बैशाख २३, २०८१ आईतबार

कनकाईमा पत्रकार, कृषक र कर्मचारी सम्मानित

कनकाई । झापाको कनकाई नगरपालिकाले एक कार्यक्रमका विच पाँच पत्रकारसहित एक दर्जन बढी कर्मचारी, पूर्व जनप्रतिनिधि एवं कृषकलाई सम्मान गरेको छ ।

नगरपालिकाको आ.व.२०७९÷८० को नीति, बजेट तथा कार्यक्रम सार्वजनिकिकरण तथा सम्मान—पुरस्कार वितरणका अवसरमा पत्रकारसहित एक दर्जन बढी सम्मानित भएका हुन् । यसरी सम्मानित हुने पत्रकारहरुमा रासस मेची प्रमुख अम्बिका भण्डारी, कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष तीर्थराज खरेल, आमसंचारका विनोद पाण्डे, युटुभर दिपेश प्रसाइँ र फेशबुक पेजका मदन संग्रौला रहेका छन् । सम्मानित पत्रकारहरुलाई नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मान ग्रहणपछि सम्मानित पत्रकारका तर्फबाट मन्तव्य राख्दै पत्रकार तीर्थराज खरेलले सम्मानका कारण आँफूमा थप जिम्मेवारीको महसुश भएपनि स्थानीय सरकारका खराब गतिविधिप्रति कलम चलाउँन कुनै गाह्रो नहुने बताए । त्यस्तै सम्मानित पत्रकार भण्डारीले सम्मानबाट थप जिम्मेवारीका साथ खबरदारी गर्ने प्रेरणा जगाएको भन्दै स्थानीय पत्रकार साथै संचार माध्यमका विषयमा नगरपालिकाले नीति निर्माण गरी कार्यान्वय गर्नु पर्ने सुझाव दिएकी छन् ।

नगरपालिकाबाट सम्मानित हुनेहरुमा कनकाईको प्रशासनिक भवन निर्माण अनुगमन समितिका सदस्य तथा निवर्तमान वडा नं. १ का वडाअध्यक्ष रोशनराज पोखरेल, नगरमा सबैभन्दा बढी घरबहाल कर तिर्ने सनराइज बैंक सुरुङ्गा, ब्यक्तिगत तर्फबाट घरनक्सा पास दस्तुर वापत धेरै कर तिर्ने शिशिरकुमार पोखरेल, सम्पत्ती कर तर्फ कृष्ण÷प्रेमकुमार गिरी, कृषितर्फ भिम सुब्वालाई सम्मान गरिएको थियो । त्यस्तै निर्माण उपभोक्ता समितिका तर्फबाट कनकाई ३ स्थित शान्ती मार्ग निर्माण उपभोक्ता समितिलाई सम्मान गरिएको थियो ।

त्यस्तै नगरका कर्मचारीतर्फ नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, कुशल हुमागाई, अनुप रेग्मी, कुलवहादुर गुरुङ, उमानाथ ढकाल, निर्मला बास्कोटा, रुपा बस्नेत, याम अधिकारी, कोपिला अधिकारी, अस्मिता गुरुङ, मनिता राईलगायत नगरका कर्मचारीहरुलाई नगद २० हजारसहित सम्मान गरिएको थियो ।

त्यस्तै स्थानीय तह निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै तत्कालिन कनकाईका निर्वाचन अधिकृत दिपक कोइराला, सहायक अधिकृत विवेक पाठक सहित कर्मचारीहरु भोजराज आचार्य,लक्ष्मीप्रसाद अधिकारी,अनिल कटुवाल, गोपाल अधिकारी,याम अधिकारी, मीरादेवी चर्माकार लगायतलाई प्रशंसा पत्र प्रदान गरियो ।

सम्मानितहरुलाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, निवर्तमान उपमेयर मञ्जु प्रसाईले सम्मान गरेका थिए । स्वागत उपमेयर शिवाकोटीले गरेको कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, सम्मानितका तर्फबाट पत्रकार तीर्थराज खरेल र अम्बिका भण्डारी, पूर्व कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्य तथा लेखा समिति संयोजक भगन टुडु, सुशासन समिति संयोजक साबित्रा वर्देवा, वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाई, निवर्तमान उपमेयर प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा कनकाई राजपत्र जारी गर्दै नगरपालिकाले ‘कनकाई नगरपालिकाको आर्थिक ऐन,२०७९’ सार्वजनिक गरेको छ । नगरपालिका क्षेत्रमा यहि साउन १ गतेदेखि लागुु हुने गरी ऐन सार्वजनिक भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरको नीति, बजेट तथा कार्यक्रमसमेत पारित गरिएको थियो ।

प्रकाशित मिति : असार ३२, २०७९ शनिबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]