चैत्र ६, २०८० मंगलबार

मेचीनगर गोल्डकपमा पुलिस च्याम्पियन

काँकडभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा परेको छ । सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक बिकेस कुथुलाई ठोक्किदै जाली चुमेपछि उपाधि पुलिसले रक्षा गरेको हो ।
प्रतियोगितको बिजेता पुलिसले १० लाख १ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपबिजेता आर्मीले ५ लाख १ हजारमा चित्त बुझायो । भर्खरै सम्पन्न आठौ राष्ट्रिय खेलकुद अन्तर्गत भएको फुटबल प्रतियोगितामा आर्मी बिजेता बनेको थियो भने पुलिस उपबिजेतामा सिमित भएको थियो । गत बर्ष भएको तेस्रो सिजनको मेचीनगर गोल्डकपमा पनि आर्मीले पुलिसलाई सेमिफाइनलमा पाखा लगाएको थियो । उपाधि रक्षासँगै पुलिसले आर्मीसँग बिगतमा भोगेको हारको बदला लिएको छ ।
निर्धारित ९० मिनेटभर दुबै टीमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा दुबै टीमबाट ३–३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । सडन डेथमा त्रिभुवन आर्मी क्लबका बिकास तामाङको प्रहार आकाशिएको थियो भने पुलिसका मानबादुर परियारको प्रहार पोष्टमा लागेर फर्किएको थियो । पोष्टमा लागेर फर्किएको बलले गोलरक्षक कुथुको शरिरमा ठोक्किएपछि पोष्टको दिशा लिएको थियो ।
परियारको निर्णायक गोलको मद्दतले पुलिसले उपाधि हात पारेको हो । टाइब्रेकरमा पुलिसका सुमन लामा, कप्तान भरत शाह, रेजिन सुब्बाले गोल गरेका थिए भने अजित भण्डारी र आशिष गुरुङको प्रहार आर्मीका गोलरक्षक कुथले फर्काएका थिए । आर्मीका नवयुग श्रेष्ठको प्रहार आकाशिएको थियो भने जर्ज प्रिन्स कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले रोकेका थिए । आर्मीका दीपकुमार लामा, टेकबहादुर बुढाथोकी र सन्तोष तामाङको प्रहारले जाली चुमेको थियो । खेलको म्यान अफ द म्याच पुलिसका गोलरक्षक खड्का घोषित हुँदै नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।
राइजिङ प्लेयर काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका एञ्जल गुरुङ, उत्कृष्ठ गोलरक्षक नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी, बेष्ट डिफेन्स पुलिसका आषिश गुरुङ, बेष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे, बेष्ट स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ, बेष्ट कोच अनन्तराज थापा घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । बेष्ट प्लेयर अफ द टुर्नामेन्ट पुलिसका रवि पासवान घोषित हुँदै १ लाख १ हजार रुपैंया पुरस्कार पाए ।
बैशाख १२ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक सहित पुलिस, आर्मी, संकटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भुटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]