यो साता नेप्से ३०.५४ अंकको गिरावट
विर्तामोड । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकको गिरावट आएको छ ।
अघिल्लो साता १४५.०८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले घटेको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रबारसम्म ३०.५४ अंकले घटेर २०४८.१६ बिन्दुमा झरेको छ ।
साताको पाँच दिन भएको शेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन भने वृद्धि भएको थियो । पछिल्लो समय शेयर बजार लामो समयदेखि निरन्तर गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिनाअघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिब ११५०.६७ अंकले गिरावट आएर २०४८.१६ अंकको बिन्दुमा झरेको छ ।
चालु आर्थिक वर्षको सुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानीयोग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले शेयर धितो कर्जामा लगाएको ४–१२ करोडको नीतिका कारण शेयर बजार घट्दै गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि समेत बजार सुधार हुन सकेको छैन । साताको पहिलो कारोबारको दिन सोमवार नेप्से सूचकमा १२.८९ अंकले गिरावट आएर २०६५.८२ बिन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४५.५९ अंक घटेर २०२०.२३ बिन्दुमा झरेको थियो । मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । तर, बुधबार भने पछिल्लो एक हप्ताभन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको थियो । बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बुधबार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको थियो ।