चैत्र १६, २०८० शुक्रबार

संविधान च्यात्न खोज्नेको प्रतिकार गर्न तयार बनौं : नेता कोइराला

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य नरेश खरेलले प्रतिगामी तत्वहरु सल्बलाई रहेको बताएका छन् । लामो समय सत्तामा रहेका प्रतिगमनकारी सत्ता बाहिर पुगेपछि देशको हित विपरित सल्बलाउन थालेको भन्दै केन्द्रीय सदस्य खरेलले त्यस्ता तत्वहरुबाट जनता सचेत हुनुपर्ने बताए ।

शनिवार नेकपा झापाले आयोजना गरेको विभागका प्रमुख तथा उपप्रमुख र सदस्यहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा खरेलले कम्युनिस्ट सरकारको काम देखेर आत्तिएकाहरु सरकार विरुद्ध गतिविधि गर्न सल्बलाएको टिप्पणी गरेका छन् । उनले इतिहासकै बलियो र जनताको सरकारलाई जनताको विचमा भ्रम छरेर जनमत आर्जन गर्न खोज्नेहरु आफै परास्त भएर जाने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खरेलले भने, दुई तिहाई प्राप्त गरेको सरकारले जनताको लागि काम शुरु गरेको देखेर विभिन्न समूहका नाममा सरकार विरोधी गतिविधि बढेको औल्याए । नेकपा प्रदेश एकका सहइञ्चार्ज समेत रहेका खरेलले यस्ता समूहले छरेको भ्रम नेकपाका आम नेता तथा कार्यकर्ताले जनहीतका काम गरेर चिर्दै जानुपर्ने बताए । उनले अबको युगमा नेकपा मात्र जनताको पार्टी रहेको संकेत गर्दै भने, जनताको आशा र भरोसा हामीसँग छ, आशालाई उपेक्षा गर्न हुदैन ।

पार्टीको २७ विभागका पदाधिकारीहरुलाई सपथ ग्रहण गराउन समेत आयोजना गरिएको कार्यक्रममा पार्टीका झापा इञ्चार्ज रविन कोइरालाले रगत बगाएर बनाएको संविधान च्यात्न खोज्नेहरुको प्रतिकार गर्ने समय आएको बताएका छन् । उनले नेपाली जनताको बलिदानीबाट बनेको संविधान च्यात्न खोज्नेहरुको प्रतिकार अब नेकपाका नेता कार्यकर्ताले गर्नुपर्ने समय आएको बताए । नेता कोइरालाले भने – गलत गतिविधिको प्रतिकार गर्न तयारी हुनुहोस् ।

पछिल्लो समय सरकार विरोधी काम कहाँबाट परिचालित भइरहेको छ भन्दै कोइरालाले यसको खोजी हुनुपर्ने बताएका छन् । फरक प्रसंगमा बोल्दै नेता कोइरालाले भने, – रवि लामिछानेको समर्थनका नाममा भइरहेको सरकार विरोधी गतिविधिको समेत प्रतिकार गर्नुपर्छ । शनिवार दिउँसो बिर्तामोडमा आयोजित भ्रष्टाचार विरोधी कार्यक्रमलाई लक्षित गर्दै उनले प्रश्न गरे – ज्ञानेन्द्र शाहीहरु कहाँबाट कसरी परिचालित भएका छन् ? नाम पनि ज्ञानेन्द्रसँग मिल्दो जुल्दो छ, आफै बुझौं ।

पार्टी र सरकारको विरुद्दमा भइरहेको गलत प्रचारबाजीको भण्डाफोर गर्न झापाबाट शुरुवात गनुपर्ने भन्दै उनले प्रतिगमनकारीलाई ठेगान लगाउने चेतावनी दिएका छन् । कांग्रेसको पालामा भएका भ्रष्टाचारी लगायतका मुद्दालाई लिएर वर्तमान सरकारको विरोध भइरहँदा पनि बोल्न नसक्ने हो भने यसको परिणाम बेठिक हुने कोइरालाको तर्क छ । उनले नेकपा नेतृत्वको सरकारलाई जवरजस्ती गलत सावित गर्ने प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित मिति : भाद्र २२, २०७६ आईतबार  १० : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]