जेष्ठ ६, २०८१ आईतबार

शैक्षिक गुणस्तर बृद्धिमा लाग्नुहोस् : मेयर राना

समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार

अर्जुनधारा । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरिएको हो ।

समदर्शीलाई शैक्षिक उन्नयन तथा सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको मूल्यांकन गर्दै शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको नगरपालिकाले उल्लेख गरेको छ । पुरस्कृत तथा सम्मानित समदर्शीलाई संघीय सांसद पवित्रा निरौला खरेल, नगरपालिकाका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, शिक्षा शाखा अधिकृत जानुका गुरागाईंले सम्मानपत्र, नगद, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सोही कार्यक्रममा अनिवार्य अवकास पाएका शिक्षकहरु भैरव पौडेल, केशव घिमिरे, इन्द्र भण्डारी, हेमबहादुर कार्की र लीलाधर खतिवडालाई पनि सम्मान गरिएको थियो । अर्जुनधारा–१ स्थित गणेश आधारभूत विद्यालयका प्रअ रामकुमार अछामीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।

त्यस्तै, वर्ष उत्कृष्ट शिक्षकतर्फ गणेश आधारभूत विद्यालयका तेजकुमार बस्नेत, वाल शिक्षकतर्फ भानु आधारभूत विद्यालयकी दुर्गा गिरी र उत्कृष्ट कर्मचारीतर्फ जनता माविका बलबहादुर गिरीलाई पनि नगरपालिकाले नगदसहित सम्मान व्यक्त गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले स्वागत गरेको कार्यक्रममा ११औँ राष्ट्रपति रनिङ शिल्डको छनौटतर्फ नगरमा प्रथम भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिनुुका साथै कक्षा ५, ८ र एसईईमा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका छात्रछात्रालाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै संघीय सांसद खरेलले आजको शिक्षाको आवश्यकता वैज्ञानिक र प्राविधिक शिक्षा भएकाले त्यसैअनुरुप विकास गरेर अघि बढनु जरुरी रहेको औँल्याइन् । शिक्षाको उज्यालोबाट बञ्चित बालबालिकालाई विद्यालय ल्याउन, ल्याइएका विद्यार्थीलाई टिकाउन र पहुँच भएका विद्यार्थीलाई पनि स्तरीय शिक्षा दिन चुनौति रहेको भन्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि केन्द्रित हुन शिक्षक शिक्षिकालाई निर्देशन दिइन् ।

शिक्षा र स्वास्थ्य राज्यको दायित्व बन्न सकेको खण्डमा ठुलै उपलब्धी हासिल हुने बताएकी उनले विद्यालयबाट शिक्षा, संस्कार र संगतको पाठ सिकाइएको खण्डमा समाज परिवर्तन हुने विश्वास व्यक्त गरिन् । नगरपालिकाका मेयर हरिकुमार रानाले नगर विद्यालयको पूर्वाधार विकासमा लागेकाले शिक्षकहरुले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा लाग्नुपर्ने बताए । विद्यालयको पूर्वाधार व्यवस्थापनमा बर्सेनि नगरले बजेट विनियोजन गरिरहेको दोहोर्याउँदै मेयर रानाले शैक्षिक गुणस्तरलाई पाखा लगाएर फेरि पनि पूर्वाधारको कुरा लिएर नगरपालिका धाउने प्रवृत्तिको अन्त्य गर्न उद्घोष गरे ।

सामाजिक विकास समितिका संयोजक दिलिप गुरुङले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, अर्जुनधारा नगर प्याव्सन अध्यक्ष रुद्र सिटौला, नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदी र सम्मानित शिक्षकका तर्फबाट भैरव पौडेलले धारणा राखेका थिए ।

प्रकाशित मिति : भाद्र २२, २०७६ आईतबार  ५ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]