चैत्र १५, २०८० बिहीबार

अर्जुनधारामा रेविजविरुद्धको खोप सञ्चालन

झापा । सामुदायिक कुकुरको सङ्ख्या न्यूनीकरण गर्दै लैजाने योजनाअनुसार अर्जुनधारा नगरपालिकाले यस वर्ष दुई सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । बन्ध्याकरण गरिएका कुकुरमा अधिकांश हुर्किदो छाउरा छन् । नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले विगत तीन वर्षदेखि नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चलाउँदै आएको छ ।

कुकुरलाई रेविज रोगविरुद्ध खोपसमेत लगाइने गरिएको छ । पोखराको हिमालयन एनिमल रेस्क्यू ट्रस्ट (हार्ट) नेपालसँगको सहकार्यमा बन्ध्याकरण र खोप कार्यक्रम एकसाथ सञ्चालन भइरहेको शाखाका प्रमुख पदमलाल राईले बताउनुभयो । सोमबार सुरु भएको अभियान मङ्गलवार सम्पन्न भएको थियो । गाउँ–सहरमा जताततै सामुदायिक कुकुरको सङ्ख्या बढ्दै गएको र घरपालुवा कुकुरको रेखदेख घरधनीले गरे तापनि सामुदायिक कुकुर नियन्त्रण बाहिर रहने गरेका कारण बन्ध्याकरण गर्नुपरेको नगरपालिकाले जनाएको छ । कुकुरले टोकेमा मानिस र पशुमा रेबिज रोग सङ्क्रमण हुने त्रास बढ्दो छ ।

सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण उपयुक्त उपाय हुने भएकाले अभियान चलाइएको उहाँले बताउनुभयो । शिविरमा पशु चिकित्सक सोनिया गुरुङ, सुदिप्पी पनेरु र हिमांशु पोखरेलको नेतृत्वमा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइने कार्य भएको थियो । बन्ध्याकरणले कुकुरको सङ्ख्या घटाउन सहयोग पुग्ने र खोपबाट रेविज रोग लाग्नै नपाउने अपेक्षा गरिएको छ ।

गत वर्ष अर्जुनधारा नगरपालिकामा रेविजकै कारण एक व्यक्तिको मृत्यु भएको थियो भने गाईवस्तुसमेत मरेका थिए । प्राविधिक सहयोग पु¥याउँदै आएको हार्टले झापाको अर्जुनधारासहित विर्तामोड र भद्रपुर नगरपालिकासँगको सहकार्यमा यस वर्ष छ सयभन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य लिएको बताइएको छ । रासस

प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]