श्रावण ३१, २०७९ मंगलबार

झापाका सीए संगठित, अध्यक्षमा अग्रवाल

रोहित काफ्ले
बिर्तामोड । झापाका चार्टर्ड एकाउन्टेन्ट्सहरु (सीए) संगठित भएका छन् । झापाको विर्तामोडमा जिल्लाका चार्टर्ड एकाउन्टेन्टसहरुको आज सम्पन्न भेलाले सात सदस्यीय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापा शाखा गठन गरेको हो ।

झापा विर्तामोड निवासी सुशीलकुमार अग्रवालको नेतृत्वमा संघ गठन भएको छ । समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईं, सचिवमा गंगाराम बस्नेत र कोषध्यक्षमा राहुल साहेवाला रहेका छन् भने भने श्रीप्रसाद निरौला, एञ्जिला मैनाली र समिर संग्रौला सदस्य चयन भएका छन् ।

पेशागत हकहित एवम् लेखा प्रणालीमा भइरहेको प्राविधिक विकासका बारे अन्तरक्रियात्मक ढंगले संस्थागत रुपमा प्रचारात्मक अभियानसमेत सञ्चालन गर्ने गरी झापामा संघ स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।
अग्रवालकै अध्यक्षतामा आयोजित भेलाको उद्घाटन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले गरेका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवाललाई पाण्डेले सपथ खुवाएका थिए भने कार्यसमितिका अन्य पदाधिकारी–सदस्यलाई अध्यक्ष अग्रवालले सपथ गराएका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै प्रमुख अतिथि पाण्डेले चार्डर्ड एकाउन्टेन्टस्हरुको संख्यामा गुणात्मक बृद्धि हुँदै गएकोले देशैभरी यसको सञ्जाल विस्तार गर्न थालिएको बताए । उनले उद्योग–व्यवसाय क्षेत्रमा कर प्रणाली र लेखा प्रणालीको अहम् र महत्वपूर्ण भूमिका रहने भएकोले यी विषयमा स्वयम् उद्योगी–व्यवसायी पनि जानकार हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा संघका केन्द्रीय सुशील घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजाल, मेची भन्सार प्रमुुख केशवराज ओली, संघको प्रदेश नं १ का प्रमुख मनोज अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था विराटनगर शाखाका संयोजक अश्विनी वंशल, नेपाल अडिटर्स एशोसिएशन झापाका अध्यक्ष होमनाथ उप्रेती, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायते शुभकामना मन्तव्य राख्दै संघले कर तथा लेखा प्रणालीको आवश्यकता र महत्वलाई थप उजागर गर्न सक्रिय भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा आर्थिक ऐन २०७९ र नेपाल राष्ट्रबैंकले भरखरै सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा अन्तरक्रियात्मक चर्चा गरिएको थियो । आर्थिक ऐनका सम्बन्धमा अर्थविज्ञ शेषमणि दाहालले प्रस्तुति दिएका थिए भने मौद्रिक नीतिका सम्बन्धमा एक्सेल डेभलपमेन्ट बैकका कार्यकारी प्रमुख इन्द्र कट्टेल र बैंकर्स एशोसिएशन झापाका अध्यक्ष सुवास श्रेष्ठले प्रस्तुति राखेका थिए । यसपटकको मौद्रिक नीति कसिलो भएकोले उद्योगी–व्यवसायीका लागि केही चुनौतीपूर्ण रहेको औंल्याइएको थियो । सहभागी उद्योगी–व्यवसायीले भने यसपटकको मौद्रिक नीतिले उद्योग–व्यवसाय नराम्ररी प्रभावित हुनसक्ने बताएका थिए ।

प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास