ऋण दिनेहरुलाई नै वाणिज्य संघको धम्की
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले वित्तिय संस्थाहरुलाई विज्ञप्ति मार्फत धम्की दिएको छ । बैंकिङ कारोबारका लागि ताकेता गर्ने बैंक तथा वित्तीय संस्थालाई धम्क्याउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको छ । बैंक वित्तिय संस्थाबाटै कर्जा लिएर व्यापार गर्ने व्यवसायीहरुको संस्था वाणिज्य संघले कर्जादाता संस्थालाई नै धम्की दिनुले वाणिज्य संघको भूमिकामाथि पनि प्रश्न उठेको छ ।
असार मसान्तको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई ताकेता गरिरहेकोप्रति आपत्ति प्रकट गर्दै वाणिज्य संघले औपचारिक रुपमै घुमाउरो पारामा धम्कीको भाषा बोलेको हो । सबैखाले उद्योग–व्यवसाय धरासायी हुने परिस्थिति आएको जनाउँदै वाणिज्य संघले यसप्रकारको ताकेता नगर्न बैंक तथा वित्तीय संस्थालाई ध्यानाकर्षण गराएको छ ।
शुक्रबार विज्ञप्ति जारी गरी वाणिज्य संघले भनेको छ, ‘पुन यो डर र धम्की पुगे व्यवहार गरिरहेका आमव्यवसायी आन्दोलनमा आउन सक्ने वातावरणप्रति जिम्मेवार भइदिन संघ आग्रह गर्दछ ।’
क र ख वर्गका बैंक तथा वित्तीय संस्थाले एक महिनाअघिदेखि ब्याज र किस्ताको नाममा ताकेता गरेर व्यवसायीलाई थप आतंकित बनाइरहेको बिर्तामोड उद्योग वाणिज्य संघका प्रवक्ता सञ्जीव घिमिरेले बताए । अध्यक्ष प्रकाश शिवाकोटीका अनुसार ब्याज र किस्ता नबुझाए लिलामीमा राख्ने, कालोसूची प्रकाशित गर्ने लगायतका धम्की बैंक तथा वित्तीय संस्थाले दिएका छन् ।
तरलता अभावले बजारबाट पाउनुपर्ने बक्यौता उठ्न नसकेको बेला बैंक तथा वित्तीय संस्थाले आफूमात्र सहज परिस्थितिमा चल्न खोजेको अध्यक्ष शिवाकोटीको आरोप छ । ‘बैंक तथा वित्तीय संस्थाको व्यवहारले बिर्तामोडका व्यवसायी सशंकित भएका छन्’, अध्यक्ष शिवाकोटीले भने, ‘यो असहज र अप्ठ्यारो परिस्थितिमा सबै संस्थाहरु व्यवहारिक तबरले प्रस्तुत हुनुपर्छ ।’
कम्प्युटर वा अनलाइन विलिङप्रति पनि संघले आपत्ति जनाउँदै यो प्रावधान अव्यवहारिक र असान्दर्भिक भएको ठहर गरेको छ । वाणिज्य संघले १० करोडभन्दामाथिको कारोवार गर्नेहरुलाई कर प्रशिक्षणका लागि सूचना जारी गरेर कार्यक्रममा सहभागी गराएको थियो । कार्यक्रम सकिएपछि संघ आफैले १० करोड कारोवार गर्नेहरुलाई कम्प्युटर विलिङ अव्यवहारिक हुने भन्दै त्यसको सिलिङ ३५ करोडमा पुर्याउनुपर्ने विज्ञप्ति समेत प्रकाशन गरेको छ ।