बैशाख १२, २०८१ बुधबार

अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

जनकपुर – जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो ।

अपहरणमा संलग्न आरोपमा एक महिलालाई समेत प्रहरीले बालकसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ५५ वर्षीया मैथुन खातुन हुन् । खातुनलाई बालकसहित प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । आफ्नै घरमा बालकलाई लिएर खातुन लुकेकी थिइन् । विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरी ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयवासीले भने पनि ती महिलाको परिचय खुलेको थिएन । जानकारी हुने बित्तिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा अपहरण गर्ने महिलालाई घरबाटै पक्राउ गरेको जनाएको छ । पक्राउ परेकी खातुनउपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रजौरेले बताउनुभयो ।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]