बैशाख २३, २०८१ आईतबार

‘आदिवासी–जनजाति ब्यूटी कन्टेस्ट’ मा धाँधली

झापा । नेपाल आदिवासी–जनजाति महासंघको नगर समन्वय परिषद्–भद्रपुरले भदौ १४ गते यहाँ आयोजना गरेको ‘आदिवासी–जनजाति ब्युटी कन्टेस्ट’मा व्यापक धाँधली भएसँगै हालसम्म भए–गरेका कामहरूप्रति कार्यसमितिका बहुसंख्यकले विरोध सार्वजनिक गर्न थालेका छन् ।

परिषद्का नगर अध्यक्ष सन्तोष राजवंशीले एकल निर्णयमा हालसम्म आफूखुशी काम गरिरहेको भन्दै उपाध्यक्ष, सचिव लगायत बहुसंख्यक सदस्यहरूले घोर विमति जाहेर गरेका हुन् । निज अध्यक्षले गत चैत १६ देखि चैत ३० गतेसम्म भनेर भद्रपुरको मेची क्याम्पस पश्चिमको चौरमा लगाएको ‘प्रथम आदिवासी–जनजाति सांस्कृतिक महोत्सव’ को हरहिसाब लगायत करीब ४ वर्ष बढीदेखि निजको अध्यक्षीय कार्यकालको कुनै पनि हरहिसाब हालसम्म कार्यसमितिमा प्रस्तुत नगरेको, फरफारक नगरेको र महोत्सवताका नै घोषणा गरिएको ‘मिस्टर एण्ड मिस आदिवासी–जनजाति’को अडिसन राउण्ड सकिएपछि पनि उतिबेला घोषणा नगरी यही भदौ १४ गते गरिएको फिनाले घोषणामा निर्णायकको निर्णय विपरीत अध्यक्ष आफैंले विजेता घोषणा गरेकोप्रति व्यापक असन्तुष्टि छताछुल्ल भएर निज सन्तोषविरुद्ध नगरपालिकाको न्यायिक समितिमा उजुरी समेत परेको छ ।

परिषद्को ३ वर्षे कार्यकाल सकिएपछि कार्यसमितिका अन्यले अधिवेशन गर्न बारम्बार दबाब दिंदादिंदै पनि अनेक जालसाजी गर्दै हाल एक वर्षभन्दा बढी समयदेखि निज सन्तोष राजवंशी अध्यक्ष पदमै रहेर विभिन्न प्रपञ्च गरिरहेको कार्यसमितिका पदाधिकारी र सदस्यहरूले बताएका छन् ।
सन्तोष राजवंशी नगर परिषद् अध्यक्ष भएदेखि यता भद्रपुर नगरपालिका लगायतका संघ–संस्था र व्यक्तिगत सहयोगस्वरुप प्राप्त रकमको हिसाब हालसम्म पनि कार्यसमितिमा प्रस्तुत नगरेको बहुसंख्यक सदस्यहरूको कथन छ । उपाध्यक्ष आइन्द्र आङ्दम्बे भन्छन् – ‘अध्यक्षको एकतन्त्रीय ढंगको कामप्रति धेरै साथीहरूको असन्तुष्टि छ । अब सार्वजनिक भएको विवाद र उजुरीबारे पनि ऊ एक्लै जवाफदेही हुनुपर्छ ।’


त्यसैगरी, सचिव होमनारायण प्रधानको कथन छ– ‘३ वर्षे कार्यकाल हो, हाल चौथो वर्ष चल्दैछ, तर हालसम्म आय–व्यय देखाएको छैन । अध्यक्षले जबर्जस्ती एकल निर्णय चलाएको छ । हाम्रो लामो दबाबपछि बल्ल अब यो भदौ २८ गते साधारणसभा गर्ने भनेर उसको हस्ताक्षरसहित माइन्यूट गरिएको त छ । तर, अब हेरौं, त्यो पनि के हुन्छ !’


अर्का कार्यसमिति सदस्य वीरबहादुर भुजेलले पनि भनेका छन् – ‘अध्यक्ष सन्तोषले जहिले ढाँट्ने–ठग्ने कुरा काम गर्दै आएको र जति भन्दा पनि नसुध्रिएकाले मैले महोत्सवदेखि नै नगर परिषद् छोडें । अब उसले गरेको गल्तीको सजाय पनि ऊ एक्लैले भोग्नुपर्छ ।’ सो परिषद्मा आबद्ध सुनुवार सेवा समाजकी भद्रपुर नगर अध्यक्ष रिता मुखियाले पनि ‘ब्युटी कन्टेस्टमा अध्यक्ष सन्तोषले ठूलो गद्दारी गरेको’ भन्दै आक्रोश पोखिन् ।


हाल १४ सदस्यीय कार्यसमितिका अर्का एक सदस्य रामजी घलेको प्रतिक्रिया अन्यको भन्दा भिन्न छैन । उनी पनि भन्छन्– ‘संस्थालाई एकलौटी ढंगले चलाउने अध्यक्षको रवैयाप्रति कार्यसमितिका प्रायः सबैको विरोध छ । संस्थालाई प्राप्त आम्दानी र भएको खर्च नै आजसम्म हामी १३ जनाले सुन्न र देख्न पाएका छैनौं ।’


परिषद्मा आबद्ध किरात राई यायोक्खाका भद्रपुर नगर अध्यक्ष डुक्पा राईको पनि असहमति अध्यक्ष सन्तोष राजवंशीको मनपरी विरुद्ध छ । ‘म्याद गुज्रिए पनि साधारणसभा नगरी आफैं अध्यक्ष भइराखेकाले त्यसको वैधानिकता नै संकटमा परेको त छँदैछ । आर्थिक अपारदर्शिता र आदिवासी–जनजातिलाई प्राप्त आर्थिक स्रोतबारे अब सोधखोज गरिनेछ । सम्बन्धित निकायमा उजुरी पनि दिइनेछ ।’ यता, विवाद छरपस्ट भएको प्रकरण ब्युटी कन्टेस्टमा निर्णायक ४ जनामध्ये मुख्य जज फेशन डिजाइनर विवेश राई तथा जजहरू– मिस झापा लीला पाण्डे, इभेन्ट मेनेजर सिर्जना राई र अर्का पुकार राजवंशीको निर्णयमा प्रतियोगी नं– १४ रिना गुरुङलार्ई विजेता चयन गरिएको भए पनि त्यस विपरीत अध्यक्ष सन्तोष राजवंशीले जबरजस्ती कुसुमलता राजवंशीलाई विजेता घोषित गरेका थिए ।


निर्णायकहरूले ‘यस्तो गर्न मिल्दैन, हामी मान्दैनौं । यस्तै आफूखुुशी निर्णय गर्नु थियो भने हामीलाई किन जज बनायौ त ?’ भनेर चर्काचर्की विवाद परेपछि निज सन्तोषले ‘यो कार्यक्रमका लागि उसले (कुसुमलताको परिवारले) स्पोन्सर गरेको छ, अनि अरुलाई कसरी विजेता बनाउन सकिन्छ ? हुँदैन, कुसुमलतालाई नै विजेता घोषणा गर्नुपर्छ । म अध्यक्ष हो, मैले जे भन्छु त्यही हुन्छ, निर्णायकको कुरा म मान्दिन’— भन्दै कुसुमलाई नै विजेता घोषणा गर्न सोही कार्यक्रममा उद्घोषण गरिरहेकी कृति राईलाई चर्को दबाब दिएको उनले सुनाइन् । सो विवादका बीच मुख्य जज विवेश राई र अन्य २ (पुकार बाहेक) निर्णायकको टेबल छाडेर बाहिरिएको प्रत्यक्षदर्शीहरूले समेत बताएका छन् ।


सो प्रतियोगितामा फस्र्ट रनरअप नेहा सुनुवार (भद्रपुर) र सेकेण्ड रनरअप अर्चिता गुरुङ (काँकरभिट्टा) का बारेमा भने विवाद नरहेको बताइएको छ । प्रथम विजेतामा धाँधली गरिएको कोरियोग्राफर सलिना राजवंशी र ब्युटी पेजेन्ट डाइरेक्टर विमल राजवंशीले पनि स्वीकारेका छन् । यो साप्ताहिक ‘समाचार’बाट लिइएको हो ।


यसबीचमा अध्यक्ष सन्तोष राजवंशीको सिलसिलेवार धाँधली र महोत्सवदेखि ब्युटी कन्टेस्टको आयोजनासम्ममा निजले गरेको मनपरीका विरुद्ध प्रतियोगी नं– १४ रिना गुरुङ, उद्घोषिका कृति राई र सलिना राजवंशी, भिडियोग्राफर सञ्जय राजवंशी लगायतले धाँधली भएको र आफूहरूलाई दिने भनिएको पारिश्रमिक समेत नदिएको भनी भद्रपुर नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् ।

प्रकाशित मिति : भाद्र २३, २०७६ सोमबार  १ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]