बैशाख २४, २०८१ सोमबार

झापामा ६ सय कुकुरको बन्ध्याकरण

बिर्तामोड । कुकुर व्यवस्थापनका लागि काम गर्दै आएको हार्ट नेपालले झापामा ६ सय वटा कुकुरको बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने भएको छ ।

अर्जुनधारा र भद्रपुरमा ४ सयभन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण र रेविज विरुद्ध खोप लगाइसकेको हार्ट नेपालका प्रमुख खगेश्वर शर्माले जानकारी दिए ।


हार्ट नेपालले बिहीवारबाट बिर्तामोडमा पनि बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप लगाउन थालेको छ । बिर्तामोड नगरपालिका पशुपंक्षी शाखाको आयोजना र हार्ट नेपालको प्राबिधिक सहयोगमा बिर्तामोड क्षेत्रमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप लगाउन थालिएको हो । यस अभियानको गरामनीबाट सुरुवात गरिएको छ ।


२ सय वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिने लक्ष्य रहेको पशुपंक्षी शाखा प्रमुख साबित्राकुमारी दाहालले जानकारी दिएकी छन् । बिर्तामोडको सबै वडामा सञ्चालन हुने शिविर असोज १३ गतेसम्म चल्नेछ ।


सो अभियानका क्रममा नगरप्रमुख धु्रबकुमार शिबाकोटीले अभियानलाई सहयोग गर्न नागरिकलाई आह्वान गरेका छन् । उनले कुकुरका कारण बिभिन्न रोग र संक्रमण बढेकाले सबैलाई कुकुर पक्रेर शिविरमा पुर्याई सहयोग गर्न आग्रह गरेका हुन् ।


दुई हप्तादेखि यो काममा लागेको हार्ट नेपालले गरामनीमा आयोजित शिविरका क्रममा ५ वटा कुकुरलाई मुक्ति दिएको छ । ति कुकुरमा संवेदनशील रोगको संक्रमण देखिएकाले मुक्ति दिएको हार्टका प्रमुख शर्माले जानकारी दिए । पहिलो दिन बिर्तामोडमा उनीहरुले ४३ वटा कुकुरको बन्ध्याकरणसँगै रेविज विरुद्धको खोप लगाएका छन् ।


कुकुरको व्यवस्थापन प्रभावकारी नभएकाले छाडा कुकुरको संख्या बढ्दै गएको बताइएको छ । हार्टका नेपाल प्रमुख शर्माका अनुसार छाडा कुकुरको संख्याले शहरको पहिचान झल्किन्छ ।

कुकुरको संख्या धेरै छ भने हामीले त्यो ठाउँ धेरै फोहोर छ भनेर बुझ्दा हुन्छ । उनले बिर्तामोडको कृषिथोक क्षेत्रमा सरोकारवाले ध्यान दिनुपर्ने बताएका छन् । विशेष गरी गोस लाइनमा ध्यान दिन शर्माको जोड छ । कृषि थोक क्षेत्रमा कुकुरको व्यवस्थापन गर्न आग्रह समेत गरेका छन् ।


१२ जना प्राविधिक, २ जना डाक्टर सहितको टोली परिचालन गरेर हार्ट नेपालले कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण गर्दै आएको छ । छाडा कुकुर व्यवस्थापन नगरे मानव स्वास्थ्यमा समेत असर गर्ने शर्माको छ ।

प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]