चैत्र १५, २०८० बिहीबार

सत्ता गठबन्धनका उम्मेदवारलाई जनताले नै बहिष्कार गर्नेछन् : सविना बजगाई

झापा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ‘ख’ मा नेकपा एमालेले राप्रपालाई समर्थन गरेको छ । राप्रपा र एमालेको साझा उम्मेदवारको रुपमा रहेकी राप्रपा नेतृ सबिना कट्टेल बजगाईंसँग पत्रकार प्रकाश पौडेलले गरेको निर्वाचन केन्द्रित कुराकानी प्रस्तुत छ ।

तपाईको चुनावी प्रचार अभियान कसरी अगाडि बढिरहेको छ ?
हामी संयुक्त चुनावी अभियानमा छौँ । ‘घर–घरमा कार्यकर्ता, टोल–टोलमा उम्मेदवार’ हाम्रो चुनावी नारा हो । यही अभियान अन्तर्गत झापा क्षेत्र नम्बर १ अन्तरगत प्रदेश ‘ख’ मा पर्ने मेचीनगर, बुद्धशान्ति र भद्रपुरका वडाहरुको टोल–टोलमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम भइरहेको छ । हामी घरदैलो अभियानमार्फत् चुनाव प्रचार प्रसारमा छौँ ।

मतदातासँग पुग्दा के कस्ता प्रतिबद्धता लिएर जाँदै हुनुहुन्छ ?
हामी यस क्षेत्रको समस्यासँग जानकार छौँ । यहाँ भएका सुकुम्बासी समस्या, सडक स्तरोन्नति गर्नुपर्ने, खानेपानी र बेरोजगारीको समस्या, मजदुर किसानहरुको समस्याहरुलाई समाधनका लागि प्रतिबद्ध भएर मतदातासँग पुगेका छौँ । जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास र रोजगारको ग्यारेन्टी हामीले गरेका छौँ । स्थानीय जनताले रोजेको र खोजेको सबै किसिमका विकास र देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता हामीले गरेका छौँ ।

जनताबाट के कस्ता प्रतिक्रियाहरु पाइरहनु भएको छ ?
यसअघि प्रतिनिधित्व गर्नुहुने जनप्रतिनिधिहरुले क्षेत्रको विकासका लागि गर्नुभएको अधुरो अपुरो कामहरु तपाईले जितेपछि पक्कै पूरा गर्नुहुनेछ भन्ने ढाडस दिइरहनु भएको छ । हाम्रो प्रतिबद्धताप्रति जनताको भरोसा पाइरहेका छौँ । उहाँहरुले भन्नुभएको छ यस क्षेत्रको विकासको ग्यारेन्टी लिनुहुने तपाईलाई हामी मतदान गरेर अत्याधिक बहुमतले विजय गराउने छौँ ।

तपाईको मुख्य प्रतिस्पर्धी चाहिँ को हो ?
मुख्यरुपमा मेरो प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नै हुन् । सत्ता गठबन्धनले माओवादी केन्द्रका श्यामबिर लिम्बूलाई उम्मेदवार बनाएको छ । तर नेकपा एमाले–राप्रपाको तालमेलबाट निर्धारित हाम्रा चुनावी एजेण्डाहरु जनतामा स्थापित भइसकेका छन् । उहाँ राजनीतिक रुपमा मात्रै मेरो प्रतिस्पर्धी हुनुहुन्छ ।

भने पछि, सत्ता गठबन्धनको उम्मेदवार तपाईभन्दा कमजोर छन् ?
उहाँहरु धेरै कमजोर हुनुहुन्छ । गठबन्धनको राजनीतिक एजेण्डा सत्ता केन्द्रीत रहेको कुरा सबै जनताहरुले बुझिसक्नु भएको छ । यो क्षेत्रमा एमालेकोे सरकारले अघि सारेका विकास निमार्णका कामहरुलाई अहिलेको गठबन्धनको सरकारले कटौती गरेको छ । बहुवर्षीय योजनाहरु कार्यान्वयनमा बन्देज लगाएको छ । विकास विरोधी सत्ता गठबन्धनका उम्मेदवारलाई जनताले नै बहिष्कार गर्नेछन् । देश र जनताको निम्ति काम गर्ने पार्टी एमाले र राप्रपा नै हो भन्ने मतदातालाई प्रष्ट भइसकेको छ । दलीय आधारमा हेर्दा उहाँहरुको ५–६ वटाबीच गठबन्धन छ, धेरै बुझिएला तर हामी दुई दल भएपनि मतदाता हामीसँग धेरै छन् । यसर्थ प्रतिद्वन्दी कमजोर छन् भन्न सकिन्छ ।

तपाईको जीतको आधार के हुन् ? थुप्रै उम्मेदवारहरुका बीचमा तपाईको चुनाव चिह्न हलोमा नै किन मत दिने ?
झापा क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का तमाम मतदाताहरुको स्नेह, यस स्थानमा बसेर लामो समय काम गरिरहँदा मैले उहाँहरुप्रति गरेको व्यवहार र मैले क्षेत्रको सबै महिलाहरुको प्रतिनिधित्व गर्नु नै मेरो जीतको प्रमुख आधार हो । सत्ता गठबन्धनबाट महिलालाई उम्मेदवार नै बनाइएको छैन । तर एमाले–राप्रपा राष्ट्रवादी तालमेलबाट मेरो उम्मेदवारी रहेको छ । मेरो जीत समग्र क्षेत्र नम्बर १ का महिलाहरुको जीत हुनेछ ।
राजनीतिक जीवनमा मैले गरेका संघर्ष, समाजमा मेरो योगदान यस क्षेत्रका मतदातालाई राम्रोसँग थाहा छ । प्रतिद्वन्द्वी उम्मेदवारहरुका चुनाव चिह्न छाडेर हलोमा नै मतदान गर्नुपर्ने कारण चाहिँ राप्रपाको राष्ट्रवादी धार र राष्ट्रिय एकताप्रतिको अडान हो । आम मतदातालाई थाहा छ, यदि छैन भने बुझ्न आवश्यक छ कि एमाले–राप्रपा तालमेलबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुनेछ । यसैले राष्ट्र बचाउन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्नुपर्छ ।

राष्ट्रवादी तालमेलका दलहरुलाई गठबन्धनले घेराबन्दी गरिरहेको छ । यो अवस्थामा मतदाताको सहयोगबाट घेराबन्दी तोड्ने कत्तिको विश्वास छ ?
एमाले र राप्रपाको तालमेलबाट बनेको राष्ट्रवादी शक्तिलाई सत्ता गठबन्धनले जति घेराबन्दी गरे पनि हामी तोड्दैछौँ । एमसीसी, एसपीपी र नागरिकता विधेयक लगायतका विषयमा राष्ट्रघाती सम्झौतामा सत्ता गठबन्धन लागेको छ । देशमा चरम आर्थिक संकट छ । मूल्य बृद्धिले आकाश छोएको छ । धितो राख्दासमेत जनताले ऋण पाउने अवस्था छैन । देश राष्ट्रिय संकटमा फसेको छ । यसलाई उकास्नका लागि जनताले राष्ट्रवादी शक्तिलाई खोजिरहेका छन् । यो निर्वाचनबाट राष्ट्रघाती सत्ता गठबन्धन तोडिने कुरामा हामी विश्वस्त छौँ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा तपाईले आफूलाई जीत नजिक भन्नु भएको छ । त्यो मत परिणाम नै जीतको आधार बन्न सक्छ र ?

यो क्षेत्रमा गठबन्धनको मत एकतिर र एमालेको मत अर्कोतिर राख्दा प्रदेश ‘ख’ मा एमालेको मत ७ हजारले अगाडि छ । त्यसमा पनि राप्रपाको मत थपिँदा हामी अत्याधिक धेरै मतले अगाडि छौँ । मतको आधारमा हेर्ने हो भने हाम्रो जीत सुनिश्चित छ । स्थानीय तह चुनावको मतदाता संख्या अहिले सामान्यभन्दा धेरै हेरफेर नभएकाले तुलना गरिएको हो । योसँगै हाम्रो एजेण्डा नै बलियो छ । म यहीँको बासिन्दा भएकाले सबैसँग सामाजिक सम्बन्ध पनि छ । समग्र आधारहरु समीक्षा गर्दा पक्कै जितिन्छ भन्नेमा विश्वस्त छु ।

चुनाव जितेपछि मतदाताको घर आँगनमा फर्किएर पनि नेताहरु आउँदैनन् भन्ने गुनासो छ । तपाई आउनु हुन्छ नै भन्ने ग्यारेन्टी के छ ?
चुनाव जितेपछि नेताहरु फर्किदैनन् भन्ने कुरा केही हदसम्म सत्य पनि हो । तर यस क्षेत्रको सन्दर्भलाई ध्यान दिँदा उक्त कुरा उल्टो हुन्छ । जित्नेहरु बारम्बार हाम्रो समस्यामा नै भेटिएका छन् । तर हार्नेहरु चाहिँ अर्कोपटकको चुनाव नआएसम्म हराउने गरेका छन् । तर म चाहिँ सदैब जनतासँग नजिक छु । मैले सामाजिक कार्यको सुरुवात गरेदेखि नगर उपप्रमुखमा पराजय हुँदासम्म र आज प्रदेश सभाको उम्मेदवार भइरहँदा पनि सदैब जनतासँगै छु ।
फेरि मैले जितेर जाने भनेको पनि त्यहीँ विराटनगर न हो । तीन घण्टाको दूरीमा प्रदेशसभा भवन छ, आवश्यकता अनुसार जाने हो । बिहान उठेर सभामा जाने बेलुका आउने गर्न सकिन्छ । म विजय भएर गइसकेपछि पनि जनतासँगै हुनेछु । जनताका समस्या नै मेरा समस्या हुन् र तिनलाई समाधान गर्न सदैब प्रतिवद्ध रहनेछु ।

युवा जमातमा दलहरुप्रति बितृष्णा बढिरहेको भन्ने प्रचार भइरहेको छ । दलप्रतिको आकर्षण कसरी बढाउन सकिएला ?
सत्ता गठबन्धका दलहरुले गरेको फोहोरी राजनीति र अत्याधिक भ्रष्टाचारको कारणले युवा जमातमा दलहरुप्रति बितृष्णा बढिरहेको साँचो हो । युवालाई सबै दल र नेतृत्व यस्तै भ्रष्ट हुँदैनन् भनेर सम्झाई बुझाई गरेर दलप्रतिको आकर्षण बढाउन सकिन्छ । बन्द भएका कलकारखानाहरुलाई पुनःसुचारु गर्नुछ । बेरोजगार युवाहरुलाई रोजगार बनाउनु छ जसले आफैं युवाहरुमा दलप्रतिको आकर्षण बढ्छ । सत्ता केन्द्रित राजनीति होइन जनता केन्द्रित राजनीति गर्नुपर्दछ । युवाहरु माझ हाम्रा एजेण्डा प्रस्तुत गरेका छौँ, हाम्रो एजेण्डालाई युवा मतदाताले मन पराउनु भएको छ ।

निर्वाचन आयोगले भड्किलो प्रचार शैलीलाई रोकेको छ । यसबाट उम्मेदवारको रुपमा कस्तो महसुस गर्नुभएको छ ?

निर्वाचन आयोगको यो निर्णय एकदमै ठिक छ । आर्थिक रुपमा विपन्न तर योग्यताको आधारमा सम्पन्न उम्मेदवारहरुले पनि निर्वाचनमा भाग लिन सक्ने भए । यसबाट एक कुशल उम्मेदवारले विजय हासिल गर्न सक्नेछ । भ्रष्ट प्रविधिका उम्मेदवारहरु निर्वाचन आयोगको यो निर्णयले पखालिने छन् ।

अन्त्यमा आम मतदातालाई तपाईको सन्देश केही छ ?
आमाबुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण मतदाताहरुमा मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा राष्ट्रवादी तालमेलका सम्पूर्ण उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजय गराइदिनु हुन अनुरोध गर्दछु । प्रतिनिधि सभामा सूर्य चिह्नमा मतदान गरी अग्निप्रसाद खरेल र प्रदेश सभामा प्रदेश ख मा हलोमा मतदान गरी राप्रपालाई यो ठाउँको समग्र विकासको निम्ति एकपटक यहाँहरुको सेवा गर्ने अवसर प्रदान गरिदिनु हुन हार्दिक अपील गर्दछु ।

प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]