चैत्र १६, २०८० शुक्रबार

झापामा लागुऔषधको कुलत छुटाउने बढे

चन्द्रकला भण्डारी

झापा – भद्रपुरस्ति मेची प्रादेशिक अस्पतालमा सञ्चालित मौखिक प्रतिस्थापन उपचार केन्द्रमा धाएर लागुऔषधको लत छुटाउन चाहने बढेका छन् । विसं २०७२ कात्तिकदेखि अस्पतालभित्रै सञ्चालन भइरहेको उक्त केन्द्रमा सात वर्षको अवधिमा दुव्र्यसनको लत छुटाउन चाहने एक हजारभन्दा बढी लागुऔषधका प्रयोगकर्ताले सेवा लिएको केन्द्रकी सहजकर्ता एवं स्टाफ नर्स दीपा निरौलाले बताउनुभयो ।

उक्त केन्द्रमा लागुऔषध प्रयोगकर्ताको लत घटाउने उद्देश्यले चिकित्सक र नर्सको प्रत्यक्ष निगरानीमा नियमितरुपमा मात्रा मिलाएर मेथाडोल र ब्रुप्रिनोर्फिन नामका औषधि सेवन गराउने व्यवस्था मिलाइएको हुन्छ । सुरुका वर्षमा थोरैले र हालैका वर्षमा धेरैले उपचार सेवा लिइरहेको पाइएको छ । लागुऔषध प्रयोगकर्ताले सिरिञ्ज असुरक्षितरुपले साटफेर गर्दा एचआइभी र हेपाटाइटिसजस्ता सङ्क्रामक रोग फैलिने भएकाले लागुऔषधको दलदलबाट जोगाएर स्वस्थ जीवनमा फर्काउन नेपाल सरकारले विसं २०६४ देखि नेपालका मेथाडोल मेन्टेनेन्स ट्रिटमेन्ट कार्यक्रममार्फत कुलतबाट मुक्ति दिलाउन यस्तो अभियान देशव्यापीरुपमा सुरु गरेको थियो । त्यही कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारले विसं २०७० मा लागुऔषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका जारी गरेबमोजिम मेची अस्पतालमा उपचार केन्द्रले सेवा दिइरहेको हो ।

उक्त अस्पतालअन्तर्गत रहेको यस केन्द्रमा हाल ८५ कडा खाले लागुऔषधको सेवनकर्ताले नियमित उपस्थित भएर औषधि सेवन गरिरहेका छन् । “हामीसँग सम्पर्कमा आउनेलाई चिकित्सकको निगरानी र सल्लाहमा मेथाडोल झोल र ब्रुप्रिनोर्फिन ट्याब्लेट खुवाउने गर्छौं”, स्टाफ नर्स निरौलाले उपचार सेवाबारे जानकारी दिँदै भन्नुभयो, “कम्तीमा छ महिना र बढीमा एक वर्षसम्म हामीले दिएको औषधि नियमित सेवन गरेपछि उहाँहरु सामान्य जीवनमा फर्किनेगरी दुव्र्यसनमुक्त बन्नुहुन्छ ।” उपचारका लागि धेरैजसो व्यक्ति झापा र इलामबाट समेत आउने गरेका छन् । अस्पतालले उपलब्ध गराएको कोठामा बसेर एक एमबिबिएस चिकित्सक, दुई स्टाफ नर्स, एक लजिस्टिक स्टाफ र एक सुरक्षा गार्डले सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

लागुऔषधको दुव्र्यसनबाट सुध्रिन्छु भन्ने सोच बोकेर कतिपय युवा आफैँ केन्द्रमा आउने गरेका छन् भने अभिभावकले कुलतबाट छुटाउन भन्दै आफ्ना छोराछोरीलाई सम्पर्कमा ल्याउने पनि गरेका छन् । “हामीकहाँ पतिपत्नी नै कुलतबाट छुट्न चाहन्छौँ भन्दै आएका छन्, उनीहरुलाई नियमित औषधि खुवाइरहेका छौँ”, स्टाफ नर्स निरौलाले भन्नुभयो, “पहिले पहिले बाहिर महँगो लागुऔषध किन्न नसकेर सित्तैमा खान पाइने भन्दै कतिपय प्रयोगकर्ता आउने गर्थे । त्यस्ता व्यक्ति केही समयपछि फेरि पैसा जम्मा गरेर बाहिरै खान थाल्छन् र यहाँ आउँदैनन् ।”

उपचार केन्द्रमा लागुऔषध सेवनको कुलतमा परेकालाई लत छुटाउन लागुऔषधकै जस्तो गुण भएको औषधिको न्यून मात्रा खुवाउने गरिन्छ । दिनदिनै मात्रा घटाएर खुवाउँदा प्रयोगकर्तामा दुव्र्यसनको तलतल छुट्ने विधि यहाँ प्रयोग गरिँदै आएको छ ।प्रयोगकर्तालाई मनोसामाजिक परामर्शसमेत दिइने भएको हुँदा अभिभावक कुलतमा फसेका आफ्ना छोराछोरीलाई यहाँ उपचारका लागि ल्याउने गर्छन् । केन्द्रले प्रदान गर्ने सबै सेवा निःशुल्क रहेको छ ।

दुई वर्षअघि लत छाडेर सामान्य जीवनमा फर्किसकेका विर्तामोड–४ का २२ वर्षीय सार्थक शर्मा ९नाम परिवर्तन० यसै साता ‘म बर्बाद भएँ, सुध्रिन चाहन्छु’ भन्दै उपचार कक्षमै फेरि आइपुगेको स्टाफ नर्स निरौलाले बताउनुभयो ।
“ती युवकले अहिले नियमितरुपमा औषधि खाइरहेका छन्। उनीजस्तै समस्या भएका अन्य युवा पनि रुँदै यहाँ आउँछन्”, उहाँले भन्नुभयो, “हामी परामर्श र औषधि दिन्छौँ र अभिभावक लिएर आउन भन्छौँ । अभिभावक नभएका पनि थुप्रैले उपचार सेवा लिइरहेका छन् । औषधिका रुपमा खुवाउने गरिएको मेथाडोल झोल र ब्रुप्रिनोर्फिन ट्याब्लेट पनि एक प्रकारको कडा लागुऔषध नै मानिन्छ । नखाई नसक्ने अवस्थामा पुगेकालाई खाने मात्रा कम गर्दै लैजाने विधिमार्फत संसारभर नै लागुऔषधको लत छुटाउने गरिन्छ ।

उपचार केन्द्रमा परामर्श कक्ष, जाँच कक्ष र विश्राम कक्ष हुन्छ । मेथाडोल र ब्रुप्रिनोर्फिन औषधि खाएर झुम्म भएकालाई सामान्य अवस्थामा नआउञ्जेल त्यही विश्राम कक्षमा रहने व्यवस्था मिलाइएको हुन्छ । भर्खरै केन्द्रको सम्पर्कमा आएका कतिपय औषधि प्रयोगकर्ता झगडालु स्वभावका हुने भएकाले सुरक्षागार्डले उनीहरुलाई नियन्त्रणमा राख्ने गर्छन् । किरिया बारिरहेको, अस्पतालमा उपचारका लागि भर्ना भएको र थुना परेको अवस्थामा बाहेक मेथाडोल र ब्रुप्रिनोर्फिन औषधि अस्पतालबाट बाहिर लैजान दिइँदैन ।

लागुऔषधको लत छुटाउन प्रभावकारी बनिरहेको यो कार्यक्रममा नेपाल सरकारको गृहमन्त्रालय र विदेशी दातृ संस्था सेभ द चिल्ड्रेनको सहकार्य रहेको छ । पर्याप्त प्रचारप्रसारको कमी, अभिभावकको लापरवाही र सामाजिक पुनःस्थापनाको वातावरण नभएका कारण सुध्रिसकेका धेरै व्यक्ति फेरि लागुऔषधको दुव्र्यसनमा फस्ने गरेका छन् । समाजमा भएका प्रयोगकर्ताको ज्यादै सानो सङ्ख्यामात्र उपचार केन्द्रमा आउने गरेको पाइन्छ ।

सरकारको धेरै लगानी र कर्मचारीको धेरै मेहनत हुँदाहुँदै पनि पूर्णरुपमा सुध्रिनेहरुको सङ्ख्या भने निराशाजनक छ । सहजकर्ता निरौलाका अनुसार हालसम्म यस केन्द्रबाट १५ जना मात्र पूर्णरुपमा सुध्रिएर सामान्य जीवनमा फर्किएका छन् । लागुऔषधका प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढिरहेको, यसबाट सामाजिक समस्या थपिएको र कैयन परिवार बर्बाद भइरहेका अवस्थामा राज्यको शक्ति, स्रोत र अधिकार बोकेको स्थानीय तहको सरकारले भने यस विषयमा कुनै लगानी र चासो नै देखाएको पाइँदैन ।

प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार  ४ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]