चैत्र १६, २०८० शुक्रबार

वडाध्यक्षसँग असन्तुष्टी जनाउँदै हल्दिवारी –२ का सदस्यले दिए गाउँपालिकालाई ज्ञापन पत्र

हल्दिवारी । झापाको हल्दीवारी गाउँपालिका वडा नम्वर–२ का अध्यक्षको कामप्रति असन्तुष्टी जनाउँदै चार जना सदस्यले गाउँपालिका अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

वडा अध्यक्ष राजेन्द्र योङहाङले वडा कार्यालयमा बैठक नराखेको, वर्षाको समयमा विग्रिएको सडक बनाउन गाउँपालिकाले ३० लाख रुपैयाँ वजेट दिए पनि आफुले काम नगरेको र सदस्यलाई काम गर्न नदिएको, लक्षित समुदायलाई छुट्याएको बजेट समेत उनीहरुलाई नदिएको, गाउँपालिकाले खरिद गरेर वितरणका लागि दिएका सामग्री पनि थन्क्याएर राखेको बताउँदै सदस्यहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

वडा नम्वर–२ का सदस्यहरु सुकलाल राजवंशी, शान्तादेवी गौतम, खकेन राजवंशी र सनमाया दुतराजले गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनलाई बुझाएको ज्ञापन बुझाएका छन् । ज्ञापन पत्रमा सदस्यहरुले ‘वडा अध्यक्षले हैकमवाद लादेर एकलौटी व्यवहार गरेको’ भन्दै अध्यक्षको व्यवहार परिवर्तन नभएसम्म वडाको मेलमिलाप तथा समावेशी समिति, महिला समिति, युवा तथा खेलकुद र कृषि समितिमा रहेर काम गर्न नसक्ने सदस्यहरुले उल्लेख गरेका छन् ।

असोज १५ गते गाउँपालिका अध्यक्षलाई बुझाइएको पत्रमा चौथो गाउँपरिषद् पछि एक पटक मात्र बैठक बसेको र सदस्यले राखेका विषयमा अर्को बैठकमा छलफल गर्ने भन्दै आलटाल गरिएको उल्लेख छ ।
वडा सदस्यहरुले ज्ञापन पत्र बुझाएको बताउँदै गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले दुबै पक्षसँग बसेर छलफल गरी समस्याको समाधान गर्न पहल गर्ने बताए । उनले भने, ‘वडा नम्वर २ का सदस्यहरुले ज्ञापनपत्र बुझाउनु भएको छ । अब छलफबाट समाधान खोज्छौं ।’

गाउँपालिका उपाध्यक्ष डम्वर गिरीले १५ गते आफु कार्यालय नगएकाले ज्ञापन पत्रबारे आफुलाई थाहा नभएको बताएका छन् । हल्दीवारी गाउँपालिका वडा नम्वर २ साविक हल्दीबारी गाउँ विकास समित क्षेत्र हो । सो वडाका सबै जनप्रतिनिधि तत्कालिन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

वडा सदस्यले गाउँपालिकामा तपाईंको काम बारे चित्त नबुझाएर ज्ञापनपत्र दिनु भएछ नि भन्ने प्रश्नमा वडा अध्यक्ष योङहाङले मासिक बैठकमा पाँचै जना उपस्थित भएर बैठक बस्ने भनेको तर सबै साथीहरु नजुटेकाले पटक–पटक बैठक नभएको स्वीकार गरे । वडाध्यक्षले भने , ‘अब २९ गते मासिक बैठक बस्छ, उहाँहरुले गल्ती रियलाइज गर्दै हुनुहुन्छ ।’

नेकपा हल्दीबारीका अध्यक्ष याम राईले भने गाउँपालिकालाई बुझाएको ज्ञापन पत्रबारे जानकारी नभएको बताएका छन् । ‘वडा नम्वर २ मा साथीहरुको थोरै विमति छ । वडा अध्यक्ष प्रक्रिया पुर्याएर काम गरौं भन्नुहुन्छ, सदस्य साथीहरु प्रक्रिया नपुर्याई काम गरौं भन्नुहुन्छ । त्यति हो । त्यहाँ वडा सचिवका कारण समस्या छ ।’

प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार  ११ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]