बैशाख १२, २०८१ बुधबार

गठबन्धनको काम विरोध गर्ने, एमालेको काम विकास गर्ने हो : हिक्मत कार्की

नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी :

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ?
हामी चुनावी अभियानको चौथो चरण प्रवेश गरेका छौं । कात्तिक १७ गतेबाट हामीले घरदैलो र प्रचारात्मक कार्यक्रम शुरु गरेका छौं । अहिलेसम्म हामी हाम्रा पार्टीका भेलाहरु र आन्तरिक चुनाव सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिसकेका छौं । त्यो चरणका कार्यक्रहरु हामीले सकिसकेका छौं र अरु नितान्त व्यक्तिगत भेटघाटहरु र पार्टीका साना टोल टुक्रे बैठकहरु बसेर मसिनो गरी कार्यकर्तालाई चुनावमा उत्रन भनिरहेका छौं । हामीले निर्वाचन अचारसंहिताको पनि पालाना गर्नुपर्ने भएकाले सोही अनुरुप सानो समूहमा घरदैलो सुरु गरेका छौं । अब निर्वाचनमा होमिन पूर्णरुपमा तयार भयौं । अब हामी दौडेर अगाडि बढ्नका लागि सक्षम बन्दैछौं भन्ने संकेत गरेको छ । हामी अहिले मतदाता समक्ष एजेण्डासहित प्रस्तुत हुन थालेका छौं ।

चुनावी अभियान चलिरहँदा झापा ५ (१) का मतदाताहरुको पार्टीप्रतिको धारणा कस्तो पाइरहनु भएको छ ?
मूल चुनावी अभियानभन्दा पहिले हामीले विगतमा के काम गर्यौं र यसको प्रतिक्रयाहरु कस्तो आउँछ ? हाम्रा कामप्रति जनताको र कार्यकर्ताको कस्तो खालको बुझाई रहेछ ? के भन्दै छन् ? यथार्थ के हो ? यिनै कुराहरु स्पष्ट हुन र पार्न सफल भइयो । हामीले १६ वटै वडामा अगुवा कार्यकर्ता र मतदाताहरु बीचमा पुग्ने प्रयास गर्यौं, हामस्लाई प्राप्त प्रतिक्रिया असाध्यै राम्रो छ ।

तपाईंको निर्वाचन क्षेत्रका मतादाताको अपेक्षा के रहेछ ?
विगतमा राम्रा कामहरु कति भए, कति कामहरु बाँकी छन् । तिनीहरुलाई कसरी टुङ्याउने, अबका प्राथमिकताहरु के के हुन् ? गत निर्वाचनमा बोलेका कामहरु यति भए यति बाँकी छन् । ती कसरी सम्पन्न गर्नुहुन्छ ? तपाईंका नयाँ कार्यक्रमहरु के हुन् ? भन्ने कुरा जिज्ञासा राख्नु भएको छ ।

कतिपय ठाउँहरुमा बन्दा बन्दै गरेको बाटो तथा पूलहरुको निर्माण कार्य रोकिएका छन् । कतिपय जनताका न्यूनतम आवश्यकताका पूर्वाधारहरु पूरा भएका छैनन् । त्यस्ता कुराहरुमा जनताको गुनासो पनि छ । यसलाई हामीले सुनेर कुरा यथेष्ठ मात्रामा सम्बोधन गरेका छौं ।

तपाई साढे तीन वर्ष प्रदेश सरकारको दोस्रो नेतृत्वमा रहनुभयो । तपाईंकै पार्टीको नेतृत्वमा सरकार थियो । त्यो समयमा गरेका कामको जस अपजसको भागेदार आफूलाई पनि ठान्नुहुन्छ ?

हाम्रो पार्टी पहिलो प्रदेश संरचनाको कार्यकारी भूमिकामा रह्यो । पार्टीको अर्को नेता मुख्यमन्त्री बन्नुभयो, म त्यस मन्त्री मण्डलको दोस्रो जिम्मेवार पदमा रहेर साढे तीन वर्ष काम गरें । त्यसो भएको हुनाले साढे तीन वर्षको अवधिमा हामीले गरेको सम्पूर्ण कामको जस अपजस हामीले लिनु पर्दछ । कतिपय कानूनी कारणले काममा सफलता प्राप्त भएन होला । प्रदेश नम्बर १ र हाम्रो नेतृत्व भएको बेला हामीले अधिकतम् कामहरु गरेका छौं, जो नेपालको इतिहासमा पक्कै लेखिनेछ ।
बितेकोे ४ वर्षको अवधिमा नेपालमा गुणात्मक संरचनागत विकास भएको छ । विगतमा १०–१५ वर्षमा नभएका सडक, पूल, सामुदायिक भवन वा अरु क्षेत्रमा कामहरु भएका छन् । जस्तै सिमा क्षेत्रमा चाहिँ हामीले धेरै ठूलो काम गरेका छौं । त्यो जसले नजिकबाट बुझेको छ, जतिलाई हामीले बुझाउन सकेका छौं, त्यहाँ प्रष्ट देखिएको छ ।

प्रदेश नम्बर १ को नामाकरण नभएको गुनासो रह्यो नि ?
नामको गुनासो चाहिँ रह्यो । यसको जिम्मेवारी हामीले पनि लिनु पर्दछ । व्यक्तिगतरुपमा म पनि लिन्छु । एमाले एक्लैले नाम राख्न सक्ने अवस्था थिएन । नेकपा भएका बेला दुई तिहाई हामीसँग थियो । त्यतिबेला नै उपयुक्त निर्णयमा पुगेको भए हुन्थ्यो ।
तर नाम र राजधानीजस्तो कुरा सम्वेदनशील पनि हो, यो हरेक व्यक्तिसँग जोडिने विषय भएकोले यसमा सर्वसमहति गरौं भन्ने चाहना राखियो । सर्वसहमतिबाट गरौ भन्ने हाम्रो चाहाना थियो । यद्यपी नामाकरण सरकारको दायित्व होइन, सदनको दायित्व हो । तर सरकारको नेतृत्वमा बसेर हामीले पन्सिन चाहिँ मिल्दैन । हामीले सकेको प्रयास गर्यौं र राजधानीलाई सर्वसम्मत रुपमा टुङ्गयायौं ।

अब नामको विषयमा म एउटा कुरा स्पष्ट पार्न चाहन्छु् । आसन्न निर्वाचन पछि मंसिर २०–२२ सम्म सरकार बन्छ । हामीले उक्त सरकारको नेतृत्व गर्ने हो । हाम्रो पार्टीले अब संसदको पहिलो बैठकबाटै नामाकरणको विषय टुङ्याएर सदनमा प्रस्तुत गराउँछ र सकेसम्म छिट्टै आम सहमतिमा साझा नाम राख्ने कुरा पूरा गराउँछौं । यसलाई प्रतिवद्धता नै बुझ्नुभए हुन्छ ।

तपाईंको निर्वाचन क्षेत्र झापा ५ (१) का मतदाताले बितेको पाँच वर्षमा हिक्मत कार्कीले सरकारको दोस्रो प्रमुख मान्छे भएर पनि के गर्नु भयो र ! भन्ने प्रश्न राख्ने गरेका छन् । सरकारमा रहेर वा सांसदमात्र भएर पनि तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा के के गरेँ भन्ने लाग्छ तपार्इंलाई ?

वास्तवमा यो जनताले उठाएको सही प्रश्न हो र यसको जवाफ पनि विभिन्न भेलाहरुमा दिएको छु । म प्रदेश सरकारको मन्त्री भए पछि प्रदेशभर नै दायित्व निर्वाह गर्नुपर्यो । मेरो विभागीय मन्त्रालय कामको हिसाबले धेरै ‘लोड’ हुने मन्त्रालय थियो । त्यसले गर्दा आफ्नो विभागमा बढी केन्द्रित हुनुपर्यो । त्यति हुँदाहुँदै पनि मैले यस क्षेत्रमा ल्याउनु पर्ने सडकका योजनाहरु, पूल कल्भर्ट निर्माण, सामुदायिक विद्यालय भवनहरु र अरु थुप्रै खालका योजनाहरु कार्यान्वयन गराएको छु । मलाई लाग्छ यो क्षेत्रमा मात्रै ३–४ अर्ब बजेट आएको होला । सबै ठाउँमा सन्तुलित ढंगले गएको देखिँदैन । यो क्षेत्रमा कालोपत्रे सडकहरु, ठूला पूल कल्भर्टहरु, झुलुङगे पूलहरु, विद्यालय भवनहरु, प्रहरी कार्यालयहरु आदि सबैभन्दा बढी काम म मन्त्री भएकै करणले भएका हुन् ।

म विभागीय मन्त्री भएको कारणले प्रदेशभर हामीले ५१ वटा प्रहरी कार्यालयका नयाँ भवनहरु निर्माण थालनी गर्यौं । कुनै अहिलेसम्म बन्ने क्रममा होलान् । विकास भन्ने बित्तिकै आँखाले देख्ने भौतिक वस्तुमात्र हुँदैनन्, सरकारले गर्ने सुशासन पनि हो, शन्ति सुरक्षा अमनचयन हो, संरचानत्मक विकास पनि हो ।

सीमाक्षेत्रमा ५२ वटा बोर्डर आटपोष्ट स्थापना गरियो । म आउनभन्दा पहिले ११ वटामात्र थिए । कालोपत्रे सडकहरु करिव २०–२५ किलोमिटर प्रदेश सरकारको बजेटमा बनाइयो । एउटै सडक ८–१० किलोमिटरको छ । अनि विकास भएन, हिक्मतले के गर्यो र भन्ने ठाउँ छ र !

अबको एजेण्डा के हो ? भोट माग्दै जाँदा के कुरा लिएर जानु हुन्छ ?
यस क्षेत्रमा सडकका अधुरा कामहरु हामी पूरा गर्नेछौं । नयाँ बनाउनु पर्ने सडकहरुमध्ये समयगढबाट डिटेडोला जोडिने एउटा महत्वपूर्ण सडक छ, त्यो पहिलो प्राथमिकता रहनेछ । गौरादहबाट दुदाधी निस्केर गौरीगञ्ज पुग्ने सडकलाई दोस्रो प्राथमिकता दिइनेछ । हाम्रो पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला प्रस्ताव भएर अगाडि बढाइएका जस्तो रंङपुर हुँदै सीमाक्षेत्र जोडिने चिल्लारा हुँदै जनता जोडिने मिलनचोक बाट फकेटि हुँदै गौरीगञ्जको आठमौजा जोडिने सडकहरु निर्माण गरिनेछ ।

मैले यति भनेको छु, आउँदो ५ वर्षभित्र हामी यो प्रदेश क्षेत्रमा रहेका खोलाका पूलहरु र बाटोहरु लगभग बनाइसक्छौ । विद्युतिकरणको समस्या ठाउँ ठाउँमा छ, त्यो समाधान गर्छुु । कमल गाउँपालिकासँग जोडिएको आदिवासी रंगशाला हामी बनाउँछौ भन्ने प्रतिवद्धता व्यक्त गरेका छौं, त्यो बन्छ ।

तपार्इंको क्षेत्रमा गठबन्धनकाका उम्मेदवारभन्दा एमालेका उम्मेदवार बलियो हुन् भन्ने आधार केही छ ?
अब हाम्रो विरुद्धमा को को लागेका छन् भन्ने कुरा म धेरै खोजेर हिंड्ने गर्दिन । अर्को पार्टीको कुरा गर्ने, अर्को उम्मेदवारको विरोध गर्ने पक्षमा म छैन । मैले के भन्नेभन्दा एमाले के हो ? एमालेले अहिलेसम्म के गर्यो र अब एमालेले के गर्छ र कसरी यो क्षेत्रमा विकासका योजनाहरु पूरा गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने हो त्यतातर्फ हाम्रो ध्यान गएको छ ।

अर्को कुरा यो गठबन्धनको कामै के तभन्दा काम गर्ने होइन, विरोध मात्र गर्ने हो । अब विरोधै गर्ने को पछाडि कुदिरहनु आवश्यक पनि छैन । म कुनै उम्मेदवारको वदख्याँई गर्ने आलोचना गर्ने पक्षमा पनि छैन । उहाँहरु गलत संगठन, गलत विचार र गलत खालका गठबन्धन बनाएर उभिए पछि जनताले ती कुरा चिनिसकेका छन् । अब छ–छ पटक प्रधानमन्त्री भइसकेको मान्छेले पहिले चाहिँ विकास गरिन अब चाहिँ गर्छुभन्दा कसैले पत्याउँछ र !?

हाम्रा बारेमा पनि टिप्पणिहरु होलान् । तर नेपाली जनतालाई एकपटक सोध्नुहोस् कि विकास र समृद्धिको अभियन्ता को हो ? कुन पार्टी हो, कुन नेता हो !? सबैको मुखमा एमाले भन्ने आउँछ र यसको जस केपी ओलीलाई जान्छ । यो एमालेबाट मात्र सम्भब छ भन्ने कुरा जनताले छर्लङ्ग हुनेगरी बुझेका छन् । त्यस कुरामा हामी ढुक्क छौं र हामी जनताको शिक्षा, स्वस्थ्य, सुरक्षा, आवास, रोजगारी लगायतका कुराहरुलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं र गरिरहनेछौं ।

म यहाँको उम्मेदवार भएको हुनाले पहिलो दायित्व यहाँको समग्र विकास निर्माणको हुनेछ । म पार्टीको केन्द्रीय तहको नेता भएको र विगतमा प्रदेश मन्त्री पनि भएको हुनाले अब मुख्यमन्त्रीको रुपमा सेवा गर्ने इच्छा छ । हाम्रो पार्टीको बहुमत आउँदा उक्त आकांक्षा पनि पूरा हुनसक्छ । त्यसो हुनाले मैले यो प्रदेशलाई विकास र समृद्ध प्रदेश बनाउन सकिन्छ भनिरहेको छु । एजेण्डा र कार्यक्रमहरु पनि सोही अनुरुप बनाइएका छन् । तपाईंको एउटा मत एमालेको सूर्य चिन्हमा लगाउनु भयो भने हाम्रो जीत अवस्य हुनेछ । यही अपेक्षा तपाईंमाझ राखेको छु ।

प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार  २ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]