बैशाख ७, २०८१ शुक्रबार

कनकाईमा कृषि तथा पशुपक्षी कार्यक्रम प्राथमिकतामा

७३ करोड ८५ लाखको बजेट प्रस्तुत
कनकाई । झापाको कनकाई नगरपालिकाले आ.व.२०७९-८० का लागि चालु तथा पुँजीगत तर्फ कुल ७३ करोड ८५ लाख ६१ हजार ४ सय २० बराबरको सीमाभित्र रही वार्षिक बजेट प्रस्तुत गरेको छ ।

कनकाई नगरपालिकाको बजेट तथा नीति कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहेकी उपप्रमुख आशा शिवाकोटीले कनकाईको ११ औं नगर सभाको बैठकमा आ.व.२०७९-८० कालागि पेश भएको वार्षिक बजेट सार्वजनिक गरेकी हुन् । बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख शिवाकोटीले कनकाईका नौ वटै वडाबाट छनौट हुने वडास्तरीय विभिन्न योजना तथा कार्यक्रमका लागि वडाको भौगोलिक तथा जनसंख्याको आधारमा बाँडफाँड हुने गरी जम्मा ९ करोड ६ लाख १३ हजार खर्च गर्नका लागि बजेट बिनियोजन गरेको बताइन् ।

नगरपालिका, संघीय तथा प्रदेश सरकारको स्रोत र राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम, वित्तीय समानीकरण अनुदान, समपूरक तथा स-शर्तमा उल्लेखीत कार्यक्रमका आधारमा तयार भएको बजेट कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले प्रस्तुत गरेकी हुन् ।

बजेटमा संघीय सरकारबाट प्राप्त हुने १५ करोड ९ लाख रुपैँया अनुदान रकम, प्रदेश एक सरकारबाट प्राप्त अनुदान रकम ८२ लाख ९९ हजार, प्रदेश सरकारबाट प्राप्त मालपोतको राजस्व बाँडफाडबाट प्राप्त हुने १० करोड ३ लाख रकम, प्रदेश सरकारको सवारी कर र घरजग्गा रजिष्ट्रेशन बापत प्राप्त हुने २ करोड ९८ हजार, नगरपालिकाबाट प्राप्त आन्तरिक आयबाट प्राप्त हुने ८ करोड १५ लाख ३० हजार रकमलाई बिभिन्न शीर्षकमा बिनियोजन गरिएको नगर उपप्रमुख शिवाकोटीेले बताइन् ।

कृषि तथा पशुपक्षी कार्यक्रमलाई प्राथमिक्तामा राखेको कनकाईले २ करोड २५ लाख रकम कृषि तथा पशुपंक्षी कार्यक्रमका लागि बिनियोजन गरेको छ । यसैगरि शिक्षामा २ करोड ५ लाख, स्वास्थ्यमा १ करोड ५० लाख, खानेपानी र सरसफाईमा ५० लाख, वन वातावरण, सस्कृति तथा पर्यटनमा ३० लाख, खेलकुदमा ३५ लाख, महिला वालवालिका तथा लक्षित बर्ग र संस्थागत सहयोगमा २ करोड २२ लाख, विद्युत विस्तारमा ३५ लाख लगायत रहेको छ ।

बजेटले कृषि तथा पशुपालन क्षेत्रको रुपान्तरणका लागि समयअनुकुल प्रविधिको प्रयोग बढाएर आधुनिकीकरण, विशिष्टिकरण तथा व्यवासायिकरण तर्फ प्राथमिकता दिएको पाइन्छ । स्वास्थ्य र शिक्षाको गुणस्तर वृद्धि, गरीव-भूमिहीन तथा अशक्तमैत्री कार्यक्रमहरु संचालन गर्दै अघि बढ्नु बजेटको प्राथमिकता रहेको बताइएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा समानुपातिक विकास साथै भौतिक पूर्वाधारको निर्माण तथा स्तर उन्नतीका लागि बजेटले प्राथमिकताा दिएको छ । संस्थागत क्षमता विकास, सेवा प्रभावमा प्रभावकारीता साथै सुशासनमा अभिवृद्धिका लागि बजेटले प्राथमिकता दिएको पाइन्छ । त्यसैगरी लक्षित तथा विपन्न वर्गको सशक्तिकरण ,सुरक्षित आवास साथै क्षमता विकासका कार्यहरु समेत बजेटको प्राथमिकता परेको बताइएको छ ।

बजेटको प्राथमिकतामा पर्यटकीय गन्तव्यहरुको उजागर गरी आर्थिक विकास साथै विपद् व्यवस्थापन तथा वातावरण संरक्षण समेत रहेको छ । कनकाईमा औधोगीकरण तथा युवा रोजगारीको अवसरमा वृद्धि गर्ने साथै उज्यालो हरित नगरी निर्माणलाई प्राथमिकतामा राखेको बताइएको छ । त्यस्तै मजदुर मैत्री एवम् बालमैत्री सुन्दर नगर निर्माण गर्ने कार्यलाई बजेटले प्राथमिकतामा राखेको कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले बताइन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्व एवम् नगर सभाका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको कनकाईका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]