बैशाख १४, २०८१ शुक्रबार

पाथीभरा टोलको एकता लोभलाग्दो : उत्कृष्ट बुहारीदेखि घर सफा राख्नेसम्मलाई सम्मान

बिर्तामोड । बिर्तामोडका पूर्व नगर प्रमुख धु्रव कुमार शिवाकोटीले जुनसुकै कार्यक्रममा पनि पाथीभरा टोल सुधार संस्थाको प्रशंसा सुनाउदै आएका छन् । शनिवार पनि सोही टोलको प्रशंसा गरे ।

नगरभरीको टोल सुधार संस्थामध्ये सबैभन्दा सफा टोलका रुपमा चिनिएको पाथीभरा टोलले शनिवार १५ औं साधारणसभा र आठौं विशेष अधिवेशन गरेको छ । सो कार्यक्रममा शिवाकोटीले सबैभन्दा उत्कृष्ट टोलको रुपमा पहिचान कायम राख्न आग्रह समेत गरे । नगरभरीका टोलमध्ये पाथीभरा टोल प्रशंसा गर्न योग्य पनि छ । किनभने, त्यहाँ समुदायको एकता राम्रो छ ।
पूर्व नगरप्रमुख शिवाकोटीले भनेजस्तै टोलको गतिविधि पनि रचनात्मक रहेको छ । साधारणसभामा टोल सुधार संस्थाले गरेका सम्मान हेर्दा वास्तवमै नगरकै उत्कृष्टा टोल रहेको स्पष्ट भएको छ । अन्य, साधारणसभामा भाषण लर्को हुने गर्छ, तर पाथीभराको कार्यक्रममा नयाँ–नयाँ शिर्षकमा सम्मान गरेको पाइयो । टोलभरी बस्ने आजीवन सदस्य १२२ घरधुरीको एकता लोभलाग्दो रहेछ । टोलभित्रको एकताले नै संस्थालाई नगरभरी स्थापित गरेको स्थानीयको बुझाई छ ।

समाजसेवी स्व.गिरीराज कुमारी प्रसाईले दान वापत उपलब्ध गराएको १३ धुर जमिनमा टोलबासीले ज्येष्ठ नागरिक सभा हल निर्माण गरेका छन् । सो हल निर्माणमा सहयोग गर्ने दाताहरुलाई साधारणसभाको अवसरमा सम्मान गरिएको छ ।
टोल विकास संस्थाले ज्येष्ठ नागरिक आमा सम्मान गरेको छ । सम्मानित हुनेमा रुकमिणा चुडाल रहेकी छन् ।
सोही अवसरमा टोलभित्रबाट एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र र छात्रालाई समेत पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा गेविन चिमरिया, आदित्य मगर,उषा श्रेष्ठ, जेनिशा कडरिया, निकेश ओली रहेका छन् । उनीहरु तिलरुपा स्मृति पुरस्कार, सिके स्मृति पुरस्कार, चतुर्भुज भद्रशिला पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

यसैगरी, ज्येष्ठ सन्तान सम्मानबाट गुञ्जन थपलिया सम्मानित भएका छन् । उनी देवेन्द्र थपलिया र बुनु थपलियाका सन्तान हुन् । टोलमा हरेक वर्ष पहिले जन्मिने सन्तानलाई सो सम्मान प्रदान गर्ने गरिएको छ । हरेक वर्ष प्रदान गरिने सो सम्मान पाथीभरा टोल विकास संस्थाका सल्लाहकार सदस्य ध्रुवकुमार शिवोकाटीले प्रदान गर्दै आएका छन् । नगर रु ५ हजारसहित ज्येष्ठ सन्तान सम्मान प्रदान गरिदै आएको संस्थाले जनाएको छ ।

साधारणसभामा सासु–ससुरालाई राम्रो हेरचाह गर्ने गिता कडरियालाई उत्कृष्ट बुहारीको रुपमा सम्मान गरिएको छ । संस्थाले बृद्धबृद्धालाई गरिएको हेरचाह र व्यवहारलाई विश्लेषण गरेर उत्कृष्ट बुहारी छनौट गर्दै आएको छ ।

यस्तै, टोलभरीमा सबैभन्दा राम्रो सरसफाई गरेकोमा सिता तिम्सिनालाई उत्कृष्ट सरसफाई सम्मान प्रदान गरिएको छ । टोलमध्येको सबैभन्दा सफा घर बनाए बापत उनलाई सम्मान गरिएको हो ।

टोललाई स्वच्छ, सुन्दर र सुरक्षित बनाउने अभियानमा रहेको टोल सुधार संस्थाले ज्येष्ठ नागरिकको सम्मानलाई मुख्य उद्देश्य बनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरको सबै टोल विकास संस्थाहरु जागरुप हुनुपर्ने बताइन् । उनले अन्य टोलहरुभन्दा पाथीभरा विभिन्न हिसावले अगाडि रहेको जानकारी दिइन् । उनले टोल विकास संस्थाहरुको सहयोगमा मात्रै नगरपालिकाले अघि सारेका योजना सफल हुन सक्ने बताइन् । नगरको चुनौतिको रुपमा रहेको फोहोरमैला व्यवस्थापनमा टोल विकास संस्थाहरुको रचनात्मक सहयोग आवश्यक भएको धारणा राखेकी छन् ।
संस्थाका कार्यबाहक अध्यक्ष तेज प्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तोयानाथ दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्षमा शिवाकोटी
साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । कार्यबहाक अध्यक्ष तेजप्रसाद शिवाकोटीलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको सचिव छविरमण बरालले जानकारी दिए ।

संस्थाको उपाध्यक्षमा राजेश प्रसाई, सचिव छविरमण बराल, सहसचिव कृष्ण अधिकारी र कोषाध्यक्षमा तोयानाथ दाहाल चयन भएका छन् । सदस्यहरुमा कृष्ण प्रसाई, सिता तिम्सिना, महेन्द्र अधिकारी, संगिता चिमरिया, गंगाराज प्रसाई र लक्ष्मी आचार्य चयन भएका छन् ।

यस्तै, कमला प्रसाईको अध्यक्षतामा महिला समिति गठन गरिएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]