‘झापा उत्सव -२०७९ ’ को तयारी पुरा
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलोपटक हुन लागेको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सम्पूर्ण तयारी पूरा भएको छ । बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने झापा उत्सवका लागि भव्य स्टेज निर्माण गरिएको छ भने रंगशाला घेराबाराको काम सम्पन्न भएको छ ।
झापा फुटबल क्लबको आयोजनामा कात्तिक ४ र ५ गते दुई दिन हुने झापा उत्सव चाडवर्पका बेला झापाबासीलाई सांगीतिक कार्यक्रम रमाउने वातावरण बनाउनुका साथै सी डिभिजन खेलेर बी डिभिजनमा पुगेको क्लबलाई ए डिभिजनका लागि खेल खेल्न आवश्यक रकम जुटाउन समेत आयोजना गर्न लागिएको अध्यक्ष जलकुमार गुरुङले बताए ।

स्थानीयसँगै राष्ट्रियस्तरका कलाकारले झापाबासीलाई भरपूर मनोरञ्जन दिइने सांगीतिक कार्यक्रममा संगीकार तथा गायक कालीप्रसाद बाँस्कोटा, डोङ, एकदेव लिम्बू, अस्मिता अधिकारी, कमेडियन सुमन कार्की, अमर–अमृत दाहालसँगै स्थानीय कालाकारले समेत प्रस्तुति दिने छन् ।
दिउँसो २ बजेदेखि ४ बजेसम्म स्थानीय कलाकार र त्यसपछि राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवका सहकार्यकर्ता पेरिलिङ्कन सर्भिसका दिपेश घलेले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न ४० देखि ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । सांगीतिक कार्यक्रम हेर्न चाहनेका लागि दुई हजार रुपैयाँ दरको टिकट कायम गरिएको छ । जसबाट दुई दिन नै कार्यक्रम हेर्न सकिनेछ ।
महोत्सवको मुख्य प्रायोजक अर्ना बियरले गरेको छ । अर्ना बियरका प्रदेश १ र २ का रिजनल हेड शंकर लुइँटेलले आफ्नो उत्पादनको प्रबद्र्धनसँगै कलाकार र खेल क्षेत्रको प्रबद्र्धनका लागि प्रायोजन गर्न लागिएको बताए । उनले सामाजिक उत्तरदायित्वसँगै आफ्नो उत्पादनको प्रबद्र्धन मुख्य उद्देश्य रहेको सुनाए ।