बैशाख २७, २०८२ शनिबार

केही यात्रु झरेर नाराबाजी गरेकाले पनि उडानमा ढिलाइ भयो : विमानस्थल प्रमुख

काठमाण्डौ– नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौका लागि शनिबार साँझ दुई ओटा भीआईपी उडान थियो ।

????????????????????????????????????????????????????????????

साँझ ६ः३० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र त्यसपछि पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाण्डौ उड्ने तय भएको थियो । मन्त्री भट्टराई बुद्ध एयरबाट र कांग्रेस सभापति देउवा श्री एयरको जहाजबाट काठमाण्डौका लागि उड्ने भएपछि विमानस्थल पनि त्यसैअनुसारको तयारीमा लागेको थियो । 

विमानस्थल प्रमुख प्रेमनाथ ठाकुर दुवै भीआईपीको उडान सहज बनाउन आफैं खटिनुभएको थियो ।  

बुद्ध एयरको विमान अवतरणपछि यात्रु ओराल्ने तथा लगेजहरु झार्न तथा फेरि यात्रु र लगेज लोड गर्न झण्डै ३५ मिनेट लागेको ठाकुर बताउनुहुन्छ ।  

त्यसबीचमा आफूहरु कांग्रेस सभापति देउवाको उडान सहज बनाउन श्री एयरको उडान समय मिलाउँदै गर्दा बुद्ध एयरमा चढिसकेका ५/१० जना यात्रु ओर्लेर एकाएक नाराबाजी गर्न लागेको र त्यहाँ आफैँ गएर सम्झाउँदा पनि जथाभावी होहल्ला गरेको उहाँले बताउनुभयो । 

बेलुकी ६ बजेर ११ मा अवतरण गरेको जहाजबाट यात्रु झार्ने, फेरि चढाउने अनि त्यही बीचमा तेल हाल्ने र सरसफाई गर्ने जस्ता काम ३५ मिनेटमै सकेको विमानस्थल प्रमुख ठाकुर बताउनुहुन्छ ।  

मन्त्री भट्टराईको धनगढीबाटै उडानको टिकट रहेको भए पनि त्यहाँ पुगेका बेला नेपालगञ्ज विमानस्थलको पनि अवलोकन गर्ने भन्ने कुरा भएपछि उहाँ नेपालगञ्ज हुँदै काठमाण्डौ फर्कने समय मिलाइएको पनि उहाँले बताउनुभयो ।  

तर कार्यक्रम सकेर फर्कँदा ढिला भएको र उहाँको स्वकीय सचिवले फोन गरेर केही ढिला हुन्छ भनेपछि आफैँले जहाजका क्याप्टेनलाई अनुरोध गरेर केही समय माग गरेको पनि प्रमुख ठाकुरले उज्यालोलाई बताउनुभयो ।  

मन्त्रीका स्वकीय सचिवले १०/१५ मिनेट कुर्नुहोस्, त्योभन्दा बढी ढिला हुने भयो भने हामी यतै बस्छौँ भनेर भन्नुभएकाले आफूहरुले मन्त्रीलाई १५ मिनेट मात्रै कुरेको उहाँले बताउनुभयो ।  

‘बेलुकी ६ बजेर ४८ मिनेटमा सबै यात्रुहरु जहाज चढिसकेका थिए । त्यही बेला मन्त्री पनि विमानस्थल छिर्नुभएको र विमानस्थलको सबै प्रक्रिया सक्दा उहाँ ७ बजे जहाज चढिसक्नुभएको थियो’, विमानस्थल प्रमुख ठाकुरले भन्नुभयो ।  

मन्त्री भट्टराई विमानस्थलको प्रक्रिया सकेपछि सरासर जहाजमा चढ्नुभएको र जहाजमा चढ्दा केही यात्रुले अभद्र व्यवहार देखाएको पनि ठाकुरले बताउनुभयो । जहाजमा बसिसकेका ५/१० जना यात्रु फेरि झरेर नाराबाजी गर्दा उडानमा झनै ढिलाइ भएको उहाँको भनाइ छ । 

जहाज अवतरण भएको ५५ मिनेटमै उडान गरिएको भन्दै ठाकुरले सामान्य प्रक्रिया पूरा गरेर जाँदा पनि कम्तीमा ३५ मिनेट समय लाग्ने बताउनुभयो । झण्डै २० मिनेट जति ढिलाइ भएको देखिएको भन्दै यो सबै मन्त्रीका कारण मात्रै नभइ जहाजबाट झरेर नाराबाजी गर्नेहरुका कारण पनि उडान ढिलाइ भएको उहाँ बताउनुहुन्छ । 

‘हामीले जहाजबाट उत्रेर नाराबाजी गर्नेलाई संयमता अपनाउँदै सम्झाउने प्रयास गरेको भए पनि उनीहरु अटेर गर्दै होहल्ला गर्दा उडानमा समस्या आएको हो’ उहाँले भन्नुभयो । 

प्रमुख ठाकुरले भिडियोमा जहाजभित्रै पनि यात्रुहरुले मन्त्रीविरुद्ध हुलहुज्जत गरिएको देखिएको भन्दै यो अन्तर्राष्ट्रिय उड्डयन मान्यता विपरीत भएको बताउनुभयो । 

जहाजभित्र कसैले अभद्र व्यवहार गरेमा उतार्न सकिने नियम रहे पनि आफूहरु संयम भएर उडानको व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।  

जहाजभित्र जथाभावी व्यवहार गर्ने, हुलहुज्जत गर्न खोज्नेलाई ‘ब्ल्याक लिस्टेट’ गरेका थुप्रै उदाहरण छन् । नेपालमा भने यो पहिलो पटक भएको छ । 

संसारका विभिन्न देशमा सम्बन्धित कम्पनीले उडाउन सक्दिन भनेर ब्ल्याक लिस्टेड गरेको उदाहरण रहेको भन्दै उहाँले भन्नुभयो, ‘यसमा भने हामीले संयमता अपनाएका हौँ ।’ 

मन्त्रीले अनुरोध गर्दा मात्रै उडान समय ढिला हुन्छ कि अरु यात्रुले गर्दा पनि यसरी नै ढिला गरिन्छ भन्ने प्रश्नमा विमानस्थल प्रमुख ठाकुरले साधारण अवस्थामा ढिलाइ गर्न नसकिने भए पनि अवस्था हेरेर समय सार्न सकिने बताउनुभयो । 

प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार  ४ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]