बैशाख १३, २०८१ बिहीबार

कनकाईको पीटीए अध्यक्षमा शेर्पा

संगीता उप्रेती
सुरुङ्गा । नमुना विद्यालयका रूपमा प्रस्तावित कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयको अभिभावक भेलाले शिक्षक अभिभावक संघ (पीटीए) अध्यक्षमा रमेश शेर्पा (दावा शेर्पा) लाई सर्वसम्मत चयन गरेको छ ।

विभिन्न गैरसरकारी तथा सामाजिक संस्थाका आबद्ध रही क्रियाशिल सामाजिक अगुवाको छबि बनाएका शेर्पा सोही विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । सञ्चारकर्मी र कविको रूपमा आफ्नो परिचय बनाएका शेर्पा विद्यमान कानुन, नियम र नियमावलीको परिधिभित्र रहेर पनि शिक्षक, अभिभावक, विद्यार्थी, शैक्षिक अभियन्ता र सरकारी तथा गैरसरकारी संस्थाको समन्वयात्मक प्रयत्नबाट धेरै सुधारका काम गर्न सकिने प्रतिबद्धताका साथ शैक्षिक गुणस्तर अभिवृद्धिमा भूमिका खेल्न पीटीएमा आबद्ध बनेको बताउँछन् । सो भेलाबाट पीटीए सदस्यमा दीपक पाण्डे, खगमाया चापागाईं, निर्मलादेवी भट्टराई, लोकेन्द्रराज दाहाल, दुर्गा पौडेल (प्रसाई), राजन पराजुली, राम घिमिरे र मीना खतिवडा चयन भएका छन् । पीटीएमा पदेन सदस्यका रूपमा विव्यस अध्यक्ष र प्रअ समेत रहने प्रावधान छ ।

त्यसै गरी, भेलाले विनिता प्रसाईंको अध्यक्षतामा १५ सदस्यीय आमा समूह पनि गठन गरेको छ । आमा समूहको उपाध्यक्षमा मुना मैनाली (गौतम), सचिवमा प्रमिला उप्रेती र कोषाध्यक्षमा मेनुका शिवाकोटी चयन भएका छन् । सदस्यमा सीता अधिकारी, सरिता खवास, बबिता भट्टराई (नेपाल), सुशान्ति लिम्बू, गीता चिमरिया (पराजुली), जमुना अधिकारी, लक्षिमा दवाडी, गीता नेपाल, सावित्रा कटुवाल (रायमाझी), लक्ष्मी थपलिया र पुष्पा सिटौला रहेका छन् ।

त्यस्तै, आमा समूहको सल्लाहकार समितिको संयोजकमा पम्फादेवी विश्वकर्मा, सचिवमा कृष्णकुमारी तुम्बाहाम्फे, सदस्यहरूमा कमला ठटाल, सीतादेवी भट्टराई र सरिता बस्नेत चयन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रप्रसाद प्रसाईंले जानकारी दिए । पीटीए र आमा समूहको नेतृत्व सर्वसम्मत चयनका लागि विद्यालयका सहायक प्रअद्वय हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटी, आधारभूत तह संयोजकद्वय खड्गप्रसाद आचार्य र खेमराज भट्टराई, विशेष शिक्षा संयोजक जीतबहादुर बस्नेत, विज्ञान समूह संयोजक साजनकुमार लिम्बू लगायतले सहजीकरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा भएको भेलामा विद्यालय–समुदाय सम्बन्ध समितिका संयोजक एवम् शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले स्वागत मन्तव्यसहित भेलाको औचित्यमाथि प्रकाश पारेका थिए । भेलाले प्रधानाध्यापक कर्णबहादुर डाँगीद्वारा प्रस्तुत विगतको समीक्षा, वर्तमान अवस्थाको चित्रण र भावी लक्ष्य समेटिएको प्रगति प्रतिवेदन र पीटीए अध्यक्ष नेत्रप्रसाद प्रसाईद्वारा प्रस्तुत विद्यालयको आ.व. २०७७÷०७८ को सामाजिक परीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठकले नानीबाबुहरूको पठनपाठनमा आमाहरूको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिएकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालयका सूचना अधिकारी तीर्थराज खरेलले गरेका थिए ।

प्रकाशित मिति : असार १४, २०७९ मंगलबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]