बिर्तामोड बाणिज्य संघमा विवाद : नेतृत्वले ब्यापारीको हितमा काम गर्न नसकेको उपाध्यक्ष घिमिरेको आरोप
बिर्तामोड । बिर्तामोड उधोग बाणिज्य संघले ब्यापारीको हितमा काम गर्न नसकेको उपाध्यक्ष सन्जिब घिमिरेले आरोप लगाएका छन् । आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै घिमिरेले नेतृत्व असफल भएको बताए ।

कोभिड महामारी र तरलताका कारण ब्यवसायी मारमा परेको बेला बैंकको ब्याज वृद्धिले ब्यवसायी पलायन हुने अवस्था बनेको घिमिरेको भनाई छ । उनी भन्छन् – बैंकको मनपरी ब्याज वृद्धिले घरखेत बेच्ने बेला भैसक्यो,संघ बोल्दै बोल्दैन । संघको नेतृत्व असक्षम भएका कारण ब्यापारीको हितमा बोल्न नसकेको उनको आरोप छ ।
बैंकको ब्याज वृद्धि विरुद्ध संघले खबरदारी गरौं भन्दा सुनेन, उनले भने – मैले महिनौ देखि उठाउदै आउदा समेत संघ नबोलेपछी आफै पत्रकार सम्मेलन गर्न बाध्य भएको छु ।
ब्यवसायी विभिन्न समस्याले ग्रसित भइरहेको भन्दै आगलागीबाट पीडित ब्यापारीलाई राहत समेत नदिएको उनको भनाई छ । म बाध्य भएर बोल्दै छु, उनले थपे – ब्यापारीको हितमा काम गर्न नसक्ने असक्षम नेतृत्व निर्वाचित गराएकोमा पश्चात् भएको छ । यो नेतृत्व रहुन्जेल ब्यापारीले सहयोग पाउने स्थिति छैन ।
घिमिरेले एक्लै पत्रकार सम्मेलन गरेपछि बिर्तामोड बाणिज्य संघभित्र विवाद चर्किएको स्पष्ट भएको छ । अध्यक्ष प्रकाश शिवाकोटी र उपाध्यक्ष घिमिरे एउटै प्यानलबाट निर्वाचित भएका हुन् ।