उद्योगी व्यवसायीहरुको विशेष साधारण सभाले यसको छिनोफानो गर्नुपर्ने भएको छ ।

विवाद समाधानका लागि यसअघि संघको निर्वाचन समितिले संस्थाका पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष, सल्लाहकारसहित स्थानीय स्तरमा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग भएको छलफलबाट सुझाव संकलन गरेको थियो ।
प्रारम्भिक चरणबाटै निर्वाचन समितिको गठन प्रक्रियादेखी हालसम्म पनि समितिको वैधतामाथि प्रश्न चिन्ह खडा हुँदै आएको बताइएको छ । त्यस्तै नवनिर्वाचित अध्यक्षबाट समेत निर्वाचन समितिको मानहानी हुने गरी सपथ ग्रहण, प्रमाणपत्र तथा पदभार समेत नलिई आँफू खुशी अध्यक्षको हैसियतबाट विभिन्न संघसंस्थामा उपस्थित जनाई शुभकामना दिने जस्ता कार्यहरु भएको साथै संघका सदस्यहरुले निवेदन पेश गरेको प्रमाणका आधारमा निर्वाचन समितिले आइतवार सरोकारवालाहरुको सुझाव संकलन गरेको हो ।

प्राप्त सुझावका आधारमा निर्वाचन समितिले आइतवार संघको कार्यालयमा पत्रकार भेटघाट मार्फत निर्वाचन समितिको निर्णयलाई प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँदै राजीनामा दिएको हो । आफुहरुले निर्वाचन सम्पन्न भए लगत्तै पटक–पटक नयाँ कार्यसमितिलाई सपथ र पदस्थापनाका लागि अनुरोध गर्दा गर्दै पनि तोकिएको समय सिमा नाघिसकेका कारण विधानत राजीनामा दिनु परेको निर्वाचन समितिका संयोजक चुडालले जानकारी दिए ।

राजनीतिक दलहरु विचको सहमतीय प्रणालीका आधारमा सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिलाई निर्वाचन समितिले आफ्नो समय सिमा भित्र सपथ ग्रहण नगराए पछि समस्या जटिल बन्दै गएको थियो । संघको विधान अनुसार ४५ दिन भित्रमा निर्वाचनका सबै कार्यक्रम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको निर्वाचन समितिले करिव तीन महिना बितिसक्दा पनि आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै स्थानीय व्यवसायीहरुले वैधानिक रुपमा संस्था संचालन गर्ने वातावरण सिर्जना गर्न माग गर्दै निर्वाचन समितिलाई निवेदन दिएका थिए ।

उद्योगी व्यावसायीका समस्या समाधान नहुँदा दैनिक हुने काम कार्वाहीमा समेत यसको प्रभाव परेको भन्दै निर्वाचन समितिलाई मार्ग प्रशस्त गर्न भनि निवेदन दिइएको जनाइएको छ । जसबाट उत्पन्न विषम परिस्थितिका कारण निर्वाचन समितिले वातावरण सहज बनाउँन सार्वजनिक रुपमा राजीनामा दिएको जनाइएको छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०७९ सोमबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]