बैशाख १३, २०८१ बिहीबार

नाबालिग बलात्कार मुद्दाको हदम्याद अब तीन वर्ष

काठमाडौँ । यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले सो विधेयक सर्वसम्मतिबाट पारित गरेको हो । हाल, १८ वर्षमुनिका नाबालिगले बलात्कार घटनामा बालिग भएको १ वर्षभित्र उजुरी गर्न मिल्ने व्यवस्था छ ।

विधेयकले मुलुकी अपराधसंहिताको दफा २२९ को हदम्यादसम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै बलात्कारलगायत यौनहिंसाका घटनामा हदम्याद बढाएको हो । विधेयकमार्फत १८ वर्षमुनिका नाबालिगको बलात्कार अथवा यौन दुव्र्यवहारका घटना भए बालिग भएको तीन वर्षभित्र उजुरी गर्न मिल्नेगरी हदम्याद कायम गरिएको छ ।

त्यस्तै, १८ वर्षदेखि ७० वर्ष उमेर समूहमा भएको बलात्कार घटनामा उजुरीको हदम्याद दुई वर्ष कायम भएको छ । यो उमेर समूहमा पनि यसअघि एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्यादको व्यवस्था थियो ।

यसैगरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सुस्तमनस्थिति भएका व्यक्ति र अपांगको हकमा पनि उजुरीको हदम्याद ३ वर्ष कायम भएको छ । सरकारले ल्याएको यौन हिंसाविरुद्धको केही ऐन संशोधनसम्बन्धी विधेयकमा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले हदम्याद व्यवस्थामा परिमार्जन गरेको हो ।

त्यस्तै, विधेयकले बलात्कार घटनामा कैद सजायका अतिरिक्त जरिमाना व्यवस्था गरेको छ । यसरी प्राप्त हुने जरिमाना पीडित राहत कोषमा जम्मा हुनेछ । १० वर्षभन्दा कम वा १० वर्षदेखि १४ वर्षसम्म उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला बलात्कार घटनामा कसुरदारलाई ७ लाख जरिमाना प्रावधान विधेयकमा राखिएको छ । त्यस्तै, १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम अथवा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए कसुरदारलाई ५ लाख र १८ वर्षभन्दा माथि उमेरकी महिला भए कसुरदारलाई तीन लाख जरिमाना गराउने प्रावधान गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रकाशित मिति : असार २८, २०७९ मंगलबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]