बैशाख १४, २०८१ शुक्रबार

गाली श्राप बगाउँदै अर्जुनधारामा चासोक सुरु

मदनपुर । अर्जुनधारा क्षेत्रका आदिवासी याक्थुङ्बाहरुको अगुवाईमा भएको चासोक तङ्नाम महोत्सवको पहिलो दिन साक्मुरासँगै नयाँ अन्नको पूजा सम्पन्न भएको छ ।

पूजा संयोजक लक्ष्मी इङ्नामको अध्यक्षतामा भएको गाली श्राप बगाउने तथा नयाँ अन्न पूजालाई पूर्णता दिनका लागि किरात साब्दीक गुरु दिलबहार लोवा, भिमबहादुर कुरुम्बाङ र लक्ष्मी फागोले मुन्धुमी पाठ गरि गाली श्राप साक्मुरा सम्पन्न गरेका थिए ।

बिहान ७ बजेबाट टाङटिङ नदीको किनारमा साक्मुरा पाठ गर्दै सम्पूर्ण नगरवासीलाई आइपर्ने विपत्तिको अन्त्य होस् र पिता पूर्खाले जानअन्जानमा बोलिएका अपशब्दको अन्त्य होस् भनी अर्जुनधारा क्षेत्रका याक्थुङ्बा तथा अन्य आदिवासी जनजातिहरुले सतबीज छर्दै गाली श्राप बगाएका थिए ।

गाली श्राप बगाउने कार्यक्रममा अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई इङ्नाम, नेपाली कांग्रेसका नेता मोहन सुब्बा, चासोक तङ्नाम आयोजक समितिका अध्यक्ष राजेश जवेगु, महोत्सव समितिका विजय सेन्दाङ, महिला नेतृ मीना पन्धाक, सञ्चमाया इङ्नाम, वडा नं. ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, फोनिजका पूर्व इन्चार्ज दिपीन राई, नरबहादुर कन्दङ्वा, नरेन्द्र इङ्नाम लगायतले पूजापाठमा सरिक भई चासोकको महिमाका विषयमा ध्यान पुर्याएका थिए ।
साक्मुरा पाठ तथा चासोक तङ्नामको पहिलो दिन प्रमुख अतिथि भूपू माननीय शेरबहादुर इङ्नामले यस्ता खाले कार्यक्रमबाट विश्व शान्ति भाइचारा एकतामा टेवा पुग्ने बताएका थिए ।

आजै ११ बजेबाट डोरी तान्ने, छेलो हान्ने जस्ता मौलिक खेल पनि प्रदर्शन भएको थियो भने साँझ स्थानीय कलाकारको विभिन्न प्रस्तुति रहने आयोजक समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार  १२ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]