बचत गर्ने बानी बसाले बुढेसकालमा पेनसन : नेफस्कुन सञ्चालक अधिकारी
मेचीनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन) का सञ्चालक घनश्याम अधिकारीले मासिक रुपमा वचत गर्ने बानी बसाले बुढेसकालमा पेनसनको काम गर्ने बताएका छन् ।
शनिबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न पूर्वीद्वार वचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो कुरा बताएका हुन् ।
‘मासिकरुपमा वचत गर्ने बानी बसाले ३० वर्षको युवा ७० वर्ष पुग्दा पनि लौरो टेक्दै वृद्वाश्रम जानु पर्दैन’, नेफस्कुनका प्रदेश नम्बर १ का अध्यक्ष समेत रहेका अधिकारीले भने–‘बचतले जिन्दगीलाई धेरै हदसम्म सहज बनाउँछ । यो बचतले पछि पेनसनकै रुपमा काम गर्छ ।’

उनले सहकारी समुदायमा आधारित संस्था भएकोले नीति, विधि र प्रविधिलाई आत्मसाथ गरी अघि बढने संस्था कहिले पनि दुर्घटनामा नपर्ने बताए । नेपालको आर्थिक विकासमा सहकारीले पिलरको रुपमा काम गरिरहेको उनको दावी छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैँक मेचीनगर शाखाकी प्रमुख मुना घिमिरे, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव रेग्मी, भानु बहुमुखी सहकारी संस्थाका उपाध्यक्ष शंकर श्रेष्ठ, संस्थाका मेचीनगर बाल क्लबका अध्यक्ष आश्रय अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत तथा बाल बचत र ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।
उत्कृट कर्मचारीका रुपमा बजार प्रतिनिधि कमला ओझा, उत्कृष्ट ऋणी सदस्यहरु भुपाल राजबंशी र तारा विश्वाकर्मा, उत्कृष्ट बाल बचततर्फ प्रश्ना खड्का, नियमित बचततर्फ नन्दिका राजबंशी र लालबहादुर भुजेल र ज्येष्ठ नागरिकतर्फ इन्द्रबहादुर थापालाई नगदसहित सम्मान गरिएको थियो ।
५ हजार ५ सय ८७ जना शेयर सदस्य रहेको संस्थाको कुल वासलात १८ करोड ५६ लाख, शेयर पुँजी २ करोड ३५ लाख ६६ हजार, ऋण लगानी १३ करोड ३८ लाख ४८ हजार र बचत तथा निक्षेप १४ करोड ४२ लाख रहेको व्यवस्थापक प्रलाद खड्काले जानकारी दिए ।
संस्थाको मेचीनगर नगरपालिका भरी कार्यक्षेत्र बनाई धुलाबारी स्थित मुख्य कार्यालय सहित ८ वटा सेवा कार्यालयहरु छन् । संस्थाको काँकरभिट्टा, गोमनसरी, ईटाभट्टा, भृकुटी, धाइजन, ज्यामिरगढी र खुट्टीडाँगी सेवा कार्यालय सञ्चालनमा छन् । यहि असोज ३ गते देखि ६ गतेसम्म सेवा कार्यालयहरुको इकाई साधारण सभा गरि ८ गते शनिबार माइन्युट प्रमाणित साधारणसभा सम्पन्न भइसकेको छ ।
साधारण सभाको बन्दसत्रमा सदस्यले न्युनतम ५ हजार शेयर पुँजी पुर्याउन प्रेरित गर्ने, मासिक ३ सय रुपैयाँ अनिवार्य बचत गर्ने र सबै जना शेयर सदस्य, सदस्य हितकोषमा समावेश हुने गरी आगामी नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिएको छ । पूर्वीद्वार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विपी भट्टराईको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत उपाध्यक्ष मणिराम खतिवडा र सञ्चालन सचिव जीतबहादुर खड्काले गरेका थिए ।