बैशाख २५, २०८१ मंगलबार

पाथिभरामा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित पाथिभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की र वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले संयक्त रुपमा न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका हुन् ।

विद्यालयमा स्थानीय प्रसाई परिवारले स्थापना गरेको धर्म बछला अक्षयकोषबाट उक्त कपडा वितरण गरिएको विद्यालय प्रअ. कुन्जी विहारी ताजपुरियाले बताए । पाथिभरा आधारभूत विद्यालयबाट अध्ययन प्रारभ्भ गरी हाल अमेरिका बस्दै आएका पूर्व विद्यार्थी कन्सल्टेन्ड डा. दीर्घराम प्रसाईले आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुलाई सहयोगार्थ माता पिताका नाममा २०७१ सालम अक्षयकोष स्थापना गरेका थिए ।

सोही अक्षयकोषमा १ लाख ७२ रकम पठाएर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए । वडाध्यक्ष प्रसाईले शिवसताक्षीको दक्षिणी भेगका विद्यालयहरुको अवस्था माथिल्ला क्षेत्रका विद्यालयहरु भन्दा नाजुक रहेको र गरिब तथा विपन्न परिवारका छोरा छोरीहरुले अध्ययन गर्ने भएकाले जाडोमा न्यानो कपडा वितरण गरेर विद्यार्थीहरुलाई जाडो मौसममा पनि विद्यालय आउने वातावरण दिएकोमा पूर्व विद्यार्थी दीर्घराज प्रसाईलाई धन्यवाद दिएका थिए । शिवसताक्षी नगरपालिकालले गरिब तथा विपन्न परिवारका छोरा छोरीहरु अध्ययन गर्ने विद्यालयलाई अलि बढी ध्यान दिई बजेट विनियोजन गर्न समेत वडाध्यक्ष प्रसाईले आग्रह गरे ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नगरमाया कार्कीले यस विद्यालय निम्न आय भएका परिवारका छोरा छोरीहरु अध्ययन गर्ने भएकाले गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले ध्यान दिने बताइन् । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खानेपानीको व्यवस्था, उचित बस्ने स्थान, विद्यालयको भौतिक अवस्थाका विषयमा पनि नगरपालिकाले विशेष प्राथमिकतामा राखेर काम गर्ने उनको भनाई थियो ।

कार्यक्रममा पूर्व व्यवस्थापन समिति अध्यक्ष सूर्यनारायण ताजपुरिया, अध्यक्ष कोष स्थापनार्थ धर्मराज प्रसाई तथा बछला प्रसाई लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र तामाङ्ग (दिनेश)को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्र.अ. कुन्जीविहारी ताजपुरियाले गरेका थिए ।

प्रकाशित मिति : पुष ३, २०७९ आईतबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]