जेष्ठ ६, २०८१ आईतबार

हरियो चिया पत्तिको गुणस्तर वृद्धि गर्न जोड

बिर्तामोड । हरियो चिया पत्तिको गुणस्तर वृद्धिमा ध्यान दिन चिया किसानलाई सरोकारवालाले आग्रह गरेका छन् । विश्व बजारमा चियाको भविष्य राम्रो रहेको भन्दै उनीहरुले उत्पादनसंगै गुणस्तरमा पनि ध्यान दिन आग्रह गरेका हुन् ।

सरोकारवालाले हरियो चिया पत्तिको गुणस्तर वृद्धि गर्न सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । समयमै आवश्यक मलखाद्य र सिंचाईको प्रबन्ध गरेको खण्डमा हरियो चिया पत्तिको गुणस्तर वृद्धि गर्न सकिने उनीहरुको भनाइ छ । झापाका चिया किसान र उद्योगीका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले हरियो चिया पत्तिको गुणस्तरीय मापदण्ड सम्बन्धी तीन दिने अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।

झापाको हल्दिबारी, पृथ्वीनगर र बाहुनडाँगीमा आयोजित अन्तक्र्रियाका सहभागीले हरियो चिया पत्तीको गुणस्तर वृद्धिको विकल्प नभएको बताए । उनीहरुले गुणस्तर नहुँदा भारतीय चियाले विश्व बजारमा विश्वास गुमाउदै गएको अवस्थामा नेपाली चिया किसान त्यसतर्फ सचेत हुनु पर्नेमा जोड दिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा.बिष्णुप्रसाद भट्टराईले हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि लगातार सरकारको ध्यानाकर्षण गराउने काम गरिरहेको बताए ।

उनले हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि यो सिजनमा झापाका किसानलाई पर्याप्त हुने मलखाद्यको व्यवस्था गर्ने काममा आफू स्वयम् जुटेको बताए । उनले चिया बगानमा सिंचाइको पर्याप्त व्यवस्थाका लागि प्रदेश सरकारमार्फत अनुदानमा बोरिङको व्यवस्था गर्न लागेको जानकारी दिए । नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुलीले अस्वस्थ्य प्रतिस्पर्धाका कारण झापामा हरियो चिया पत्तीको गुणस्तर वृद्धि गर्न समस्या भएको बताए । उनले किसानले समयमै पर्याप्त मलखाद्य र सिंचाईको सुविधा पाए हरियो चिया पत्तीको गुणस्तर वृद्धिमा कुनै कन्जुस्याई नहुने बताए ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले हरियो चिया पत्तीको गुणस्तरमा ध्यान दिन नसके नेपाली चियाको भविष्य खुम्चिदै जाने बताए । तर, गुणस्तर वृद्धि गर्न सके चिया खेती दीगो र राम्रो आम्दानीको खेतीको रुपमा विकास गर्न सकिने बताए । उनले गुणस्तर वृद्धि गर्न सके नेपाली चियालाई भारतीय बजारको मात्र भर नपरी तेस्रो मुलुकमा समेत निर्यात गर्न सकिने बताए ।

अन्तक्र्रियामा हरियो चिया पत्तीको गुणस्तर वृद्धिका लागि किसानलाई चिया बगानमा गर्नुपर्ने न्यूनतम कामहरुकाबारेमा जानकारी दिइएको थियो । त्यस्तै बगानमा गर्नुपर्ने सालेना काँटछाँट र रेखदेखलगायत विषयमा प्रयोगात्मक प्रशिक्षण समेत दिइएको थियो । चिया खेती र हरियो चिया पत्तिको गुणस्तर वृद्धिबारे बोर्डका कृषि प्राविधिक अनन्त ढुंगाना र लीला शिवाकोटीले प्रशिक्षण दिएका थिए । अन्तक्र्रिया कार्यक्रमको सञ्चालन बोर्डका लेखा अधिकृत सुमन त्रिखत्रीले गरेका थिए ।

प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]