जेष्ठ ४, २०८१ शुक्रबार

शिक्षा बहुउद्देश्यीयको दुवागढी सेवा केन्द्रको प्रतिनिधि छनोट

बिर्तामोड । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको दुवागढी सेवा केन्द्रको प्रतिनिधि छनोट भएको छ ।

संस्थाको १०औं साधारण सभाका लागि आज धाइनजस्थित रामजानकी मन्दिरको सभाहलमा आयोजित प्रतिनिधि छनोट कार्यक्रममार्फत् प्रतिनिधि छनोट भएका हुन् । कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले सहकारी मोडलबाट शिक्षा क्षेत्रमा सहकारीले कदम चालेकोमा खुसी ब्यक्त गर्नुभयो ।

हरेक मानिसले बचत गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले बचतकै माध्यमबाट आगामी भविष्य सहज बनाउन सकिने बताउनुभयो । बचत र आय आर्जन हुने खालका गतिविधिमा सबै नागरिक लाग्न सके मात्र आत्मनिर्भर हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा संस्थाका सल्लहकार सदस्य ओमप्रकाश खरेलले सहकारीले सदस्यको मन जित्न सफल भएको बताउँदै सदस्यहरुलाई साधारण सभाकै समयमा लाभांश दिन सुझावसमेत दिनुभयो । त्यस्तै, अर्का सल्लाहकार सदस्य घनश्याम मिश्रले साधारण सभा सभ्य एवम् भव्य रुपले सफलताकोे कामना गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय सरकारले शिक्षा ऐन बनाएर सहकारी विद्यालय सञ्चालनको सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थाले सदस्यलाई आर्थिक वर्ष २०७८÷०७९ मा १३ लाख ६८ हजार बढी ब्याज छूट दिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै, बर्सेनि कोष बृद्धि हुँदै गएको र हाल कोषमा १ करोड ७७ लाख ७७ हजार ५७० रुपैयाँ रहेकाले सहकारी अझ सबल बन्दै गएको कार्यक्रममा जानकारी दिइयो । सहकारीमा गत असार मसान्तसम्म ३ करोड ५१ लाख १९ हजार २०० रुपैयाँ शेयर पुँजी रहेको छ ।

कार्यक्रममा लेखा समिति सदस्य यामनाथ खरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगतका वर्षभन्दा संस्था अझ मजबुद बन्दै गएको उल्लेख गर्नुभयो । संस्थामा बचत संकलन बढ्दै गएको उहाँले बताउनुभयो । गत असार मसान्तसम्म संस्थाले १६ करोड ६९ लाख बढी बचत संकलन गर्न सफल भएको उहाँले बताउनुभयो ।

यस्तै, ऋण उपसमिति सदस्य चीजा राईले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाले ५६५ महिला र ४९७ पुरुष गरी कूल १ हजार ६२ जना सदस्यलाई ऋण लगानी गरेको उहाँले जानकारी दिनुभयो । संस्थाले गत असार मसान्तसम्म २४ करोड ९५ लाख बढी कर्जा लगानी गरेको छ ।

कार्यक्रममा संस्थाकी सहल्लाहकार समिति संयोजक सावित्रीकुमारी लिम्बू, लेखा समिति संयोजक युवराज निरौला, सञ्चालक समिति सदस्य उमा राई, यज्ञप्रसाद मिश्र, लक्ष्मीप्रसाद घिमिरे, दुवागढी सेवा केन्द्र प्रमुख कोपिला ढुंगेल, संस्थाका कर्मचारी लगायतको उपस्थिति थियो ।

संस्थाको अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दुवागढी सेवा केन्द्रका कर्मचारी प्रेमप्रसाद मिश्र र सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गर्नुभएको थियो ।

मुख्य कार्यालयसहित छ वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको सहकारीमा ४ हजार ६१३ जना शेयर सदस्य रहेको संस्थाका व्यवस्थापक दीपेश धौरालीले जानकारी दिनुभयो ।

१० औं साधारण सभा अन्तरगत संस्थाको भोलि (शनिबार) चैतुबारी सेवा केन्द्रको प्रतिनिधि छनोट हुनेछ भने अन्तिम माइन्युट प्रमाणिकरण भेला असोज ११ गते बिर्तामोडको अग्रसेन भवनमा हुनेछ ।

प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]