बैशाख १४, २०८१ शुक्रबार

गौमतीलाई बुढेसकालमा पक्का घर

दिपेन लावती

शान्तिनगर । गत बैशाखमा स्थानीयको पहलमा झापा मेचीनगर–९ की असहाय महिला देवीमाया मेचेलाई घर बनाई हस्तान्तरण गरियो । त्यस्तै काम बुद्धशान्ति गाउँपालिका–४ मा पनि भएको छ ।

पूर्व भुटानी शरणार्थी बसोवास रहेको टिमाई शिविर नजिक बस्दैं आएकी असहाय ६५ वर्षीया गौमती माखिम (लिम्बू) लाई २ लाख ३३ हजार चौरासी रुपैयाँको लागतमा दुई कोठे पक्कि घर र शौचालय बिहीवार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरियो । उनले उक्त अवसरमा खुसी हुदैं बढेसकालमा पक्कि घरमा बस्ने सपना पुरा भएको भन्दै सहयोगी महानुभावप्रति आभार प्रकट गरिन् । तर, उनी दमको रोगी भएको र खानलाउन समस्या रहेको दुखेसो पोखिन् ।


शिक्षासेवी तथा न्यूएभरग्रीन अग्रेजी माविका प्रिन्सिपल तीलक पाख्रिन (तामाङ) को संयोजकत्वमा गत बर्षबाट निर्माण थालिएको घर नौं महिनामै सम्पन्न भएपनि एक बर्ष १५ दिनमा उक्त घर असहाय महिला माखिमलाई हस्तान्तरण गरिएको हो । उनको श्रीमान तुलसीराम माखिमको २०७३ सालमा करेन्ट लागेर र उनको छोरी धनमायाको बैदैशिक रोजगारको क्रममा गत बर्ष इराकमा निधन भएपछि उनी साहारा विहिन बनेकी थिईन् ।


कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको माखिमको बाँकी जीवन सुखमय बनोस भन्ने हेतुले शिक्षासेवी पाख्रिनले सामाजिक उत्तरदायित्व अन्तर्गत समिति गठन गरी स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाईसँग फेसवुक मार्फत सहयोगको आव्हान गरे । सोही अनुरुप अमेरिका, क्यानडा, कोरिया र खाडी मुलुकमा रहेका नेपाली दाजुभाईबाट स्वत–स्फूर्त जुटेको सहयोग रकमले गत वर्षबाट घर निर्माण शुरु गरिएको थियो ।


माखिम घर हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक पाख्रिनले एक्लैले यो कार्य सफल नभएको बताए । उनले घर निर्माणमा सहयोग गर्ने दाताहरुसंगै निरन्तर खटिने स्थानीय धन्यप्रसाद खतिवडा र उनको श्रीमती कृष्णकला खतिवडाको साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे । त्यस्तै, ६ नम्वर वडाध्यक्ष शम्भू पौड्याल, ४ नम्वर वडाध्यक्ष बुद्धिमान जवेगु, नेकपा बुद्धशान्तिका अध्यक्ष टीका पाठक, काँग्रेसका महेश मेन्याङ्वो, शिक्षासेवी शिवकुमार पौड्याल लगायतले स्थानीय सरकारले गर्न नसकेको काम पाख्रिनको नेतृत्वमा रहेको टोलीले गरेको भन्दै प्रसंशा गरे ।


कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले सकारात्मक सोचको विकास गर्न सके समाज समृद्ध बन्ने बताईन् । उनले माखिमको घरमा निःशुल्क विद्युत जडानका लागि गाउँपालिकाले पहल कदमी गर्ने प्रतिवद्धता जनाईन् । यसका साथै, सट्टाभर्ना–मंगलवारे खानेपानी सरसफाई उपभोक्ता समितिले निःशुल्क खानेपानी उपलब्ध गराउने घोषणा समेत गरेको छ ।


घर निर्माण सम्पन्न भएपछि माखिमको खानलाउनका लागि स्वतःस्फूर्त रकम संकलन गरी बैङ्कमा जम्मा गर्ने अभियान सञ्चालन गर्ने संयोजक पाख्रिनले बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनीधि, बुद्धिजीवि, सामाजिक ब्यक्तित्व, शिक्षासेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्याव्सन बुद्धशान्तिका अध्यक्ष विष्णु सापकोटाले गरेका थिए ।

प्रकाशित मिति : भाद्र १९, २०७६ बिहीबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]