बैशाख ७, २०८१ शुक्रबार

उद्यमशिल बन्न चाहने नगरवासीले अब खुम्चिएर बस्नु पर्दैन : नगर प्रमुख पोखरेल

कनकाई । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पुँजी अभावका कारण उद्यमशिल बन्न चाहने कुनै पनि नगरवासीले अब खुम्चिएर बस्नु नपर्ने बताएका छन् ।

कनकाईमा उद्यमशिलता विकास गर्ने उद्येश्यले नगरवासीलाई साझेदारीमा सरल कृषि कर्जा उपलव्ध गराउँन वित्तिय संस्थाहरुसँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै कनकाई नगर प्रमुख पोखरेलले उद्यमशिल बन्न चाहने नगरवासीले पुँजी अभावमा खुम्चीएर बस्नु नपर्ने बताएका हुन् । वित्तिय संस्थाहरुसँगको सहकार्यमा उद्यमशिल विकास कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन भएका चिजलाई बजारीकरण गर्ने काममा समेत कनकाई नगरपालिकाको ध्यान केन्द्रित रहेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

वैंक तथा वित्तिय संस्थाहरुले उत्पादनका क्षेत्रमा काम गर्ने उद्यमीकालागि सरल कृषि कर्जा उपलव्ध गराँउने भएपछि नगरपालिकाको तर्फबाट नगर प्रमुख पोखरेल र नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठ साथै सिद्धार्थ बैंकका सुरुङ्गा शाखा प्रमुख श्यामबाबु नेपाल विच नगर प्रमुखकै कार्यकक्षमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्र, हेफर नेपालका सहनिर्देशक प्रकाश कटुवाल, अभियान नेपालका प्रेम गिरीसहित बैंक तथा वित्तिय संस्थाका विभिन्न तहका प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, कारितास नेपालका प्रतिनिधिसहितको उपस्थितीमा भएको हस्ताक्षर कार्यक्रमको नगरपालिकाका कृषि शाखा प्रमुख यदुनाथ उप्रेतीले सहजीकरण गरेका थिए ।

उद्यमशिलता विकास, वित्तिय पौँच र वित्तिय साक्षरताकालागि नबिल बैक र सिद्धार्थ बैंकले लगानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता कार्यान्वयनपछि कृषि तथा पशुपंक्षी व्यवसाय, महिला तथा युवाहरुमा वित्तिय साक्षरता र वित्तिय पहुँच प्रवद्र्धन गर्न विभिन्न किसिमका कर्जा उपलव्ध हुने नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले जानकारी दिए । बैंकले लगानी गरेको सहुलियत दरको कर्जाबाट कुनै पनि सेवाग्राही उद्यमशिल बनोस् भन्ने बैंकको समेत चाहाना रहेको सिद्धार्थ बैंक सुरुङ्गा शाखा प्रमुख श्यामबाबु नेपाल बताउँछन् । लगानीको सुनिश्तिताकालागि स्थानीय सरकार कनकाई नगरपालिका साथै हेफर नेपालले सहजीकरण गरिदिएपछि बैंकलाई लगानी गर्न सजिलो हुने बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु बताउँछन् । कनकाईमा यस अघि माछापुछ्रे बैंकसँग सम्झौता भई कार्यक्रम अघि बढिसकेको छ भने अहिले नबिल र सिद्धार्थ बैंकसँग भएको सम्झौताले कनकाईको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । कनकाई नगरपालिकासँग एसबिआई बैंकले पनि सहकार्य गरेर अघि बढ्ने जनाइएको छ ।

साना किसान उद्यमीहरुकालागि पुँजीको अभाव भएका कारण व्यवसाय गर्न नसकिरहेको अवस्थामा हेफर नेपालले ल्याएको कार्यक्रमबाट युवाहरुलाई स्वरोजगार बन्न सहज भएको हेफरका सह निर्देशक प्रकाश कटुवाल बताउँछन् । सरकारको कृषिमा अनुदानको कार्यक्रम प्रभावकारी नभएको अवस्थामा हेफरबाट भएको सहजीकरण सफलता तर्फ अघि बढेको कटुवालको ठहर छ ।

सम्झौता कार्यान्वयनपछि कनकाई नगरपालिका क्षेत्रका कृषि तथा पशुपंछीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि हुने लक्ष्य राखिएको छ । त्यस्तै शिक्षित बेरोजगार महिला तथा युवाहरुलाई मुलुकभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्नुका साथै विदेशबाट फर्किएका युवाहरुको विदेशमा आर्जन गरेको सिप एवं व्यवसायिक दक्षता उपयोग गर्दै त्यस्ता जनशक्तिलाई स्वरोजगार बनाउँनु सम्झौताको मुख्य लक्ष्य रहेको जनाइएको छ । कनकाई नगरपालिका र बैंकसँग भएको सम्झौताबाट दलित समुदायको परम्परागत सीप र पेशालाई समेत आधुनिकिकरण एवं प्रवद्र्धन गरी उद्यमशिलता विकास गर्न वित्तिय पहुँच विस्तार हुन सक्ने विश्वास गरिएको छ ।

कनकाई नगरपालिका तथा हेफर प्रोजेक्ट नेपाल साथै कारितास नेपाल लगायतका संस्थाहरुद्वारा कनकाईमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाको सहयोग र सहजीकरणमा केही वर्षअघिदेखि नै विभिन्न समूह गठन भइ गतिविधि भइरहेको बताइएको छ । उद्यमशिलता विकासकालागि भएको सम्झौता अनुसार हाल क्रियाशिल समूह तथा सहकारीहरुमा कृषि तथा पशु उद्यमी सदस्यकालागि वडा कार्यालयबाट सिफारिस भई आएका व्यक्तिहरुलाई मुल्यांकनका आधारमा सहुलियतपूर्ण कर्जाकालागि नगरपालिकाबाट सिफारिस हुने सम्झौता पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : आश्विन १४, २०७९ शुक्रबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]