बैशाख ११, २०८१ मंगलबार

बाह्रदशी पूर्णखोप सुनिश्चित पालिका

बाह्रदशी – बाह्रदशी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र रहेका लक्षित बालबालिकालाई सबै खोप पूरा गर्दै गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो ।

बाह्रदशी गाउँपालिकामा एक वर्षमुनिका ६९४ जना लक्षित समूहका बालबालिका रहेको र उनीहरू सबैलाई खोप प्रदान गरिएसँगै गाउँपालिकालाई पूर्ण सुनिश्चितता भएको घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रामकुमार साहले बताउनुभयो । बाह्रदशी गाउँपालिका–६ स्थित डाँडीबारी स्वास्थ्यचौकीमा आयोजित कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईँले पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गर्नुभयो । उहाँले बाह्रदशी गाउँपालिकावासीको स्वास्थ्यप्रति आफू सचेत रहेको बताउनुभयो । अध्यक्ष चम्लगाईँले अब यहाँका बालबालिकामात्रै होइन, गर्भवती महिलादेखि ज्येष्ठ नागरिक, अशक्तसहित लक्षित वर्गलाई घर–घरमै स्वास्थ्य सेवा दिने खालका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँ, साविक डाँगीबारी गाविसका अध्यक्ष तथा नेकपा (एमाले)का नेता लक्ष्मण पाठक, नेपाल रेडक्रस सोसाइटी प्रदेश नं १ का कोषध्यक्ष ओमप्रकाश गौतम, प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क भिडियो एकस–रे सेवासमेत सुरु गरेको छ ।

डाँगीबारी स्वास्थ्यचौकीमा भिडियो एक्स–रे सेवा नरहेको र सो सेवासमेत सुरु गरिएको थियो । यसअघि घोडामारा स्वास्थ्यचौकीमा मात्रै भिडियो एक्सरे सेवा सुरु गरिएको थियो । यससँगै बाह्रदशी गाउँपालिकामा दुईवटा स्वास्थ्य संस्थाबाट गर्भवती महिलाले निःशुल्क भिडियो एक्सरे सेवा पाउने भएका छन् । बाह्रदशी गाउँपालिका–६ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष रत्नप्रकाश योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा डाँगीबारी स्वास्थ्यचौकीका प्रमुख हेमन्त लामिछानेले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ११ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]