बैशाख १३, २०८१ बिहीबार

एमाले-राप्रपा तालमेलले गठबन्धन अत्तालियो : भक्ति सिटौला

झापा निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट प्रदेशसभामा एमाले–राप्रपाको साझा उम्मेदवार रहनुभएका भक्ती प्रसाद सिटौला राप्रपाका केन्द्रीय प्रवक्ता समेत हुनुहुन्छ । लामो समय नेपाली कांग्रेसमा रही सक्रिय राजनीतिमा रहनुभएका अधिवक्ता सिटौला २०७० सालमा राप्रपा प्रवेश गर्नु भएको हो । नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा आउनुभएका सिटौला विपीको आदर्श र सिद्दान्तलाई छोडेर लथालिंग भएकै कारण कांग्रेस त्यागेको बताउनुहुन्छ । वहाँ भ्रस्टाचार विरुद्दको अभियान र धाराप्रवाह भाषण क्षमता कै कारण लोकप्रियताको उचाईमा हुनुहुन्छ । निर्वाचनकै सन्दर्भमा केन्द्रित रहेर नेता सिटौलासँग पत्रकार सान नेपालले गर्नु भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ
……
तपाईं झापा क्षेत्र नम्बर ४ (२) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार हुनुहुन्छ, यस क्षेत्रका मुख्य– मुख्य समस्याहरु के के हुन् ?
यस क्षेत्रमा यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, संचार र बिद्युधिकरणका समस्याहरु मुख्य छन् । सडक संजालको बिकास हुन थालेको छ । यसलाई पूर्णता दिनुपर्ने आवश्यकता छ । अधिकांश बिद्यालयहरुमा सुबिधा सम्पन्न भवन निर्माण गर्नुपर्ने छ । गुणस्तरीय शिक्षाको चुनौती एकातिर छ भने प्राबिधिक बिद्यालयहरु, धार्मिक बिद्यालयहरुको स्थापना गरि दक्षजनशक्ति उत्पादन गर्नु टड्कारो आवश्यकता छ । दक्ष जनशक्ति विदेश पलायन हुँदा देशव्यापी रुपमा देखा परेको समस्याले मेरो क्षेत्र पनि मुक्त छैन । रोजगारी मुलक उद्द्योगधन्दाको विकास गर्न सके आम युवाहरुलाई आफ्नै गाउँघरमा रमाएर जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सकिने थियो ।

झापा गाउँपालिका, महाभारा र कोरोवारी जस्ता ग्रामिण क्षेत्रमा खानेपानीको समस्या टड्कारो छ । सबै ठाउँमा शुद्ध खानेपानी वितरण हुन नसक्दाको विकराल अवस्थालाई पनि मैले चुनौतीकै रुपमा लिएको छु । नेकपा एमालेका सम्माननीय पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष के पी ओलीको पहलमा निर्माण हुन थालेको हुलाकी राजमार्गले यस क्षेत्रका जनतालाई ठुलो राहत प्रदान गरेको छ । यद्दपि कन्काई र विरिंगमा पुल निर्माण सम्पन्न हुन नसक्दा हुलाकी राजमार्गको प्रयोग गर्न असुविधा हुने नै भयो । यस क्षेत्रका सबै भागमा टेलिफोन टावर पुग्न नसक्दा संचारको पहुँचमा समेत थप कठिनाई रहेको छ ।

त्यस्तै धार्मिक सांस्कृतिक पर्यटकीय केन्द्रहरुको विकास गरि आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउदै पर्यटन उोगको बिकास गर्नु पनि यस क्षेत्रको मुख्य आवश्यकता नै हो । आदिवासी जनजातिका तमाम समस्या लगायत सन्थाल जातीको ठुलो बसोबास रहेको यस क्षेत्रमा सन्थाल संग्रहालय स्थापना गर्नुपर्ने आवश्यकता छ ।

तपाईंले मतदातासँग गर्ने प्रतिबद्धताहरु के कस्ता छन् ?
यस क्षेत्रका समस्याहरु नै मैले मतदातासँग गरेका प्रतिबद्धताहरु हुन् । शिक्षामा सुधार गर्ने प्रतिबद्धता गरेको छु, प्राबिधिक शिक्षालयहरुको स्थापना गर्छु भनेको छु, धार्मिक मठ मन्दिरहरुको विकास गरेर पर्यटन उद्योगको बिकास गर्छु भनेको छु । मुख्य चुनौतीको रुपमा रहेको बिरिंग र कन्काई तटबन्धनको कार्यलाई प्राथमिकता साथ उठाउछु भनेको छु ।

सिँचाईको व्यवस्थापन, उन्नत जातको बिउ वितरण, कृषि बिज्ञहरुको व्यवस्थापन, समयमा मलविउको वितरण, स्टोरेज हाउस र चिस्यान केन्द्रको स्थापना गर्छु भनेर प्रतिबद्दता गर्छु भनेको छु । पशुपालन, मत्स्य पालन, मौरीपालन, लगायतका विषयलाई व्यवसायीकरण गर्न र कृषि उपजको बजार व्यवस्थापन गर्न मेरो मुख्य कर्तव्य नै हुन आउछ । दैनिक जनजीवनमा प्रत्यक्ष जोडिएका अत्यावश्यक विषयहरुलाई प्रदेश र केन्द्रतह सम्म पुर्याएर दिर्घकालिन विकासको खाका तयार गर्छु भनेर प्रतिबद्धता गरेको छु ।

जनतासँग गरेका बाचा पुरा गर्न सकिएला त ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले जनतासँग गरेका बाचाहरु एक्लै पनि समाधान गर्न सक्ने सामथ्र्य राख्ने पार्टी हो । अहिले हामीलाई एमाले जस्तो बिकासबादी, राष्ट्रबादी पार्टीको साथ छ । राष्ट्रबादी शक्ती र प्रजातन्त्रबादी शक्तिको मिलन बिन्दु भएको बेला झापा जिल्लाको ४ (२ ) मा मात्र नभएर देशव्यापी रुपमा बिकासको छलाङ्ग मार्ने निश्चित छ । हामी गर्छौं र गरेरै छाड्छौं । समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूर्णता दिने अवसर यहि निर्वाचनको नतिजाले दिनेछ ।

गठबन्धनले मुलुकभर जित हात पार्छौं भनिरहँदा तपाईंले आफ्नो स्थान कसरी सुरक्षित राख्न सक्नुहुन्छ ?
भन्नु र गर्नु फरक कुरा हो । यो गठबन्धनको सरकारलाई जति नै निन्दा गरे पनि कम हुन्छ । भ्रस्टाचार र वेथितिको नमुनाको रुपमा रहेको गठबन्धनले जित्छ भन्नु आफैंमा हास्यास्पद कुरा हो । अहिले मुलुकमा दिगो विकास र राष्ट्रियता प्रति कठोर हुनुपर्ने आवश्यकता छ । एमसीसी र एसपीपी ल्याएर राष्ट्रियता प्रति खलल् पैदा गर्ने बिदेशी दलालहरुलाई हराएर राष्ट्रबादी शक्तीलाई जिताउनकै लागि भोट हाल्न जनता आतुर छन् ।

एमालेसँगको तालमेलको व्यवहारिक अवस्था कस्तो छ ?
हाम्रो तालमेल भनेको इमान्दार शक्तिबीचको मिलन हो । मुलुकका विभिन्न भागमा हामीले एमालेसँंग तालमेल गरेका छौं । झापाको हकमा निर्वाचन क्षेत्र नम्बर ३ मा हाम्रो पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन जी लाई एमालेले सघाउने, त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ को (ख ) मा सविना बजगाईंजीलाई जिताउन हलो चिन्हमा मतदान गर्ने र निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा म भक्ति सिटौलालाई एमालेले सघाउने गरि तालमेल भएको छ । मेरो क्षेत्रमा एमालेका विकासप्रेमी नेता एलपी साँवा जी प्रतिनिधिसभा सदस्य पदमा उठ्नु भएको छ । हामी अहोरात्र मतदातासँगै छौं । दुवै पार्टीका मतदाता र कार्यकर्ताहरुले इमान्दार भएर मतदान गर्ने कुरामा कुनै सन्देह छैन । किनकी जबजब यो देशलाई विदेशीबाट खतरा महस हुन्छ तवतव राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनु जरुरी हुन्छ । एमालेसँगको हाम्रो पुरानो र भावनात्मक सम्बन्ध छ । यो कुरा नेपाली जनताले राम्रोसँग बुझेका छन् ।

त्यसो भए विजयी हुने कुरामा ढुक्क हुनुहुन्छ त ?
अवस्य ढुक्क छु । घरदैलो अभियान शुरु गरको पहिलो दिनबाटै हामीले विजयको यात्रा सुरु गरिसकेका छौं । मतदाताको उत्साह देख्दा निकै फराकिलो अन्तरले हामी विजयी हुने कुरामा कुनै सन्देह छैन ।

निर्वाचनपछि कस्तो सरकार बन्ला भन्ने लाग्छ ?
हामीले देशव्यापी प्रेडिक्सन गरेका छौं । नेकपा एमालेले पनि देशव्यापी सर्वे गरिसकेको छ । यो पटक देशद्रोहीहरुलाई परास्त गर्दै राष्ट्रबादी शक्तिको जीत हुन्छ र आम नेपाली जनताको चहाना बमोजिमको राष्ट्रबादी सरकार बन्ने कुरामा ढुक्क छु ।

एमालेसँगको तालमेलले राप्रपालाई विवादास्पद बनायो भन्ने आरोप लागेको छ नी ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो आदर्श छोडेको छैन । राप्रपा आफ्नै दर्शन र सिद्धान्तमा चलेको पार्टी हो । गठबन्धनको नाममा ४÷५ वटा दल एकातिर उभिएर निर्वाचन लड्दै गर्दा हामीले पनि तालेमेलको आवश्यकता महसुस गरेका हौँ । एमालेको आफ्नै मौलिकता छ र उसको आफ्नो दर्शन छ । तत्कालिन अवस्थामा तालमेल गरिएको हो । हामी कसैको मुद्दामा घिसारिएर डोहोरिएर गएका होइनौं । हामीले अरुको जस्तो अभद्र र अप्रिय गठबन्धन गरेका पनि छैनौं । आवश्यकता अनुसार कतिप स्थानमा तालमेल भएको हो ।

निर्वाचन पछि हामी आ– आफ्नै गन्तब्यमा हुने छौं । एमालेले प्रतिनिधि सभामा १३९ स्थानमा प्रतक्ष्य तर्फ उम्मेदवार उठाएको छ । हामीले पनि १४३ स्थानमा उम्मेदवार उठाएका छौं । समानुपातिकमा ११० सदस्यकै लागि हाम्रा उम्मेदवार हुनुहुन्छ । जहाँ हाम्रा प्रतक्ष्य तर्फ उम्मेदवार हुनुहुन्न त्यस स्थानमा समानुपातिक तर्फ उम्मेदवार हुनुहुन्छ । तसर्थ विपक्षीले मतदाता भढ्काउन कै लागि गरिएका अभद्र आरोपको खण्डन गर्नुपर्ने जरुरी समेत ठानेका छैन ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?
हामी निर्वाचनको महानसंग्राममा छौं । मुलुक गम्भीर आर्थिक संकटमा धकेलिने अवस्थामा पुगेको छ । एमसीसी र एसपीपी जस्ता बिदेशी दलालका योजना सफल पार्न लागेका देशद्रोहीको झुण्डले मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर हुँदै गएको छ । यो पटकको निर्वाचनले राष्ट्रबादी र प्रगतिशिल शक्तिलाई विजयी गराउने छ भन्ने पूर्ण विश्वास लिएको छु ।

मुलुक श्रीलंकाको अवस्थामा पुग्नबाट बचाउन जरुरी छ । हलो चिन्हका उम्मेदवारहरुलाई हलो चिन्हमा र एमालेका उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरेर विजयी गराइदिनु हुन आम झापाली आमा बुवा , दाजुभाई र दिदीबहिनीलाई हार्दिक अपिल गर्दछु । साथै समानुपातिक तर्फ हलो चिन्हमा मतदान गरेर राप्रपालाई बैकल्पिक शक्तिको रुपमा स्थापित गरिदिनुहुन सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदि बहिनिहरुमा हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]