बैशाख २९, २०८२ सोमबार

स्वस्थ्य खानेपानीको पहुँचमा बिर्तामोडबासी

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानीले उपभोक्तालाई २४ घण्टा पानीको सुविधा प्रदान गरिरहेको छ । केहि वर्षअघि धारामा पानीको नियमितता थिएन । पछिल्लो समय बिर्तामोडमा स्वच्छ खानेपानीको उपलब्धतालाई सहज बनाएको छ ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका व्यवस्थापक खड्ग गिरीले उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको जानकारी दिए । उनका अनुसार बिर्तामोड नगरपालिका क्षेत्रभित्र लगभग सबै नागरिक खानेपानीको पहुँचमा छन् । वडा नं. ७ र ८ को केहि भाग बाहेक पानीको सुविधा उपलब्ध गराइएको छ । सो क्षेत्रमा पनि स्थानीय तहको माग र सहयोगमा विस्तार गर्दै जाने गिरीले बताएका छन् ।

बिर्तामोड खानेपानीले अर्जुनधाराको वडा नं. ५, ६ र ११ मा समेत सेवा प्रदान गर्दै आएको छ । व्यवस्थापक गिरीका अनुसार हालसम्म ८ हजार २ सय ६३ वटा धारा जडान गरिएको छ । आवश्यकता र माग अनुसार जडान गर्दै जाने उनको भनाई छ ।

आम उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै ५–६ दिनको अन्तरमा पानीको स्वच्छता परीक्षण गर्ने गरिएको ल्यावका प्राविधिक पुरन कार्कीले जानकारी दिए । बिर्तामोडको पानीमा आइरनको मात्रा कम रहेको कार्कीको भनाई छ । पछिल्लो परीक्षण रिपोट अनुसार बिर्तामोडको खानेपानीमा शून्य दशमलव १ भन्दा माथि क्लोरिन र पी.एचको मात्रा ७ दशमलव १ रहेको जानकारी दिए । उनले बिर्तामोडको खानेपानी स्वच्छ रहेकोले निर्धक्क भएर उपभोग गर्न आग्रह गरेका छन् ।

बिर्तामोड खानेपानी संस्थाले तीन चरणको फिल्टरपछि मात्रै उपभोक्तालाई पानी वितरण गर्ने गरेको छ । त्यसभन्दा पहिले तीन वटा डिप बारिङको माध्यमबाट पानी ओभरहेडमा पठाइन्छ । दैनिक २ करोड लिटर पानी उत्पादन भई उपभोक्तामा पठाउने गरेको लेखा प्रमुख समेत रहेका गिरीले जानकारी दिए । त्यसमध्ये १५ प्रतिशत पानी चुवाहट र वासमा जाने गरेको छ । गिरीले भने, ‘पानी वितरणमा अहिले धेरै व्यवस्थित गरिएको छ, उपभोक्ताले पानी आएन भन्नुपरेको छैन ।’

खानेपानी संस्थाले पानीको प्रयोग गरेर पनि महसुल नबुझाउने उपभोक्ताको धारा धमाधम काटिरहेको छ । बुधबारसम्म ७३ वटा धारा काटेको गिरीले जानकारी दिए । तीन महिनासम्म महसुल नबुझाउने र १० हजारभन्दा बढि महसुल पुगेका उपभोक्तालाई जानकारी गराएर धारा काट्न थालिएको छ । कार्यालयका अनुसार बिर्तामोडमा विशिष्ट व्यक्तिहरुले नै खानेपानीको महसुल नबुझाएको जनाएको छ ।

संस्थाका अध्यक्ष जलकुमार गुरुङले स्वस्थ्य खानेपानी उपभोक्ताको अधिकार भएको बताएका छन् । उनले संस्थाको मुल लक्ष्य अनुसार नै उपभोक्ताई सहजै स्वस्थ्य पानी उपलब्ध गराउन सफल भएको गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]