बैशाख १२, २०८१ बुधबार

सामुदायिक विद्यालयलाई सुधार्न सकिन्छ : प्रा.डा. लुइँटेल

सुरुङ्गा । त्रिभुवन विश्वविद्यालयका प्रा डा. विनोद लुइँटेलले सरकार, शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, शिक्षासेवी र शैक्षिक अभियन्ताको साझा प्रयत्नबाट सामुदायिक विद्यालयलाई सुधार्न सकिने बताएका छन् ।

कनकाई नगरपालिकाले आयोजना गरेको शैक्षिक अन्तरक्रियात्मक कार्यक्रममा प्रस्तुति राख्दै डा. लुइँटेलले शिक्षा क्षेत्रमा निराशाको कुरा नगरी सकारात्मक आशाको कुरा गर्नुपर्ने बताए । सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तर खस्किदै गएको प्रश्न उठिरहेको बेला ‘शिक्षाको गुणस्तर विकासमा उत्कृष्ट सामुदायिक विद्यालयका अनुभवहरू’ शीर्षकमा आयोजित कार्यक्रममा उनले आफ्ना अध्ययनको सार राखेका थिए ।

कार्यक्रममा नगरभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालयका तहगत संयोजक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष, बाल केन्द्र हेर्ने प्रमुखहरू, शिक्षासँग सरोकार राख्ने बुद्धिजीवी, वडा अध्यक्षहरू, शैक्षिक अभियन्ता, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । डा. लुइँटेलले ललितपुरको त्रि–पद्म माध्यमिक विद्यालय, तनहँु दमौलीको सत्यवती माध्यमिक विद्यालय, बाग्लुङको गणेश माध्यमिक विद्यालय र रुपन्देहीको शान्ति नमुना विद्यालयमा गरिएको अध्ययनको निष्कर्ष प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शिक्षाको गुणस्तर उकास्न प्रयत्नशील रहेको साथै अहिले कनकाईका सामुदायिक विद्यालयलाई सुधार गर्न अझ धेरै काम गर्न बाँकी रहेकोे बताए । कार्यक्रममा कनकाई माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी, देवकोटा प्रावि तुलसीबारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद ओझा, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका प्रअ नरहरि न्यौपाने, शिक्षक तीर्थराज खरेल, शैक्षिक अभियन्ता कवि प्रसाईं लगायतले कार्यक्रम सम्बन्धमा अनुभूति तथा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा कनकाई माविका विव्यस अध्यक्ष जनार्दन उप्रेती, सल्लाहकार डिल्लीराम मैनाली, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठक, सचिव निर्मलकुमार खनाल, कनकाई शैक्षिक गन्तव्यका परिकल्पनाकार अखिलकुमार कोइराला, कनकाई नगरका शिक्षा शाखा अधिकृत हरिप्रसाद मिश्र, सामाजिक विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य नवलकिशोर दत्त समेतको आतिथ्यमा भएको कार्यक्रम शिक्षा शाखा प्रमुख उपसचिव पिताम्बर गौतमको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति मेदनीप्रसाद पाठकले गरेका थिए ।

प्रकाशित मिति : असार १३, २०७९ सोमबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]