‘कनकाईमा माओवादी अब बत्ती बालेर खोज्नुपर्छ’
कनकाई । झापाको कनकाईमा नेकपा माओवादीको सिङ्गो वडा कमिटीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको छ ।
नेकपा माओवादी कनकाई-१ को वडा कमिटीका अध्यक्ष दलवहादुर विश्वकर्मा, सचिव धर्मराज घिमिरे सहित वटाकमिटीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको हो । पार्टीभित्र कार्यकर्ता बस्न नसकेको भन्दै माओवादी वडा कमिटीका अध्यक्ष विश्वकर्माले अबका केही दिनमै कनकाईमा माओवादी कार्यकर्तालाई बत्ती बालेर खोज्ने समय आउने बताए ।

माओवदी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुमा पूर्व जिल्ला कमिटी सदस्य तपनकुमार मण्डल, नगर कमिटी सदस्य कृष्णप्रसाद सिटौला र देवेन्द्र गहतराज, वडाकमिटी सदस्य खेमवीर लकान्द्री र पहलमान विश्वकर्मा, अखिल नेपाल किसान संघ नगर सचिव सीता भट्टराई घिमिरे, क्रान्तिकारी माओवादीका जिल्ला कमिटी सदस्य भक्त विश्वास, स्वतन्त्रबाट पुष्पा भट्टराई लगायत विभिन्न जिम्मेवारीमा रहेका माओवादी कार्यकर्ताहरुले सामुहिक राजीनामा दिएका हुन् ।
पार्टी परित्यागपछि प्रेस विज्ञप्ती सार्वजनिक गर्दै माओवादी कनकाई १ का वडाअध्यक्षको जिम्मेवारीमा रहेका विश्वकर्माले पछिल्लो समय पार्टी अप्राकृतिक गठबन्धनमा लागेर अराजक बनेपछि आफूहरुले पार्टी त्याग्न बाध्य भएको बताए । धेरै लामो समय माओवादी आन्दोलनमा बिताएका विश्वकर्माले माओवादी पार्टी स्वार्थको राजनीति तर्फ लिप्त भएको र चरम गुटबन्दीमा लागेपछि त्यस्तो गतिविधि आफूहरुलाई मान्य नभएको भन्दै पार्टी परित्याग गरेको जनाएका छन् । पार्टीभित्र आत्माकेन्द्रित व्यक्तिवाद, त्याग तपस्या र बलिदानीप्रतिको उपेक्षा, स्वेच्छाचारिता, अहंकारवादमा लिप्त हुँदै हरेक आदर्शलाई सौदाबाजीको रुपमा उपयोग हुनु साथै सिमित व्यक्ति कमाउँ धन्दामा लिप्त भएर ईमान्दार पार्टी कार्यकर्ताप्रति उपेक्षा भएका कारण एक मात्र विकल्प विद्रोह बाँकी रहेपछि ईमान्दराीताका साथ पार्टी परित्याग गरेको विज्ञप्ति मार्फत जनाइएको छ ।
नवप्रवेशीलाई नेकपा एमाले जिल्ला कमिटी झापाका अध्यक्ष दिपक कार्की, केन्द्रिय सल्लाहकार परिसद सदस्य तारा समयाङ्या र वालकृष्ण मैनाली, प्रदेश कमिटी सदस्य टंकवहादुर कार्की साथै प्रतिनिधि सभा सदस्य एवम् एमाले प्रदेश कमिटी सदस्य एल.पी.सावा लिम्बू, क्षेत्रीय संयोजक खेमनाथ मिश्र, क्षेत्र नं.४ (ख) का समन्वय कमिटी संयोजक गोकर्ण ओझा, तुलाराम बस्नेत लगायतले पार्टीमा स्वागत गरेका छन् ।