बैशाख ६, २०८१ बिहीबार

बिर्तामोडको फुटपाथ हटाउदा सबैको हित हुन्छ : मेयर

बिर्तामोड । झापाको बिर्तामोड फेरि फुटपाथ व्यवस्थापनको विषयले गर्माएको छ । नगरपालिकाले सर्वदलीय र सर्वपक्षीय सहमतिबाट फुटपाथ व्यवस्थापन गर्ने निर्णय गरेपछि यहाँका फुटपाथ व्यवसायीले अड्को थापेका छन् । वर्षौ पुरानो समस्या अहिलेसम्म समाधान हुन नसक्दा फुटपाथ व्यवस्थापन हुन सकेको थिएन ।

सडकको आसपासमा हिडडुल नै अवरोध हुने गरी राखिएका फुटपाथ व्यवसाय हटाउन नगरपालिकाले ७ दिने समय दिएको थियो । सो समय साउन २९ गते सकिएको छ । सोही निर्णयका आधारमा फुटपाथ व्यवसायीलाई फुटपाथबाट हटाउने काम नगर प्रहरीले गरिरहेको छ ।

फुटपाथ व्यवस्थापन गरेर बिर्तामोडलाई स्वच्छ, सुन्दर र सुरक्षित बनाउन नगरपालिकाले थालेको काममा वैद्य माओवादी निकट मजदुर युनियनले रोक्ने प्रयास गरेको छ ।

मंगलवार वैद्य माओवादीको अखिल नेपाल ट्रेड युनियन(क्रान्तिकारी)का मजदुर नेता बालकृष्ण बुढाथोकीको नेतृत्वमा व्यवसायी नारावाजी गर्दै नगरपालिका पुगेका थिए । नगरपालिकामा नारावाजी गर्दै पुगेका फुटपाथ व्यवसायीले व्यवस्थापनको माग गरेका छन् । उनीहरुलाई बुढाथोकीले कुनै व्यवस्थापन नभई हटाउन नपाइने धारणा राखेका थिए ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार न्यौपाने, प्रहरी प्रशासन, नारावाजी सहित पुगेको टोलीका प्रतिनिधि र पत्रकारबीच छलफल भएको थियो । नगरप्रमुख महताराले फुटपाथ व्यवस्थापनमा कसैको अवरोध मान्य नहुने बताएकी छन् । उनले नगर र नगरबासीकै हितका लागि फुटपाथ व्यवस्थापन जरुरी भएको बताइन् । बिर्तामोडमा बढ्दो चहलपहल छ, बजार क्षेत्रलाई व्यवस्थित बनाउनु छ, मेयरले भनिन् – यहाँ अवरोध गर्नु बेठिक हो । तपाईहरु आफ्नो व्यवस्थापन गर्नुहोस् । छलफलका क्रममा उनले बिर्तामोडमा पार्किङ समेतको समस्याका कारण सडक किनार र फुटपाथ अत्यन्तै भीडभाड छ । अब, नगरले सबै खाली गराएर सहज आवागमनको वातावरण बनाउनेछ । त्यसमा सहयोग गर्न उनको आग्रह थियो ।

छलफलमा आक्रोसित रुपमा प्रस्तुत भएका वैद्य माओवादीका बुढाथोकीले जबरजस्ती कागज गर्न दवाव दिएका थिए । उनले छठसम्म नहटाउन भन्दै कागज गर्न माग गरे । सर्वदलीय बैठकको निर्णयलाई लत्याउदै अर्को निर्णय गर्न नसकिने नगरले स्पष्ट बनाएको छ । बुढाथोकीको दवावले कुनै पनि कागज नहुने छलफलमा स्पष्ट पारिएको थियो । आफुहरुलाई सर्वदलीय बैठकमा समेत नबोलाएकोमा आक्रोस पोखे । बुढाथोकीले फुटपाथ व्यवसायीसँग कुनै सम्झौता गरिसकेर आएजसरी प्रस्तुत भएका थिए । उनले जसरी पनि अब ४ चार महिना व्यवसाय गर्न पाउनुपर्ने गरी सम्झौता गर्न दवाव दिएपछि अस्वीकार गरिएको थियो ।

नगरउपप्रमुख संग्रौलाले वर्षौदेखि फुटपाथ खाली गर्न सूचना जारी गरेको स्मरण गराए । उनले वर्षौदेखि ठाउँ खाली गर्न आग्रह गर्दा समेत अटेरी गरेका कारण अब कुनै सम्झौता नगर्ने बताए । संग्रौलाले भने, ‘अब ठाउँ खाली गर्नुहोस् । व्यवस्थित ठाउँ खोजेर व्यापार गर्न तपाईहरुलाई कसैले रोक्नेछैन ।’

छलफलका क्रममा उपप्रमुख संग्रौलाले भाका राख्दै सम्झौता गर्दै आएका कारण अहिलेसम्म खाली नभएको बताएका छन् । विगतमा पनि छठसम्म मात्रै बस्ने भनेका फुटपाथ व्यवसायीले फेरि सोही माग अघि सारेका छन् । नगरले सर्वदलीय र सर्वपक्षीयले गरेको निर्णय कार्यान्वयन हुने अवगत गराइएको छ । फुटपाथका कारण भएको समस्या समेत स्मरण गराएका संग्रौलाले वैधानिक ढंगबाट व्यापार गर्नेहरु मारमा परेको जानकारी दिए । फुटपाथका कारण हिडडुलसँगै पार्किङ समस्या भएको र घरधनीहरुले समेत फुटपाथ हटाइदिन आग्रह गरेको उनको भनाई थियो । बिर्तामोड हिजोजस्तो छैन, बढ्दो शहरीकरणका कारण फुटपाथको व्यवस्थापनलाई रोक्न नसकिने उनको भनाई थियो ।

बिर्तामोडमा फुटपाथका कारण कृषिथोक बजार क्षेत्र, हिकोला रोड, शनिश्चरे–कृषिथोक रोड, भद्रपुर लाइन, मुक्तिचोक क्षेत्र अत्यन्तै अव्यवस्थित भएको छ ।

बिर्तामोडका धेरै जसो फुटपाथ हटाउन थालिएको छ । नहटाए नगरप्रहरीले सामान सहित उठाएर लैजाने र कानुनी कारवाही अघि बढाउने जनाएको छ । वैद्य माओवादीमा आवद्ध व्यक्तिहरुले फुटपाथकै व्यापार गर्न व्यवासायीलाई उचालेका छन् ।
फुटपाथका व्यवसायीलाई कृषिथोकभित्र व्यवस्थापन गर्न सकिने भए पनि उनीहरु त्यहाँ नजाने जोडवल गर्दै आएका छन् । बिर्तामोडको फुटपाथ व्यवस्थापन गर्ने सन्दर्भमा यसअघि नै सबैले सहमति जनाइसकेका छन् ।

प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]