चैत्र १६, २०८० शुक्रबार

चन्द्रगढीलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

अर्जुनधारा । बिर्तामोड एफसी झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चिरपरिचित प्रतिद्वन्दी ब्रदर एफसी चन्द्रगढीलाई ३–२ गोलअन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो ।

चन्द्रगढीले १–० गोलको अग्रता कायम गरेका अवस्थामा बिर्तामोडले उत्कृष्ट पुनरागमन गर्दै जितमा परिणत गरेको हो । खेलको ७ मिनेटमै चन्द्रगढीका देवराज दंगालले गोल गरेर अग्रता दिलाएका थिए । तर, त्यो अग्रतालाई जोगाउन नसक्दा ४ मिनेटमा २ गोलको सामना गर्नु परेको थियो ।

बिर्तामोडका लागि मलिन लिम्बूले खेलको १३औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । १७ औँ मिनेटमा बिर्तामोडकै सूर्य टुडुले आकर्षक गोल गरेर २–१ गोल अन्तरको अग्रता बनाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा बिर्तामोडले बढी आक्रमण बुनेको थियो । पहिलो हाफमै बिर्तामोडले ३ गोलको अग्रता बनाएको थियो । खेलको २४औँ मिनेटमा निशान्त खड्काले गोल गरेर ३–१ को स्थिति बनाएका थिए ।

यसबीचमा चन्द्रगढीले पाएको पेनाल्टीको अवसर खेर गएको थियो । खेलको ४८औँ मिनेटमा कर्ण लिम्बूले पाएको पेनाल्टी प्रहार गोलपोस्टमा लाग्दै फर्किएको थियो । खेलको अन्त्यतिर खेलमा फर्किने प्रयास गरेको चन्द्रगढीको जित भने सम्भव भएन । खेलको ६९औँ मिनेटमा हिरण राजवंशीले गोल गर्दै गोलअन्तर घटाए ।

अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजना तथा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा निर्णायक गोल गरेका बिर्तामोडका निशान्त खड्का म्यान अफ दी म्याच चुनिए । उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगद १५ सय प्रदान गरे ।

बिहीबारको हुने पहिलो सेमिफाइनल खेल आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब र भारतको रथखोला एफसीबीच हुने सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]