बैशाख १५, २०८१ शनिबार

अर्जुनधारामा बोरामा भेटिएको शवको पहिचान खुल्यो : पाँच लाखमा हत्या गरेको खुलासा

बिर्तामोड । झापा अर्जुनधारा –४ मा गत हप्ता बोराभित्र भेटिएको शव भारतीय नागरिकको भएको खुलेको छ । सो शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाई भएको झापा प्रहरीले जनाएको छ । भारतीय नागरिकलाई हत्या गरी बोरामा पोको पारेर नजिकैको ह्युम पाइप भित्र फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा बिर्तामोड प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा अर्जुनधारा – ७ की ३२ वर्षीया जानुका देवी थापा, ४९ वर्षीय विजय भन्ने बृख बहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १० बस्ने २५ वर्षीय सुरेश परियार रहेका छन् । उनीहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । एक जनाको खोजी भइरहेको छ ।

प्रहरीका अनुसार ५ लाखको सुपारी दिएर ति व्यक्तिको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सुपारी लिएर बराह क्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको झापाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

गुजरात घर भएका मृतकसँग जानुका थापाको भारतमै चिनजान भएको थियो । ०७६ सालमा कामको सिलसिलामा थापा भारत पुगेकी थिइन् । सोही चिनजानका आधारमा भारतीय नागरिक नरेश कुमार अर्जुनधारा आएका थिए । प्रहरीका अनुसार ५९ हजार अवैध भारतीय नोट सहित पक्राउ परेका मृतक इटहरीमा तारेख धाइरहेका थिए । तारेख कै लागि उनी नेपाल आएको प्रहरीको भनाई छ ।

०७६ सालमा मृतकले थापाको छोराछोरीका लागि खेलौना पठाएको बुझिएको छ । थापाले ति भारतीय नागरिकबाट घर निर्माणको लागि ५ लाख पनि लिएको अनुसन्धानबाट खुल्न आएको छ ।

बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले मृतक असार ७ गते भारतबाट अर्जुनधारा आएको जानकारी दिए । उनका अनुसार असार ८ गतेसम्म थापा कै घर बसेका मृतक ९ गते तारेखका लागि इटहरी गएर फेरि अर्जुनधारा नै फर्किएका थिए । ९ गते राती साढे ८ बजे मृतकसहित परियार र अर्का एक व्यक्तिले सँगै मादकपदार्थ खाएको र सोही समयमा कुटपिट गरि फलामको मार्तोलले शरिरका विभिन्न भागमा हिर्काएर हत्या गरेको भनाई छ । अनुसन्धानमा उच्चस्तरको प्रविधि प्रयोग गरिएको डिएसपी कुवरको भनाई छ ।

हत्या गरे वापत थापाले परियारलाई २ पटकमा २ लाख र अर्का एक व्यक्तिलाई १ लाख दिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट एउटा मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी, २ थान तन्ना, डोरी, झोला, ३ थान मोवाइल र २ वटा खाली बोतल फेला परेको थियो । प्रहरीका अनुसार हत्या पछि संलग्नहरुले पुर्ने सोच बनाएका थिए । उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : असार १९, २०७९ आईतबार  ४ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]