बैशाख ७, २०८१ शुक्रबार

मेची आँखा अस्पतालको २६ औं वार्षिकोत्सब , प्राथमिकतामा गुणस्तरीय उपचार सेवा

बिर्तामोड । मेची आँखा अस्पतालले आगामी वर्षहरुमा सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउदै जाने भएको छ । कोभिडपछि विरामीको चाप बढेपछि अस्पतालले सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

मंगलवार आँखा अस्पतालको २६ औं वार्षिक साधारणसभामा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर डा.पुरुषोत्तम जोशीले अस्पतालले सेवा विस्तारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जानकारी दिए । उनले अस्पताललाई अन्तराष्ट्रियस्तरसम्म स्थापित गर्न पनि सोही अनुसारको सेवा प्रवाह आवश्यक रहेको बताए ।

उनले अस्पतालले सन् २०२२ जनवरीदेखि अक्टोवरसम्म सेवा र भौतिक संरचना निर्माणमा ठुलो फड्को मारेको बताएका छन् । करोडौं मुल्यको प्रविधि खरिद र आवश्यक भौतिक संरचना निर्माण गरेको डा. जोशीको भनाई छ ।

सो अवधिमा १ लाख ८५ हजारभन्दा बढिले आँखा उपचार गराएको तथ्याङक सार्वजनिक गरेका छन् । २७ हजार ९ सय ९७ जना विरामीको आँखाको शल्यक्रिया गरिएको छ । अतिविशिष्ठ सेवा तर्फ ४ हजार १ सय ११ जनाको रेटिनाको शल्यक्रिया गरिएको बताइएको छ ।

डा.शर्माले नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रम अन्तर्गत ३६ हजार ४ सय ७९ जनाले सेवा लिएको जानकारी दिए । अस्पतालले अतिविपन्न परिवारका लागि १० लाख बराबरको उपचार सेवा उपलब्ध गराएको छ । ८ करोडभन्दा बढिको अत्याधुनिक उपकरण खरिद, १ करोड २५ लाखमा १ तले भवन निर्माण, ५१ लाखमा सवारी पार्किङ लगायतका काम सम्पन्न भएको उनको भनाई छ । डा. जोशीले आगामी दिनमा अस्पतालले प्रदान गर्दै आएको सेवालाई छिटो छरितो र गुणस्तरीय बनाउदै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले मेची आँखा अस्पताल बिर्तामोडको गरिमाको रुपमा रहेको बताइन् । विर्तामोडको मानसम्मानमा आँखा अस्पतालको समेत योगदान रहेको उनको भनाई छ । नगर प्रमुख प्रसाईले मेची आँखा अस्पताल आफ्नै सेवाका कारण अन्तराष्ट्रिय पहिचान बनाएको बताइन् । उनले अस्पताललाई स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्न सधैं तत्पर रहेको प्रतिवद्धता जनाइन् । नगर सधैं अस्पतालको विकासमा साथ दिन तयार छ, उनले भनिन्, मेची आँखा अस्पताललाई थप व्यवस्थित र सुविधायुक्त बनाउँदै जानुपर्छ ।

अस्पतालका अध्यक्ष जलकुमार गुरुङले मेची आँखा अस्पताल देश कै उत्कृष्ट बन्दै गएको बताएका छन् । उनले सेवा र गुणस्तरीय उपचार सेवालाई विस्तार गर्दै अझ उत्कृष्ट बनाउने बताए ।

उनले अस्पतालमा कार्यरत सबैलाई संकट बेला जिम्मेवार भएर काम गरेकोमा धन्यवाद दिए । अध्यक्ष गुरुङले अस्पतालको सेवा विस्तारमा लगानी बढाउदै जाने समेत बताएका छन् ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट सेवा केन्द्रका रुपमा गौरादह र उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । यस्तै, विभिन्न खेलकुद प्रतियोगिताका उत्कृष्ट टोलीहरुलाई पुरस्कृत गरिएको सचिव गणेश पोखरेलले जानकारी दिए । अस्पतालमा नेपाल, भारतसहित विभिन्न राष्ट्रका नागरिकहरु उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार  ९ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]